कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन महिनाभित्र सबै नेपालीले कोरोना खोप पाउलान्?

खोप लगाएकामा कुनै समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयको भनाइ 
मकर श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले कोभिड–१९ विरुद्धको खोप पाउने दाबी गरेका छन् । खोप अभियानको बुधबार सुरुवात गर्दै प्रधामन्त्री ओलीले वैशाखसम्म सबै नागरिकले खोप पाइसक्ने घोषणा गरे । सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ ।

तीन महिनाभित्र सबै नेपालीले कोरोना खोप पाउलान्?

प्रधानमन्त्री ओलीले खोप नहुँदा पनि कोरोना नियन्त्रण गर्दै ल्याएको दाबी गरे । ‘फागुनसम्म अझ कम हुने अनुमान गरेका थियौं,’ उनले भने, ‘कसले कुन बेला खोप पाउने भन्ने प्राथमिकता स्वास्थ्य मन्त्रालयले निर्धारण गरिसकेको छ ।’ तीन महिनाभित्र खोप लगाउन सकिने योजनाअनुसार नै प्रधानमन्त्रीले उद्घोष गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । ‘तीन महिनामा लक्षित समूहलाई खोप दिने योजना पूरा हुने भरपर्दो आधार बनिसकेको छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार खोप लगाएका व्यक्तिहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको बताए । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले पनि खोप लगाउँदा कुनै असर नदेखिएको बताए । ‘कोरोनाविरुद्धको यो खोप एकदम सुरक्षित छ,’ उनले भने, ‘अरू खोप लगाउँदा पनि ज्वरो आउने, खोप लगाएको ठाउँमा गाँठो बन्ने हुन्छ । अरू खोप ४० देखि ६० प्रतिशत प्रभावकारिता हुन्छ । यो त ६२ देखि ९० प्रतिशतसम्म प्रभावकारी हुन्छ ।’

सार्कमा खोप लगाउनेमा नेपाल भारतपछि दोस्रो मुलुक भएको र यहाँ खोप लगाएकाहरू सबैले पूर्ण सुरक्षित अनुभूति गरेको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए । उनले पहिलो चरणको खोप १० दिनभित्र सकिने र त्यसपछि पनि खोप लगाउने क्रम निरन्तर चलिरहने बताए ।

नेपालमा लगाइएको कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । प्रधानमन्त्री ओलीले योपछि कोभाक्सको खोप आउने बताए । ‘अन्य मित्र राष्ट्र, संघसंस्थासँग पनि कुरा गरिरहेका छौं,’ उनले भने, ‘भारत सरकारसँग उचित मूल्यमा थप भ्याक्सिन खरिद गर्न कुराकानी गरिरहेका छौं । खोप पाउनेमा म विश्वस्त छु ।’

सरकारले युनिसेफ, यूएनडीपीलगायत संस्थालाई स्वास्थ्य क्षेत्रमा दिने सहयोग खोपमार्फत गर्न आग्रह गर्दै पत्राचार गरिसकेको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले नेपालका लागि बेलायतका राजदूतलाई भेटेर खोप खरिद प्रक्रियामा सहज व्यवस्था गरिदिन आग्रह गरिसकेका छन् । ‘केही दिनमा सकारात्मक जवाफ आउनेमा म विश्वस्त छु,’ उनले भने । सहुलियत दरमा पारदर्शी ढंगले खोप खरिद गर्ने उनको भनाइ छ । ‘युरोपमा खोप नपाएकै कारण अभियान स्थगन गर्नुपरेको छ । जताततै लुछाचुँडी भइरहेको छ । हामीले जुन रणनीति अपनाएका छौं, त्यो पूरा हुने विश्वास गरेका छौं,’ मन्त्री त्रिपाठीले भने ।

उनका अनुसार सरकारले खोपमा जीटूजी (सरकार–सरकार) खरिदलाई पहिलो प्राथमिकतामा राखेको छ । ‘खोप खरिद गर्न हामीले चारवटा आधार तय गरेका छौं । पहिलो आधार सम्बन्धित देशले उत्पादक कम्पनीसँग खरिद गरेको मूल्य, दोस्रो आधार कोभ्याक्सलाई निर्धारण गरेको मूल्य, तेस्रो अन्य मुलुकले खरिद गरेकोभन्दा कम मूल्य र यी तीनै विकल्पले काम नगरे अरू मुलुकले खरिद गरेको मूल्यमा भए पनि लिने रणनीति हो,’ मन्त्री त्रिपाठीले भने, ‘खोप उत्पादन गर्ने मुलुकको सरकारमार्फत सहुलियतमा खरिद गर्न चाहेका छौं ।’

ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन मिलेर कोराना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान (कोभाक्स) मार्फत नेपालका २० प्रतिशत नागरिकलाई पुग्ने खोप दिने जनाइएको छ । तर यो खोप कहिले आउँछ भन्ने निश्चित भइसकेको छैन । युनिसेफले खोपको उच्च माग भएकाले संसारका सबै जनाले एउटै समयमा खोप लगाउन नपाउने र सबैलाई पुग्ने खोप बनाउन लामो समय लाग्न सक्ने जनाएको छ ।

कसको पालो कहिले ?

