कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपराष्ट्रपति निवासमा दाहाल-भट्टराई वार्ता

बाबुराम भट्टराई भन्छन्- 'आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने ? सोचौं !'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।

उपराष्ट्रपति निवासमा दाहाल-भट्टराई वार्ता

नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।

बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !'

त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, दाहाल-नेपाल नेतृत्वको नेकपा र जसपाका एक्लाएक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको उल्लेख गरेका छन् । आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।

उनले लेखेका छन्, ' ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आ-आफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं !'

उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ । उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन् । त्यसैले यस्ता घटनाहरू जोडेर ओलीले खेल्न सक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मात्र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ३७ औं सत्रलाई सम्बोधन गर्दै द्वन्द्वकालमा भएका मानवअधिकार हननका गम्भीर प्रकृतिका घटनामा आममाफी नदिने बताएका थिए । शुक्रबारै अध्यक्ष दाहालले ओलीले शान्ति प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने भन्दै सार्वजनिक मञ्चमा भाषण गरेका थिए । त्यही कुरा बोलेपछि उनी उपराष्ट्रपति निवास पुगेका हुन् ।

प्रकाशित : माघ १०, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?