कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूति गृहको इमरजेन्सी वार्डमा बिरामीको भीड, थाम्‍नै मुस्किल

बुनु थारु

काठमाडौँ — सोमबार दिउँसोको १ :३० बजे । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल प्रवेश गर्दा बिरामीको भिड देखिन्छ । कोही घाम तापिरहेका छन् त कोही एकछेउमा बसेर खाजा खाइरहेका छन् भने कोही बिरामी समातेर डोर्‍याइरहेका छन् । 

प्रसूति गृहको इमरजेन्सी वार्डमा बिरामीको भीड, थाम्‍नै मुस्किल

नेपालकै सबैभन्दा बढी प्रसूति सेवा लिन आउने अस्पताल हो, प्रसूति गृह । लहरै बसेका करिब २५ जना गर्भवती महिला कतिबेला पालो आउला भनेर दुखाइ सहँदै पर्खेर बसेका छन् । इमरजेन्सी विभागमा बिरामीको चाप देखिन्छ । प्रसूति सेवा लिन आएका महिलाहरु दुखाइ सहन नसकेर छटपटाइ रहेका देखिन्छन् । मुखमा मास्क लगाएपनि उनीहरुको पीडा आँखा र हाउभाउबाट प्रष्ट झल्किएको देखिन्छ ।

इमेरजेन्सी विभागको ढोकानिर बसेका गार्डहरुलाई भीड थाम्न हम्मे परिरहेको छ । बिरामीलाई सम्हाल्ने गार्डमध्येकी एकले भीड थाम्नै मुस्किल रहेको बताइन् । भन्छिन्, ‘बिरामीको एकदम चाप छ । बेड खाली हुँदैन । बिरामी छट्पटिएको देख्छौं तर के गर्नु हामीले पनि भित्र खाली भएपछि मात्र पठाउनुपर्ने हुन्छ । कोही त बिरामीका आफन्त मान्दैनन् गाह्रो छ ।’

पालोको पर्खाइमा बसिरहेकी छिन् कीर्तिपुरबाट आएकी ३५ वर्षीया रञ्जु दास । हातमा पर्चा समातेर दुखाइले उकुसमुकस गरिरहेकी छन् उनी । खुट्टामा ब्यान्डेज लगाइएको छ । केही दिनअघि मात्र उनको खुट्टा मर्केको रहेछ । ‘२ घण्टा भयो अस्पताल आएका तर अझै पालो पाएको छैन, एकदम भीड हुने रहेछ,’ रञ्जु पीडायुक्त स्वरमा विस्तारै बोलिन् । ९ महिनाको गर्भ रहेकी उनलाई पेटमा दु:खाइ भएपछि आएको बताइन् ।

छेवैमा छिन् पालोको आसमा रहेकी थानकोटबाट आएकी प्रीति श्रेष्ठ । साथमा थिए बहिनी र ससुरा । एक घण्टादेखि भित्र जाने पालो कुरिरहेका उनीहरु पालोका लागि यताउता कुदिरहेका भेटिए । रक्तश्राव भएपछि ल्याइएकी गर्भवती प्रीति छट्पटराइरहेकी छन् । भीडमा रहेका बिरामीहरु पालो लिन आतुर देखिन्छन् । घरीघरी कति बेला पालो आउला भनेर आँखा तन्काइतन्काइ हेरिरहेका देखिन्छन् । कसैले टोकन सिस्टम नभएको र लाइन पनि नभएको भनी गुनासो पोखिरहेका भेटिए ।

अस्पतालकी निर्देशक डा. संगिता मिश्राले बिरामीको भीड व्यवस्थापन गर्न गाह्रो भएको स्वीकारिन् । उनी भन्छिन् , ‘भीड थाम्न पक्कै गाह्रो छ । हामीले सक्दो सेवा दिने कोसिस गरेका छौं । देशभरकै बिरामीहरु आउनु हुन्छ । त्यसैले पनि भीड थाम्न मुश्किल हुने गरेको छ ।’ ‘हामीले कोभिडले पिक लिएको बेला पनि उपचार सेवा रोकेनौं । अहिले झन् बिरामी बढेको देखिनुहुन्छ,’ डा. मिश्रा भन्छिन्, ‘बिरामी धेरै बढेका छन् तर भौतिक संरचना र जनशक्तिको कमीले गर्दा अलि भीड थाम्न गाह्रो भइरहेको हुन्छ । सिस्टम अनुसार काम भइरहेको हुन्छ तर सबैलाई भित्रै छिरेर मात्र काम हुन्छ भन्ने बिरामीलाई भान हुन्छ । तर त्यस्तो होइन ।’

उनले इमरजेन्सीको भीड थाम्न छिट्टै नै ओपीडीमा आउने बिरामी जस्तै व्यथा नलागेको गर्भवती महिलाहरुलाई एड्मिसन रुम छुट्टै बनाउने प्रक्रियामा रहेको र व्यथा लागेका, रक्तश्राव भएकालाई हालको इमरजेन्सी कक्षको प्रयोग गर्ने जानकारी गराइन् । अहिले एकद्वार प्रणालीमा भएकाले भीड थाम्न मुस्किल भइरहेको उनको भनाइ छ । डा मिश्राले अबदेखि अस्पतालमा ‘फिडब्याक सिस्टम’ ल्याइरहेको बताइन् । ‘कुन कर्मचारीले कस्तो व्यवहार गर्नुहुन्छ बिरामीले सजिलै भन्न सक्नुहुनेछ, हरेक कर्मचारीले अनिवार्य रुपमा आइडी कार्ड लगाउनुपर्ने छ ।,’ उनले भनिन् ।

हाल प्रसूति गृहमा दिनहुँ ८० देखि एक सय इमरजेन्सी बिरामी आउँछन् भने सरदर ७० वटा डेलिभरी हुने गरेका छन् । त्यस्तै दैनिक ५ सयदेखि ६ सयको हाराहारीमा ओपीडीमा बिरामीहरु आउने गरेका छन् । डा. मिश्राका अनुसार गृहमा ४ सय १५ स्वीकृत बेड छन् भने ४ सय ८९ बेडहरु सञ्चालन भइरहेका छन् । ‘भविष्यमा थप बेडहरु पनि थप्ने तयारी गरिरहेका छौं । ७ सय बेड बढाउनुपर्ने सोचेका छौं । विस्तारै अरु ठाउँमा पनि यसको शाखा खोल्ने सोचेको छौं,’ उनले भनिन् ।

प्रकाशित : माघ १२, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?