सरकारले पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूहका ३ प्रतिशत अर्थात् ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने योजना बनाएको छ । त्यसपछि ५५ वर्षमाथिका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोगी र प्रवासका दीर्घरोगी कामदारसहित १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार २ सय ६९ जनालाई दोस्रो चरणमा खोप दिने सरकारको योजना छ ।

तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्षसम्मका अरू सबै छन् । उनीहरूको संख्या २९ लाख १ हजार १ सय ४ रहेको मन्त्रालयको अनुमान छ । अन्तिममा १५ देखि ३९ वर्ष उमेर समूह (१ करोड २७ लाख ८० हजार ४८ जना) लाई खोप दिने सरकारले जनाएको छ ।

सबैलाई खोप व्यवस्था गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् ।

‘कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने सरकारको निर्णयको सराहना गर्छु,’ कोभिड–१९ विरुद्धको खोप शुभारम्भमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने छ ।’

कोभिड–१९ विरुद्धको अभियानमा अग्रपंक्तिमा रही सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा उनले आभार व्यक्त गरेकी छन् । खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट उनले धन्यवाद दिएकी छन् ।

अस्पताल निरीक्षणमा प्रधानमन्त्री

प्रधानमन्त्री ओली काठमाडौंका मुख्य अस्पताल पुगेर कोरोनाविरुद्धको खोप कार्यक्रम निरीक्षण गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर खोप कार्यक्रम अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पाटन अस्पतालमा स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप लगाएको निरीक्षण गर्दै । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. रवि शाक्यका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएको निरीक्षण गरे पनि कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री ओलीलाई केही बोल्न आग्रह गरिए पनि ‘खोप लगाउनका लागि गरिएको व्यवस्था राम्रो रहेछ, के–कसरी गर्नुपर्छ तपाईंहरू आफैं जानकार हुनुहुन्छ’ भन्दै शुभकामना दिएर बाहिरिएका थिए ।

‘भारतसँग खोप किन्ने प्रक्रिया सुरु’

सरकारले दोस्रो चरणमा आवश्यक पर्ने कोरोनाविरुद्धको खोप खरिदका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । नेपालका करिब २० प्रतिशत (करिब ६० लाख) नागरिकलाई पुग्ने गरी खोप उपलब्ध गराउन सरकारले भारतलाई अनुरोध गरे पनि अनुदानमा झन्डै १० लाख मात्रा मात्रै उपलब्ध भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले झन्डै २ महिनाअघि भारतीय समकक्षी एस जयशंकरलाई पत्र लेख्दै कोरोना खोपको आवश्यकता र प्राथमिकताबारे अनुरोध गरेका थिए । नयाँदिल्लीमा दुई साताअघि भएको द्विदेशीय परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठकमा पनि खोपबारे छलफल भएको थियो ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सुवेदीले नेपाल सरकारको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउन दूतावासले सक्दो सहजीकरण गरिरहेको बताए । ‘परराष्ट्र मन्त्रालयको निर्देशनानुसार दूतावासले भारतीय विदेश मन्त्रालय, नीति आयोगसहितका निकायमा खोप उपलब्धतामा निरन्तर परामर्श गरिरहेको छ,’ उनले कान्तिपुरसित भने, ‘भारत सरकारले पनि विशेष छुट तथा सहुलियतसहितको मूल्यमा आवश्यक मात्रा खोप उपलब्ध गराउन सम्बद्ध निकायमा निर्देशन दिइसकेको जानकारी आएको छ ।’

बुधबार सुरु भएको अभियानमा खोप लगाएका व्यक्तिले एक महिनापछि दोस्रो मात्रा लगाउने तालिका छ । त्यसपछि दोस्रो चरणको खोप अभियानका लागि अनुमान गरिएका १७ प्रतिशत अर्थात् करिब ५१ लाख नागरिकका लागि खोप खरिद गर्ने प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयमा भारत शाखासम्बद्ध एक अधिकारीले बताए । खोप सहुलियत मूल्यमा प्रतिमात्रा ३ सय भारुसम्म पर्ने देखिएको तर मूल्यबारे निर्क्योल भइनसकेको उनले बताए ।

प्रकाशित : माघ १५, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?