बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने हो : गगन थापा- समाचार - कान्तिपुर समाचार

बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने हो : गगन थापा

‘न्यायाधीशहरुलाई बाहिरको हल्ला र कोठाको खासखुस होइन आफ्नो कर्तव्यले मात्रै प्रभाव पारोस्’
अमृता अनमोल

बुटवल — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीले सरकार चलाउन नसके राजनीति छोड्नुपर्ने बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै थापाले पटकपटक सरकार चलाउन नसकेर संसद् भंग गरेको भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गरेका हुन् । संविधानमै नभएको व्यवस्थाबाट संसद् भंग गर्नु केपी ओलीको असंवैधानिक र गैरराजनीतिक कदम भएको थापाले बताए । उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने । घर बस्न नसक्ने वन पस्ने । मलाई अदालतमा उभ्याइए त्यही जवाफ दिन्थें ।’ संविधानमै नभएको व्यवस्थाको यस्तो प्रश्न सोधर न्यायाधीशहरुले समेत समय खेर फाल्न नहुने उनले बताए ।

नेता थापाले प्रधानमन्त्रीले संसद् भंग गरेर देशलाई दुर्घटनामा फसाएको दाबी गरे । प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्चाइदिनुपर्ने उनले तर्क गरे । सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वास आफूमा रहेको बताउादै त्यसबाहिर न्यायाधीश जान नहुने बताए । ‘बाहिर भएको हल्लाले प्रभाव नपारोस् । बन्द कोठाको खासखुसले पनि प्रभाव नपारोस्,’ उनले भने, ‘न्यायाधीशहरुलाई आफ्नो ड्युटी र कर्तव्यले मात्रै प्रभाव पारोस् ।’ उनले अमेरिकामा डोनाल्ड ट्रमले संविधान र कानुन मिच्न खोज्दा उनका सहयोगीले साथ नदिएजस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि गलत कामको साथ दिन नहुने बताए । ‘हामीले न्यायाधीशहरुलाई केही भनेका छैनौं,’ उनले भने, ‘श्रीमानहरुले धर्म नछाडिसियोस् । न्याय नमारिसियोस् । संविधान बाहिर नगइसियोस् । यत्तिमात्र भनेका छौं ।’

नेता थापाले प्रधानमन्त्री केपी ओलीले एक्कासि नभइ दुई अढाइ वर्षको डिजाइनले संविधानलाई धरापमा पार्ने काम गरेको बताए । ओली निरंकुश हुनुमा उनीमात्र नभइ उनका आसपासका मान्छे पनि उत्तिकै दोषी भएको बताए । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई इंगित गर्दै उनले प्रदेशको जिम्मेवारी छोडेर प्रधानमन्त्रीलाई उक्साउन र गलत कदम उठाउन सघाएको टिप्पणी गरे । ‘तपाईंको मुख्यमन्त्री प्रधानमन्त्रीको फोटोकपी जस्तै लाग्छ । यत्रो प्रदेशको जिम्मेवारी छ । प्रदेशका बारेमा सोधे उत्तर छैन । प्रदेशको काम छोडेर काठमाडौंमा जुहारी खेल्न जानुभएको छ ।’ उनले भने ।

नेता थापाले देश चाडै निर्वाचनमा जाने भएकाले कोही अलमलिनु नपर्ने बताए । प्रधानमन्त्री ओलीले घोषणा गरेको बाटोबाट नभइ संसद् पुन:स्थापना भएपछि मात्रै निर्वाचन हुने दाबी गरे ।

प्रकाशित : माघ ८, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति नेपालमा पनि पराजित हुन्छ : मीनेन्द्र रिजाल

नगेन्द्र अधिकारी

काभ्रे — कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले कम्युनिष्टको अडानकै कारण संसद् विघटन नहुने व्यवस्था संविधानमा राखिएको तर्क गरेका छन् ।

२०७० सालको संविधान मस्यौदा समितिका सदस्य समेत रहेका पूर्वमन्त्री रिजालले प्रधानमन्त्रीलाई ताजा जनादेशमा जाने बाटो राख्‍न आफूले प्रस्ताव गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रले विरोध जनाएको दाबी गरे । ‘५ वर्षको बीचमा ताजा जनादेशमा जान सकिने कही त बाटो राख्नुपर्छ भन्ने कांग्रेसको विचार थियो, तर तत्कालीन एमाले र माओवादीका नेताले नै विरोध गर्नुभयो,’ कांग्रेसको बनेपा वडा नम्बर ७ ले बनेपामा गरेको विरोध सभामा रिजालले भने, ‘कम्युनिष्टकै अडानका कारण प्रतिनिधीसभा विघटन गर्न नमिल्ने, २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने लगायतका विषय परेका हुन् ।’

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत कांग्रेसका केन्द्रीय सदस्य रिजालले संसद् पुनःस्थापना भएपछि बहुमत सिद्ध गर्न नसके सहमतिमा निर्वाचनमा जान आफूहरु तयार भएको बताए । ‘कांग्रेस निर्वाचनमा जान डराएको हैन तर पहिला संविधान जोगाऔं,’ रिजालले भने, ‘सनकका भरमा गरिएको मध्यावधि निर्वाचन गरेर के गर्ने, फेरी विघटन गर्ने ?’

तत्काल निर्वाचनमा जाँदा कांग्रेसले फाइदा लिन सकेपनि संविधान भत्किएकोमा चिन्ता लिएर असंवैधानिक कदमका विरुद्धमा उभिनुपर्ने उनले बताए । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत धम्क्याउन लागेको तर्क गर्दै असंवैधानिक कदम फिर्ता गराएरै छाड्ने दाबी गरे । ‘अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति अमेरिकामा पराजित भयो, नेपालमा पनि पराजित हुन्छ,’उनले भने ।

कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले दुई तिहाईको सरकारले काम गर्न नसकेपछि अनेक बहाना बनाएर संसद् विघटन गरेको बताए । संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री समेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति कञ्चनचन्द्र बादे श्रेष्ठले संविधानको हत्या भएको तर्क गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने फैसला मान्न कांग्रेस तयार भएको बताए ।

कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष रोहित बादे, कोषाध्यक्ष कृष्णगोपाल पाण्डे, जिल्ला सदस्यहरु मनिषा बादे, सिता प्रजापति, नेकपाका डम्बरबहादुर घिसिङलगायत ५० भन्दा बढी विभिन्न दलका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।

प्रकाशित : माघ ८, २०७७ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×