कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खोप लगाए पनि स्वास्थ्य मापदण्ड पालना जरुरी

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा संलग्न व्यक्तिलाई अनुदानको खोप दिइने
गर्भवती, सुत्केरी, दूध चुसाउने महिलालाई तथा खोपमा उपयोग भएका वस्तुको एलर्जी हुनेलाई दिन नमिल्ने
अतुल मिश्र

काठमाडौँ — भारत सरकारबाट अनुदानका रूपमा प्राप्त हुने १० लाख मात्रा कोभिसिल्ड खोप देशव्यापी अभियान चलाएर अग्रपंक्तिमा खटिएका नागरिकलाई दिइने भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा संलग्न व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप दिने अभियान चलाउन सबै गृहकार्य पूरा गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खोप लगाए पनि स्वास्थ्य मापदण्ड पालना जरुरी

अक्सफोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको कोभिसिल्ड खोप १८ वर्ष पुगिसकेका व्यक्तिको देब्रे पाखुराको माथिल्लो भाग (इन्ट्रामस्कुलर) मा लगाइन्छ । ‘धेरै जनाको दाहिने हात चल्छ । त्यसैले दुखाइ नहोस् भनेर सामान्य रूपमा देब्रे हातमा नै लगाउने कम्पनीले प्रस्ताव गरेको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने ।

गर्भवती, सुत्केरी, दूध चुसाउने महिलालाई तथा खोपमा उपयोग भएका वस्तुको एलर्जी हुने थाहा भए पनि नदिइने उनले बताए । उनका अनुसार कोभिसिल्ड कोरोनाले यसअघि संक्रमित भए नभएका सबैलाई दिइन्छ, १८ वर्षमुनिकालाई भने दिइने छैन ।

शरीरमा एन्टिबडी निर्माण भएपछि कोरोना जित्न सहज हुन्छ । खोप दुई मात्रा लगाइसकेपछि कोरोना प्रतिरोधात्मक क्षमता विकास हुने चिकित्सकले बताएका छन् । कोभिसिल्ड खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पुनावालाका अनुसार लामो सुरक्षाका लागि यो खोपको दुई मात्रा दिन आवश्यक छ । उनले यो खोप ३ महिनासम्म ९० प्रतिशत प्रभावकारी हुने बताए । खोपको असर कति दिनसम्म रहन्छ भन्नेबारे केही भन्न सकिने स्थिति छैन । अस्ट्रेलिया र बेलायतमा भएको अध्ययनअनुसार कोभिड संक्रमण भएको व्यक्तिमा आठ महिनापछि समेत एन्टिबडी विकास भएको थियो । विशेषज्ञहरूले यो खोपले एक वर्षसम्म सुरक्षा दिने अनुमान गरेका छन् ।

विज्ञहरूका अनुसार खोप लगाएपछि समेत कोभिडबाट बच्नका लागि भनिएका मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हातको सरसफाइ गर्नेजस्ता मापदण्ड पालना गर्नुपर्छ । पहिलो मात्रा र दोस्रो मात्रा खोप लगाउने बीचको समयमा स्वास्थ्य सतर्कता अझ बढी अपनाउनु आवश्यक छ । खोपले धेरै हदसम्म सुरक्षा प्रदान गरे पनि व्यक्ति विशेष पूर्ण रूपमा सुरक्षित हुने ग्यारेन्टी नहुने विज्ञहरू बताउँछन् ।

कोभिसिल्ड खोपमा एल–हिस्टिडिन, एल–हिस्टिडिन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाइड्रेट, पलिसार्वेट ८०, इथानल, सुक्रोज, सोडियम क्लोराइड, डाइसोडियम एडिटेट डाइहाइड्रेट (ईडीटीई) र इन्जेक्सनका लागि पानी छ । खोप कुनै असामान्य स्थिति नभए हवाईमार्गबाट बिहीबार आइपुग्ने छ । कोभिसिल्डको समग्र प्रभावकारिता ७०.४२ प्रतिशत देखिएको छ ।

