कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहिद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : सुशासन र समृद्धि नै सहिदको बलिदानको प्रतिफल हुनेछ

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग भइरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेको बलिदानको प्रतिफल भएको बताएकी छन् । सहिद दिवसका अवसरमा शुक्रबार सन्देश दिँदै उनले भनेकी छन्,  ‘सहिदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको संघर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।’ 

सहिद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : सुशासन र समृद्धि नै सहिदको बलिदानको प्रतिफल हुनेछ

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीरांगनाप्रति सम्मान व्यक्त गरेकी छन् ।

सहिद दिवसले सहिदले गरेका त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।’

देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने सहिदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन सहिद दिवसले सबैलाई हौसला दिने सन्देशमा उल्लेख छ । हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् । सन्देशमा उनले जनतालाई अधिकार सम्पन्न बनाई सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ । ‘सुस्थिर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ,’ सन्देशमा उल्लेख छ, ‘हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्नेछौँ । हाम्रा अमर सहिदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।’

लोकतान्त्रिक अधिकार, कानुनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा गरेको समेत उनले बताए ।

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृंखला अघि बढेको भन्दै उनले भने, ‘हाम्रा प्रातः स्मरणीय सहिदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै सहिदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।’

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्‌मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको समेत बताए । उनले सरकारले थालनी गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने उल्लेख गरे । सबैलाई समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा ओलीले सन्देशमा राखेका छन् ।

जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ छ ।

प्रकाशित : माघ १६, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×