'हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्'- समाचार - कान्तिपुर समाचार

'हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्'

इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिएझैँ नै तम्सिने बताएका छन् ।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ' प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।'

उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरेझैँ दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन् । पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने बताएका छन् ।

प्रतिगमनविरुद्धका सबै आन्दोलनमा आफ्नो समर्थन रहने उल्लेख गर्दै उनले लेखेका छन्, 'सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर दमनले नागरिकलाई थप ऊर्जा प्रदान गर्दछ, अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमनविरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।'

प्रकाशित : माघ १३, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

कडा सुरक्षा घेराबीच नेकपा ओली समूहले राजविराजमा सभा गर्दै

सभालाई उपप्रधानमन्त्री ईश्‍वर पोखरेललगायतले सम्बोधन गर्ने
अवधेशकुमार झा

राजविराज — नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेराभित्र राजविराजमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सभा आयोजना गर्ने भएको छ ।

राजविराज रंगशालामा हुने सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलगायतले सम्बोधन गर्ने बताइएको छ ।

राजविराज रंगशाला वरपरका घरका छतछतमा सुरक्षाकर्मी राखिएर सुरक्षा कडा पारिएका छ । दाहाल-नेपाल नेतृत्वको नेकपाले विरोध गर्न सक्ने आशंका मा सुरक्षा कडा पारिएको बताइएको छ । सप्तरीका डीएसपी भुवनेश्वर साहका अनुसार सभालाई लक्षित गरी एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एक बजेदेखि सभा सुरु हुने बताइए पनि अहिलेसम्म सुरु भएको छैन । अहिले सभास्थलमा प्रहरीको बाक्लो उपस्थिति भए पनि नेता कार्यकर्ता भने आउने क्रम जारी रहेको छ ।

प्रकाशित : माघ १३, २०७७ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×