पहिलो चरणअन्तर्गत अनुदानमा आएका सबै खोप ठूलो संख्यामा लगाएर दोस्रो मात्रा पर्खने कि पहिले लगाएकालाई नै पूरा गर्ने भन्नेमा मन्त्रालयमा छलफल चल्दै छ । मन्त्रालयका उच्च अधिकारीहरूले अनुदानको खोपबाट पहिलो मात्रा लगाएकाहरूलाई नै दोस्रो मात्रा पूरा गर्नुपर्ने धारणा राखेका छन् । कोभिसिल्ड खोपको दोस्रो मात्रा १२ सातासम्ममा लगाउन सकिने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । हालको सरकारी नीतिअनुसार पहिलो मात्रा खोप लगाएको ४ सातापछि अर्को मात्रा दिइने कम्पनीको भनाइ छ । कोभिसिल्ड खोप लगाइसकेपछि कार्ड दिइने छ । जसबाट ती व्यक्तिले कुन खोप लिएको र पुनः अर्को मात्रा कहिले लिनुपर्ने भन्ने थाहा हुन्छ ।

स्वास्थ्य संस्थामा कार्यरत व्यक्तिहरूको संकलित तथ्यांकलाई आईएमई सफ्टवेयरमा राखिएको छ । यसै सफ्टवेयरका माध्यमले खोपका लागि उपयुक्त व्यक्ति चयन गरिने छ । सरकारले मुलुकका ७२ प्रतिशत नागरिकलाई खोपका लागि लक्षित समुदाय भनेर परिभाषित गरेको छ । सिरम इन्स्टिच्युटले खोपको वेस्टेज अधिकतम १० प्रतिशतसम्म हुन सक्ने जनाएको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले बताए । पहिलो चरणमा अग्रपंक्तिमा खटिएकालाई लगाइसकेपछि खोप बाँकी रहे जोखिममा रहेका अन्य नागरिकलाई दिइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनले आगामी दिनमा कोभिड–१९ विरुद्घको खोप आफ्नो स्वास्थ्य सुरक्षाका लागि मात्र नभई विदेश जानेहरूका लागि समेत अपरिहार्य हुने संकेत गरे ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सबै प्रदेश, जिल्ला, मुख्य खोप भण्डारण केन्द्रसम्म छिटो खोप पुर्‍याउनुसमेत ठूलो चुनौती रहेको बताए । ‘एयरपोर्टमा खोप आउनासाथ तुरुन्त भण्डारण र ढुवानी गर्नुपर्छ,’ उनले भने ।

थप खोप किन्ने तयारी

स्वास्थ्यमन्त्री त्रिपाठीले भारत सरकारबाटै अनुदानबाहेक थप खोप किन्ने जनाएका छन् । ‘अनुदानको खोप पर्याप्त छैन । थप खोप पारदर्शी प्रक्रिया अपनाएर खरिद गर्छौं,’ उनले भने । उनले खोप खरिदका लागि हाल आर्थिक जटिलता नरहेको समेत प्रस्ट पारेका छन् । भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय स्रोतका अनुसार नेपालले भारत सरकारको माध्यमबाट सिरम इन्स्टिच्युटबाट खोप किन्ने पहल गरिरहेको छ । कोभिसिल्ड खोपका लागि सिरमले भारत सरकारसँग लिने मूल्य नै आफूसँगसमेत लिनुपर्नेमा नेपालका तर्फबाट समन्वय गर्न अनुरोध गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मान्यता कहिले ?

कोभिसिल्डले अन्तर्राष्ट्रियस्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट छिट्टै अनुमति पाउने सम्भावना देखिएको छ । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले गत सोमबार पत्रकार सम्मेलनमा सिरम इन्स्टिच्युटले ‘र्‍यापिड एसिसमेन्ट’ का लागि छिट्टै पूरा तथ्यांक उपलब्ध गराउने आशा गरेको बताएका छन् 

यसैका आधारमा डब्लूएचओले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले मिलेर बनाएको खोपले अन्तर्राष्ट्रियस्तरमा उपयोगको अनुमति पाउने–नपाउने निर्णय हुनेछ । बेलायतले यो खोपलाई गत २९ डिसेम्बरमा आपत्कालीन उपयोगको अनुमति दिएको थियो । यसपछि भारत, ब्राजिल, अर्जेन्टिना, अलसल्बाडोर, डोमिनिकन रिपब्लिक, मेक्सिको, मोरक्को, नेपाल, बंगलादेश, भुटान, पाकिस्तानलगायतले आपत्कालीन अनुमति प्रदान गरिसकेका छन् ।

प्रकाशित : माघ ८, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?