माटोको ढिस्कोले पुरिएर कैलालीमा तीनको मृत्यु, २ घाइते- समाचार - कान्तिपुर समाचार

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीनको मृत्यु, २ घाइते

गणेश चौधरी

टीकापुर — माटोको ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घा‍इते भएका छन । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।

उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डीएसपी न्यौपानले बताए ।

प्रकाशित : माघ २४, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्

थारू बस्तीमा माघीको चटारो

खानपिनका वस्तुको किनमेलसँगै घर लिपपोत र सरसफाइ
गणेश चौधरी

टीकापुर — पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको रौनक छाउन थालेको छ । थारू समुदाय माघी पर्व मनाउन खानपिनका वस्तुको किनमेलसॅंगै घर लिपपोत र सरसफाइमा जुटेका छन् ।

‘थारू गाउॅमा माघीका लागि सुँगुर, बंगुरको मासु किन्नेहरूको ‘लिस्ट’ बनाउने काम भइसकेको छ,’ जानकी गाउॅपालिका–६ सुवर्णपुरका भोजराज चौधरीले भने, ‘माघी नुहाउन को कहाँ जाने साथीभाइ र परिवारमा सरसल्लाह भइरहेको र दिदीबहिनीले मघौटा नाचका लागि आफ्नो टोली बनाउने काम पनि भइरहेको छ । गाउँगाउँमा माघीका लागि विभिन्न उमेर समूहका स्थानीयहरूबीच किनमेल, कुटानी पिसानी र नाचका टोलीहरू बनाउनेबारे सरसल्लाह भइरहेको छ । माघी पर्वमा आफन्त तथा साथीभाइलाई थारू समुदायको पकवान ढिकरी तथा सुगुर बंगुरको मासु खाने/खुवाउने चलन छ ।

गाउँभरिका थारू समुदाय एकै ठाउँमा सुँगुर, बंगुर काट्ने हुँदा आफ्नो परिवारलाई चाहिने मासुको जोहो पर्व सुरु हुनुअगावै भइसकेको छ । यो पर्वमा थारू समुदायका घरमा खासगरी सुँगुर, बंगुरको मासु खाने चलन छ । माघीमा जाँड, सुँगुर र बंगुरको मासु खाने चलन भएकोले थारू गीत पनि त्यसै अनुसार गाइएका छन् ।

माघ लहैली सुरिक सिकार खैली रे हा

सखियाहो माघक पीली गुरिगुरी जार, सखिया हो...

माघी पर्वमा दिदीबहिनी तथा साथीभाइलाई आमन्त्रण गर्ने काम पनि भइरहेको छ । पछिल्लो समय माघीमा नुहाउने घाटमा मेला लगाउने चलन बढ्दै गएको छ । कैलालीका घोडाघोडी ताल, बर्दगोरिया, पथरैया नदी तथा कर्णाली नदीलगायतका विभिन्न घाटमा माघी मेला लाग्छ । माघीमा ढिकरी बनाउन चामलको पिठो पिसाउन यहाॅका मिलहरूमा पनि घुइँचो लागेको जानकी गाउँपालिका–३ का गोविन्द शाहले बताए ।

थारू समुदायको नयाँ वर्ष एवं माघी मनाउन घरबाट टाढाटाढा गएकाहरू प्नि गाउँघरमा पुग्न थालेका छन् । पुसको अन्तिम दिनबाट नै माघी पर्व सुरुवात हुने गर्छ । पुस मसान्तका दिन सुँगुर, बंगुर काट्ने र माघ १ गतेदेखि धुमधामसॅग नाच्ने र गाउने रमाउने चलन छ । पुस मसान्तका राति बडघरका घरमा माघी पर्वमा गाइने धुम्रु गीत गाउँदै रातभरि नाचगान गरी जाग्राम बस्ने र बिहान माघ १ गते नाच्दै नजिकैको नदी तालतलैयामा नुहाउन जाने परम्परा छ । यसलाई थारूहरू ‘माघ लहैना’ भन्छन् ।

प्रत्येक माघीमा आफ्ना मान्यजनहरूबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा थारू समुदायमा छ । नदीखोलामा नुहाएर सेतो चामलको टीका लगाउने र घरमा आएर आफ्ना चेलीबेटीका लागि नुन, चामल, दाललगायतका कोसेलीका रूपमा छुट्याउने गर्छन् । यसलाई थारूहरू निसराउ भन्छन् । निसराउ आफ्ना दिदीबहिनीका लागि दानका रूपमा छुट्याउने परम्परा छ । माघ २ गते दाजुभाइले दिदीबहिनीलाई निसराउ दिन जाने चलन छ । कोसेलीका आशामा थारू युवतीले यस्तो गीत गाउने परम्परा रहेको छ ।

निसराउकहर्ना बाँसक सुप्पमनहाँ... निसराउकहर्ना

सखियाहो नानि देहो डाडु निसराउ मोर, सखियाहो...

माघ महिनाको दोस्रो दिनलाई माघी डेवानी भनिन्छ । त्यस दिन गाउँका भल्मन्सा वा बडघरका घरमा भेला भएर वर्ष दिनमा गरिएका क्रियाकलापको समीक्षा गर्ने, गाउँको सामूहिक कामको आयव्यय विवरण सार्वजनिक गर्ने र नयाॅ बडघर छनोट गर्ने परम्परा पनि छ । यो क्रम एक साता जति कायम हुने थारू समुदायका अगुवाहरू बताउँछन् ।

पछिल्लो समय प्रशस्त रेकर्डेट गीतहरू पनि छन् । यसले ठाउँठाउँमा आयोजना हुने मेला महोत्सवमा माघीको रौनकता थप्ने गरेको छ । यो पर्वपछि वर्षभरिको योजना बनाउने काम पनि थारू बस्तीमा हुने गरेको जानकी गाउँपालिका–६ सुवर्णपुरका भोजराज बताउँछन् । उनका अनुसार थारू गाउँका लागि चाहिने बडघर, चौकीदार र गुरुवा छान्ने काम पनि यही बेला हुने गर्दछ । कमैयामुक्तिको घोषणा पूर्वकमैया राख्नका लागि हुने खोज्नीबोज्नीको परम्परा भने अहिले हटेको छ । अधियामा जग्गा जोत्ने नजोत्ने छिनोफानो भने यही बेला गर्छन् ।

प्रकाशित : पुस २७, २०७७ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×