कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मासियो ‘बम्बे ढुकुटी’

‘बहुमूल्य सामान कवाडीका जसरी फालिएका छन् । सयौं वर्ष पुरानो सम्पदा झल्कने भवन मासियो । त्यहाँका सामान पनि कोषले अलपत्र पारेर फालिदियो । यसलाई कवाडीको भाउमा बेच्न बेर छैन ।’
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्र विकाष कोषले पशुपति मन्दिरको प्रांगण विस्तार गर्न भन्दै ‘बम्बे ढुकुटी’ भत्काएको छ । ढुकुटीका सामान मन्दिरको उत्तरपट्टिको नरसिंह सत्तलमा थुपारिएको छ ।

मासियो ‘बम्बे ढुकुटी’

‘बहुमूल्य सामान कवाडीका जसरी फालिएका छन्,’ पशुपतिका भण्डारी केदारमान भण्डारीले भने, ‘सयौं वर्ष पुरानो सम्पदा झल्कने भवन मासियो । त्यहाँका सामान पनि कोषले अलपत्र पारेर फालिदियो । यसलाई कवाडीको भाउमा बेच्न बेर छैन ।’

पशुपतिनाथमा दुइटा ढुकुटी छन् । एउटा मन्दिरको माथिल्लो तलामा छ भने अर्कोचाहिँ मन्दिरको दक्षिणपश्चिम छेउमा थियो । मन्दिरको मुख्य ढुकुटीमा हीरा, सुनजस्ता गहना राखिएका छन् भने बम्बे ढुकुटीमा तामा, पित्तलजस्ता सामान भण्डारण गरिएका थिए । ढुकुटीमा रहेका अष्ट धातु, जलहरीलगायत पुरातात्त्विक र धार्मिक महत्त्वका सामान त्यत्तिकै थुपारिएका छन् । ‘दुई ट्रक जति बहुमूल्य इँटा मिल्काइएको छ । यस्तो देख्दा मन कटक्क खान्छ,’ केदारमानले भने ।

परापूर्वकालदेखि नै मन्दिरमा रहेका सुनचाँदी, जवाहरात, गहना र भाँडा रेखदेख पशुपति भण्डार तहबिलले गर्थ्यो । भण्डार तहबिल बम्बे ढुकुटीसँगै रहेको थियो । ढुकुटी भत्काएपछि भण्डार तहबिल अर्को सत्तलमा सारिएको छ । ‘भण्डार तहबिल महत्त्वपूर्ण अमूर्त सम्पदा हो,’ केदारमानले भने, ‘पशुपतिनाथको मन्दिरको व्यवस्थापनसम्बन्धी सबै काम नै भण्डार तहबिलले गर्थ्यो ।’

भण्डार तहबिल वि.सं. १८६७ मा राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा व्यवस्थित भएको मानिन्छ । पशुपतिनाथको गुठीको जग्गाको बाली उठाउने, जग्गा रक्षा गर्ने, पशुपतिनाथको नित्य नैमित्य पूजा, महावलीलगायतको काम पशुपति भण्डार तहबिल स्थापना गरिएको थियो ।

तीनतले भवनको तल्लो तलामा बम्बे ढुकुटी थियो । बीचको तलामा मूल भण्डारी र भण्डारी सुत्ने ठाउँ थियो । यो ठाउँ भत्काएपछि भण्डारीलाई सुत्ने ठाउँको समस्या भएको छ । आफूहरूलाई प्रहरी चौकी छेउमा पठाइदिएपछि भण्डारीले त्यहाँ बस्न मानेका छैनन् । ‘यही बस्ने हाम्रो परम्परा हो,’ केदारमानले भने, ‘ठाउँ भत्काइदिएपछि हामी घरमै गएर बस्यौं । बस्ने ठाउँ भत्काइदिएपछि पशुपतिनाथको परम्परा नै मासियो । यो अमूर्त सांस्कृतिक सम्पदालाई कोषले वास्तै गरेन ।’

पशुपतिनाथको मन्दिरको साँचो पनि यही भवनमा राख्ने परम्परा थियो । यो परम्परासमेत कोषले मासिदिएको भण्डारीले गुनासो गरे । पशुपति मन्दिरको जिम्मेवारी भण्डारीकै हुन्छ । पशुपति क्षेत्रमा बस्ने नेवारका ९ जातमध्ये एक हो भण्डारी । पशुपतिनाथको मन्दिरको भण्डार यिनै भण्डारीको जिम्मामा हुन्छ । भण्डारको काम गर्ने भएकैले उनीहरूलाई भण्डारी भनिएको हो । भण्डारीको काम पशुपति मन्दिरको रखवारी गर्ने, पुजारीलाई सहयोग गर्ने, आवश्यक चन्दन घोटी तयार गर्ने, मीनपचासभर जंगलबाट दाउरा खोजेर ल्याउने, पशुपति मन्दिरको भित्री ढोका खोल्ने, बन्द गर्ने, चन्दन, प्रसाद तथा जल दिने, गरगहनाको सुरक्षा गर्ने, गर्भगृहमा सफाइ गर्ने, मूल पुजारीले अह्राएको काम गर्ने, पुजारी मन्दिरभित्र आउँदा शिरमाला दिने तथा मन्दिरबाट बाहिर जाँदा शरीर जाँच्नेलगायत काम हुन्छन् ।

