काठमाडौँ — चीनको वुहानबाट सन् २०१९ को ३१ डिसेम्बरबाट फैलिन सुरु गरेको कोरोना भाइरस अर्थात कोभिड –१९ ले करिब २१९ देशलाई प्रभावित बनाइसकेको छ । हालसम्म ९ करोड ८० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । कोरोनाले २१ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
नेपालको अवस्था हेर्ने हो भने माघ ९ गतेको तथ्यांकअनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ भने २ लाख ६३ हजार ३४८ जना निको भएका छन् ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या भने १ हजार ९ सय ८६ रहेको छ । कोरोना भाइरस पहिलोपटक नेपालमा माघ १० गते पुष्टि भएको थियो । चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
नेपालले यसअघि यस्तो महामारी नभोगेकाले सामना गर्न पूर्ण रुपमा तयार थिएन । खुल्ला सिमाना, पर्याप्त मात्रामा परीक्षणको अभाव, अव्यवस्थित क्वारेन्टाइन, कन्ट्क्याक्ट ट्रेसिङ नहुँदा पनि संक्रमण बढ्यो । तर सीमित श्रोत साधनका बाबजुद अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा मृत्युदर अरु देशको तुलनामा कम रहेको छ । जुन सकरात्मक कुरा हो ।
हाल दैनिक ५ हजारसम्म पीसीआर परीक्षण भएकोमा ३०० देखि ४०० हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् । नेपालमा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएसँगै मानिसमा केही त्रास देखिए पनि चिकित्सकहरुका अनुसार भाइरस म्युटेट हुनु स्वाभाविक प्रक्रिया हो र यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै उत्तम उपाय हो । यद्यपि पहिलाको जस्तो सर्वसाधारणमा कोरोनाप्रति भय र त्रास पनि कम हुँदै गएको देखिन्छ ।
नेपालमा कोरोनाले एक वर्ष पुग्दा केही दिनअघि मात्रै खोप भित्रिनुले पनि मानिसमा केही नयाँ आशा जगाइदिएको छ । नेपालले कुन खोप खरिद गर्ने भन्ने अन्योलबीच भारत सरकारले अनुदानमा खोप दिएको हो ।
माघ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरी भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही खोप माघ ८ गते बिहीबार बिहान काठमाडौं ल्याइपुर्याइएको छ । खोप लगाउने प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी,स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
कोरोना कहरमा सबैभन्दा धन्यवादको पात्रको रुपमा देखिए अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म(माघ ७)सम्म ७ हजार ७०५ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन पुगेका छन् जसमा ११ जनाले ज्यान गुमाएका छन् ।
सुरुमा आरडीटी किटले टेस्ट गर्नु, क्वारेन्टाइन भद्रगोल हुनु, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुनु, परीक्षणको दायरा साँघुरो हुनु, जनस्वास्थ्यका मापदण्ड पालना नगराउनु, उपचार सेवा चुस्त नहुनु तथा खोपका लागि अहिलेसम्म एग्रिमेन्ट नहुनुले पनि नेपाल केही चुकेको जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेको भनाइ छ । तर सीमित स्रोत साधनका बीच संक्रमितले जिल्ला जिल्लामा उपचार पाउनु, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी अविरल रुपमा जनचेतनामा लाग्नु, गुणस्तरीय उपचारमा केही अस्पताल समर्पित हुनु तथा सरकारी स्वास्थ्य संस्थाहरु उपचारमा समर्पित हुनुलगायतका सकारात्मक कामको कारण महामारी क्रमश: नियन्त्रण उन्मुख भएको सकरात्मक रहेको डा. पाण्डे बताउँछन् ।
कोरोनाको महामारीले संक्रामक रोगको बारेमा महत्व जगाइदिएको बताउँछन् शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन ।
डा. पुन भन्छन्,‘संसारले नै भोग्यो यो कोरोना । यसबाट सिक्न पर्ने धेरै कुरा छ । नेपालमा रोग फैलिन सक्ने मुख्यद्वार भारत भन्ने देखियो । खुल्ला सिमानालाई ध्यान दिन जरुरी छ । कोरोना जनस्वास्थ्यका मापदण्डहरु बुझाउन नसकिएको र मनन नगरिएको पनि देखियो ।
यसअघि सरुवा रोगलाई खासै महत्व दिइएको थिएन । यो महामारीले यस्तो अवस्थामा कस्तो पूर्वाधार आवश्यक पर्छ भन्ने राम्ररी सिकाएको जस्तो लाग्छ । पछिल्लो समयमा विभिन्न भेरियन्टहरुको कुरा गर्दा अनुसन्धान पनि महत्वपूर्ण रहेछ भन्ने देखाउँछ । यो महामारीलाई अन्तिम हो भनेर नसौचौँ । हामी जोखिममै छौ । कति अप्ठ्यारो छ भनेर हामीले देख्यौँ । बुझ्यौँ । ’
एक वर्षमा नेपालमा कोरोना [टाइमलाइन]
