कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइल चोरेको निहुँमा कुटपिट गरी महिलाको हत्या

काठमाडौँ — मोबाइल चोरेको निहुँमा पशुपतिनाथ परिसरस्थित राममन्दिर नजिकै एक महिलाको कुटपिटबाट हत्या भएको छ । राममन्दिर नजिकै बस्दै आएकी बारा श्रीपुरकी बबिता चौधरीको कुटपिट गरी हत्या भएको हो । 

हत्या आरोपमा बबिताका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट ककनीकी २५ वर्षीय अनु थापालाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको छ । वृत्तका इन्स्पेक्टर जनकराज ढुंगानाका अनुसार ४ दिनअघि अनुको मोबाइल बबिताले चोरेको खुलेको थियो ।

अनु पनि राममन्दिर क्षेत्रमै बस्दै आएकी थिइन् । मोबाइल चोरी भएपनि अनुले आफ्ना साथी बोलाएर बबितालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । मोबाइल चोरेको भन्दै रविले पनि बबितालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते बबिताको शनिबार दिउँसो मृत्यु भएपछि अनु त्यहाँबाट भागेकी थिइन् । तर शव भने बसेकै ठाउँ नजिकै खाल्डो खनेर पुर्ने योजना रविले बनाएका थिए । अरुले थाहा पाउने देखेर शव पुरेनन् ।

शनिबार राति नै अनु सुतेकै ठाउँमा आगो लगाएर शव नष्ट गर्ने योजना रविले बनाए । त्यही अनुसार दाउरा र कपडाले शव जलाएको जानकारी प्रहरीले पाएपछि रवि आइतबार बिहान पक्राउ परे । शव जलेको अवस्थामा बरामद गरिएको थियो । इन्स्पेक्टर ढुंगानाका अनुसार काठमाडौं जिल्ला अदालतबाट कर्तव्यज्यान मुद्दामा रवि र अनुमाथि अनुसन्धान भइरहेको छ । मृतक बबिताका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित : माघ १२, २०७७ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?