२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धनुषामा डिस्टिलरी व्यवसायी रेग्मीको शंकास्पद मृत्यु, चार कर्मचारी पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषाको दुर्गा टोलमा डिस्टिलरी व्यवसायीको शंकास्पद मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्टिलरीका सञ्चालक उदयपुर त्रियुगा नगरपालिका–७ चुआरेका ५१ वर्षीय प्रमोद रेग्मी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार बिहान निधारमा गहिरो चोट लागेको अवस्थामा उद्योग परिसरमै रहेको निवासमा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ । परिवारको आग्रहबमोजिम रेग्मीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

निधारमा गहिरो चोट लागेकाले रेग्मीको हत्या भएको आशंका गरिएको छ । घटनाको अनुसन्धानका लागि डिस्टिलरीमा कार्यरत चार जना कर्मचारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक रायले बताए । डिस्टिलरीका अन्य सञ्चालकहरुलाई समेत प्रहरीले सम्पर्क रहन भनेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान गर्दै छ । सञ्चालक रेग्मी मंगलबार उदयपुरबाट फर्केका थिए ।

रेग्मीको शंकास्पद मृत्युबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

प्रकाशित : माघ १५, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x