कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना महामारीको एक वर्ष

काठमाडौँ — चीनको वुहानबाट  सन् २०१९ को ३१ डिसेम्बरबाट फैलिन सुरु गरेको कोरोना भाइरस अर्थात कोभिड –१९ ले करिब २१९ देशलाई प्रभावित बनाइसकेको छ । हालसम्म ९ करोड ८० लाखभन्दा बढी संक्रमित भइसकेका छन्  । कोरोनाले २१ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

नेपालमा कोरोना महामारीको एक वर्ष

नेपालको अवस्था हेर्ने हो भने माघ ९ गतेको तथ्यांकअनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ भने २ लाख ६३ हजार ३४८ जना निको भएका छन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या भने १ हजार ९ सय ८६ रहेको छ । कोरोना भाइरस पहिलोपटक नेपालमा माघ १० गते पुष्टि भएको थियो । चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

नेपालले यसअघि यस्तो महामारी नभोगेकाले सामना गर्न पूर्ण रुपमा तयार थिएन । खुल्ला सिमाना, पर्याप्त मात्रामा परीक्षणको अभाव, अव्यवस्थित क्वारेन्टाइन, कन्ट्क्याक्ट ट्रेसिङ नहुँदा पनि संक्रमण बढ्यो । तर सीमित श्रोत साधनका बाबजुद अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा मृत्युदर अरु देशको तुलनामा कम रहेको छ । जुन सकरात्मक कुरा हो ।

हाल दैनिक ५ हजारसम्म पीसीआर परीक्षण भएकोमा ३०० देखि ४०० हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् । नेपालमा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएसँगै मानिसमा केही त्रास देखिए पनि चिकित्सकहरुका अनुसार भाइरस म्युटेट हुनु स्वाभाविक प्रक्रिया हो र यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै उत्तम उपाय हो । यद्यपि पहिलाको जस्तो सर्वसाधारणमा कोरोनाप्रति भय र त्रास पनि कम हुँदै गएको देखिन्छ ।

नेपालमा कोरोनाले एक वर्ष पुग्दा केही दिनअघि मात्रै खोप भित्रिनुले पनि मानिसमा केही नयाँ आशा जगाइदिएको छ । नेपालले कुन खोप खरिद गर्ने भन्ने अन्योलबीच भारत सरकारले अनुदानमा खोप दिएको हो ।

माघ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरी भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही खोप माघ ८ गते बिहीबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको छ । खोप लगाउने प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी,स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

कोरोना कहरमा सबैभन्दा धन्यवादको पात्रको रुपमा देखिए अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म(माघ ७)सम्म ७ हजार ७०५ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन पुगेका छन् जसमा ११ जनाले ज्यान गुमाएका छन् ।

सुरुमा आरडीटी किटले टेस्ट गर्नु, क्वारेन्टाइन भद्रगोल हुनु, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुनु, परीक्षणको दायरा साँघुरो हुनु, जनस्वास्थ्यका मापदण्ड पालना नगराउनु, उपचार सेवा चुस्त नहुनु तथा खोपका लागि अहिलेसम्म एग्रिमेन्ट नहुनुले पनि नेपाल केही चुकेको जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेको भनाइ छ । तर सीमित स्रोत साधनका बीच संक्रमितले जिल्ला जिल्लामा उपचार पाउनु, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी अविरल रुपमा जनचेतनामा लाग्नु, गुणस्तरीय उपचारमा केही अस्पताल समर्पित हुनु तथा सरकारी स्वास्थ्य संस्थाहरु उपचारमा समर्पित हुनुलगायतका सकारात्मक कामको कारण महामारी क्रमश: नियन्त्रण उन्मुख भएको सकरात्मक रहेको डा. पाण्डे बताउँछन् ।

कोरोनाको महामारीले संक्रामक रोगको बारेमा महत्व जगाइदिएको बताउँछन् शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन ।