यो ठाउँ भण्डारी बन्ने प्रक्रियासँग पनि जोडिएको छ । भण्डारी हुन व्रतबन्ध गर्नुपर्छ । सामान्यतया १२/१३ वर्षको उमेर भएपछि भण्डारी कुलमा जन्मिएका बालकको व्रतबन्ध गर्नुपर्छ । विधिपूर्वक व्रतबन्ध गरेपछि उनीहरू पशुपतिका भण्डारी हुन लायक हुन्छन् । व्रतबन्ध गर्ने क्रममा चार दिनसम्म गुफा राखिन्छ । गुफा पनि यही भवनमा राख्ने गरिन्थ्यो । ‘पुजारीको समेत गुफा बस्ने ठाउँ यही हो,’ केदारमानले भने । पशुपतिनाथको मन्दिर खोल्ने र बन्द गर्ने जिम्मेवारी भण्डारीकै हुन्छ ।

मन्दिर बन्द गरेर साँचो राख्ने ठाउँसमेत यहीं थियो । ‘अहिले साँचो पनि बोकेर घरै जानुपरेको छ,’ केदारमानले भने, ‘यो परम्परा पनि कोषले मासिदियो । अमूर्त सांस्कृतिक सम्पदाप्रति कोष संवेदनशील छैन ।’ कोषले ठाउँ साँघुरो भएकाले भक्तजनलाई सजिलोका लागि प्रांगण विस्तार गर्न ढुकुटी घर भत्काएको बताएको छ । ‘यहाँको भैरवलाई समेत घुम्न मिल्ने गरी ठाउँ विस्तार गरेका छौं,’ कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने, ‘भक्तजन बढेका छन् । व्यवस्थापन गर्न यति ठाउँ खुला गर्नुपरेको हो ।’

प्राचीन स्मारक संरक्षण ऐनले भने यसरी भत्काउन दिँदैन । प्राचीन स्मारक संरक्षण ऐनले प्राचीनता मासिने गरी आधुनिक निर्माण सामग्री प्रयोग गर्न, भत्काउन, आकार घटाउनसमेत निषेध गरेको छ । तर भण्डार घर छेउकै भान्साघरको आकार पनि घटाएको भण्डारीले गुनासो गरे । ‘प्रांगण विस्तार गर्ने नाममा भण्डारीले गर्नुपर्ने केही गोप्य परम्परामा समेत असर गरियो । खाना पनि गोप्य रूपमा खानुपर्छ,’ केदारमानले भने, ‘खुला रूपमा भान्साघरसम्मै भक्तजन घुम्ने भएपछि यो गोप्यता नै कायम रहने भएन ।’

बम्बई ढुकुटी मास्दा अलपत्र भएका सामान भने भोजनगृहमा व्यवस्थापन गर्ने कोषले जनाएको छ । ‘यो ठाउँ गुरुयोजनाले पनि खुला गर्ने परिकल्पना गरेको थियो,’ खतिवडाले भने, ‘नरसिंह राणाको सत्तललाई पनि अन्त सार्छौं ।’ ढुकुटी भत्काएर सामान अन्त राख्ने योजनाप्रति सम्पदा संरक्षण अभियन्ताले आपत्ति जनाएका छन् । ‘ढुकुटी भत्काएर सामान अन्त राख्नुको के अर्थ ?’ संरक्षण अभियन्ता सञ्जय अधिकारीले भने, ‘अन्त राख्ने नै भए कोषमा लगेर राखे पनि भइगयो नि । सामान कहाँ भण्डारण गर्नेभन्दा पनि भण्डार मासियो भन्ने हो । जति भने पनि कोष किन चेत्दैन ?’ पशुपतिलाई फराकिलो पार्ने नाममा मौलिकता मास्न नहुनेमा उनले जोड दिए ।

‘बम्बईको गल्लीलाई समेत सम्पदा मानेर भत्काउन नदिएको अन्तर्राष्ट्रिय नजिर छ,’ अधिकारीले भने, ‘पशुपति साँघुरो हुनु पनि मौलिकता हो । यसलाई मास्न पाइँदैन । मास्न ऐनले पनि दिँदैन ।’

खतिवडाले पुरातत्त्व विभागको अनुमति लिएरै ढुकुटी भत्काएको दाबी गरे । ‘भत्काउनुअघि नै सहमति लिएका हौं,’ उनले भने । पुरातत्त्व विभागले भने भत्काउन अनुमति नदिएको बताएको छ । ‘हामीले बिगार्नेलाई कारबाही गर्न सकेनौं होला, त्यो स्विकार्छौं,’ विभागका विश्व सम्पदा प्रमुख सुरेश सुरस श्रेष्ठले भने, ‘यसरी भत्काउन हामी कहीं पनि अनुमति दिँदैदिँदैनौं, दिनै मिल्दैन ।’


प्रकाशित : माघ २८, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?