कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नलाग्नुहोला : नेपाल

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई धुलो छाप पार्टीको संज्ञा दिएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओलीको पार्टीको कुनै काम नभएको बताए ।

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नलाग्नुहोला : नेपाल

‘केपी ओलीको पार्टी धुलो छाप पार्टी हो । कोही नजानुहोला । अस्ति म बर्दिया गएको थिएँ । त्यहाँ त्यो पार्टीका केन्द्रीय सदस्य गमक्क परेर शपथ गरेर फर्केछन् । फर्किंदा–फर्किँदै उनीहरुले भने– त्यता गएर तमासा गरिए छ । केपी ओली गुट मूर्दावाद भनेर घोषणा गर्नुभएछ,’ नेपालले भने, ‘दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ । त्यो कुनै पार्टी हो ? त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन । त्यसको कुनै काम छैन ।’

ओली समूहले जिल्लाजिल्लामा गएर केन्द्रीय सदस्यका लागि डमरु बजाएको भन्दै त्यसको भुलभुलैयामा नपर्न पनि नेपालले कार्यकर्तालाई आग्रह गरे ।

‘सुन्दै छु जिल्ला जिल्ला गएर डमरु बजाउँदै छन्, को आउनुहुन्छ आउनुस्, टिकट लिनुस्, केन्द्रीय सदस्य बन्नुस् भनेर । यो भुलभुलैयामा नपर्नुहोला,’ नेपालले भने ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुनै व्यवस्था नै भएको भन्दै नेपालले सर्वोच्च अदालतले अन्यथा निर्णय गर्छ भनेर आफूहरूले नसोचेको बताए । ओलीले वैशाखमा चुनाव गराउँछन् भनेर भ्रममा नपर्न पनि नेपालले आग्रह गरे ।

‘केपी ओलीको चुनाव गराउने चाहना छैन । तीन महिनामा चुनाव गरेर उहाँ बालकोट जानुहुन्छ ? यो पाँच वर्ष बस्छु, अर्को पाँच वर्ष पनि बस्न संकटकाल लगाएर भए पनि, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने उहाँको चाहना हो,’ नेपालले भने ।

दाहालले ओलीको जालसाजी नबुझेको भन्दै उनले आफूहरू भुक्त्तभोगी भएको दाबी गरे । निर्वाचन आयोगको पत्रको प्रसंग निकाल्दै नेपालले भने, ‘प्रचण्ड कमरेडले विश्वास गर्नुभएछ, सही गर्नुभएनछ । दुई अध्यक्षको सही हुनुपर्नेमा एउटा अध्यक्षको मात्रै सही भयो भनेर । निर्वाचन आयोगले लेखेर पठाएछ । हुन सक्छ उहाँलाई फकाउन मैले मात्रै सही गरेर पठाइदिए हुन्छ भने होलान् । प्रचण्डले हुन्छ–हुन्छ भन्दिनुभयो होला । हाम्रो प्रचण्ड कमरेड अलि सोझो पनि हुनुहुन्छ । जालझेल बुझ्नुहुन्न । हामी त भुक्तभोगी पूर्वएमालेका मान्छेहरु । मैले त एउटै घटनाबाट थाहा पाउँछु ।’

प्रकाशित : माघ १२, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?