डा. पुन भन्छन्,‘संसारले नै भोग्यो यो कोरोना । यसबाट सिक्न पर्ने धेरै कुरा छ । नेपालमा रोग फैलिन सक्ने मुख्यद्वार भारत भन्ने देखियो । खुल्ला सिमानालाई ध्यान दिन जरुरी छ । कोरोना जनस्वास्थ्यका मापदण्डहरु बुझाउन नसकिएको र मनन नगरिएको पनि देखियो ।

यसअघि सरुवा रोगलाई खासै महत्व दिइएको थिएन । यो महामारीले यस्तो अवस्थामा कस्तो पूर्वाधार आवश्यक पर्छ भन्ने राम्ररी सिकाएको जस्तो लाग्छ । पछिल्लो समयमा विभिन्न भेरियन्टहरुको कुरा गर्दा अनुसन्धान पनि महत्वपूर्ण रहेछ भन्ने देखाउँछ । यो महामारीलाई अन्तिम हो भनेर नसौचौँ । हामी जोखिममै छौ । कति अप्ठ्यारो छ भनेर हामीले देख्यौँ । बुझ्यौँ । ’

एक वर्षमा नेपालमा कोरोना [टाइमलाइन]

  • माघ १० गते पहिलो पटक चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय नेपाली पुरुषमा पहिलो पटक कोरोना पुष्टि भयो ।
  • फागुन ५ गते कोरोना भाइरसको उद्‍गमस्थलबाट १७५ जना नेपालीलाई वायुसेवा निगमको चार्टड विमान मार्फत उद्धार गरेर काठमाडौं ल्याइएको थियो । उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखियो ।
  • कोरोना महामारी सुरु भएसँगै नेपाल औषधि लिमिटेडले चैत २ गतेबाट पहिलोपटक स्यानिटाइजर उत्पादन तथा बिक्री सुरु गरेको हो ।
  • चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भयो । नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको करिब २ महिनापछि मात्र दोस्रो संक्रमण पुष्टि भएको थियो ।
  • चैत ११ गते देखि चैत १८ गतेसम्म पहिलो पटक लकडाउन भयो ।
  • चैत १२ गते तेस्रो व्यक्तिमा संक्रमण पुष्टि भयो ।
  • जेठ ३ गते नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भयो । नेपालमा पहिलो पटक कोरोनादे सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।
  • जेठ ४ गते कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको थियो । नरैनापुरको मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमै २५ वर्षीय युवकको मृत्यु भएको थियो ।
  • जेठ ३० गतेदेखि असार १८ सम्म लकडाउन खुकुलो बनाइयो ।
  • असार १५ मन्त्रिपरिषद निर्णयले लकडाउन यथास्थितिमा रहने गरी थप साउन ७ सम्म लम्ब्यायो ।
  • साउन ६ गते बाट १२० दिने लामो लकडाउन अन्त्य भएको थियो ।
  • साउन १६ गते अहिलेसम्मकै बढी पीसीआर परीक्षण भएको थियो । उक्त दिन १० हजार ७ सय ६८ पीसीआर परीक्षण गरिएको थियो ।
  • भदौ ३ गते मध्यरातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको थियो ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ( माघ ७)सम्म ७ हजार ७०५ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन पुगेका छन् जसमा ११ जनाले ज्यान गुमाएका छन् ।
  • नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले १०० जना उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन पर्न सफल भए ।
  • कात्तिक ५ गते ५ हजार ७४३ एकैदिन संक्रमित थपिएका थिए । एकैदिन धेरै मात्रामा संक्रमित देखिएको यो पहिलो पटक हो ।
  • कात्तिक १९ गते एकैदिनमा ३० जनाको मृत्यु । एकैदिन सबैभन्दा बढी मृत्यु भएको दिन हो ।
  • माघ २ गते औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ ।
  • माघ ५ गते बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो ।
  • माघ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरी भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
  • माघ ८ गते बिहीबार बिहान भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप काठमाडौं ल्याइपुर्‍याइएको छ । खोप लगाउने प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी,स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन्
  • माघ ९ गते काठमाडौंमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोरोना खोप लगाउन सुरु गरिने बताएका थिए ।

प्रकाशित : माघ १०, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?