‘डाक्टरले बिनागल्ती कहिलेसम्म कुटाइ खानुपर्ने हो ?’

काठमाडौँ — ९ दिन अगाडि  बुटवलका ६२ वर्षीय बिरामी म कार्यरत त्रिवि शिक्षण अस्पतालको आईसीयू वार्डमा भर्ना हुन आए । बिरामीको हिस्ट्री राम्रो थिएन । तीन वर्ष अगाडि क्षयरोग भएको रहेछ, बाथको औषधि पनि खाइरहनु भएको रहेछ । अस्पताल ल्याउँदा उहाँको अवस्था गम्भीर थियो। 

‘डाक्टरले बिनागल्ती कहिलेसम्म कुटाइ खानुपर्ने हो ?’

मैले हेर्दा बिरामीमा निमोनिया कडा लक्षणहरू थिए । शरीरमा अक्सिजनको मात्रा निकै कम थियो । बिरामीलाई तुरून्तै भेन्टिलेटरमा राखेर उपचार सुरू गर्‍यौं । निमोनियाको कारण पत्ता लगाउन भनेर हामीले सिटीस्क्यानदेखि लिएर विभिन्न टेष्टहरू गरिरहेका थियौं । कोरोनाको दुईवटा रिपोर्ट भने नेगेटिभ थियो, त्यसैले ननकोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

बर्डफ्लु (एनवानएचवान)संक्रमणको फैलिने मौसम र वातावरण भएकाले हामीले बिरामीमा त्यही संक्रमणको शंका गर्‍यौं र टेकुको जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठायौं । बिरामीको अवस्था भने दिनप्रतिदिन बिग्रँदो थियो, परिवारलाई हामीले बिरामीको अवस्थाबारे जानकारी गराइरहेका थियौं ।

सुरूवाती दिनदेखि नै मैले बिरामीका आफन्तलाई ‘जुनसुकै बेला जेपनि हुन सक्छ, ज्यान पनि जान सक्छ, तैपनि हामी प्रयास गर्छौं’ भनेर परामर्श गरिरहेको थिएँ, उहाँहरूले कुरा बुझिराखे जस्तो लाग्थ्यो । सोमबार नमुना परीक्षणको रिपोर्ट आयो । जनस्वास्थ्य प्रयोगशालाले बर्डफ्लु र कोरोना दुवै परीक्षण गरेको रहेछ । उहाँलाई कोरोना पोजेटिभ छ भनेर टेकुबाट फोन आयो । आईसीयूका अन्य बिरामीलाई संक्रमण सर्ने जोखिम भएपछि हामीले उहाँलाई कोभिड आईसीयूमा सार्‍यौं । आज (मगंलबार) बिरामीको अवस्था झन्झन् बिग्रिँदै गयो । अक्सिजनले काम गरेन, ब्लडप्रेसरको औषधि चलाइरहेका थियौं तर काम गरिरहेको थिएन । मिर्गौलाले पनि विस्तारै काम गर्न छाड्दै थियो । मुटुको धड्कन पनि कम हुँदै गयो, सीपीआर गर्‍यौं तर बिरामीको मृत्यु भयो ।

११ बजेपछि आफन्तलाई बिरामीको मृत्यु घोषणा गर्‍यौं । बिरामीका आफन्तहरू रिर्पोट लिएर मलाई भेट्न आउनुभयो, झोंक्किएको मुडमा हुनुहुन्थ्यो । ‘कोरोना नभएको बिरामीलाई त्यसै कोरोना भयो भनेर कोभिड वार्डमा सार्ने, त्यहीँबाट संक्रमण सार्ने अनि बिरामी मार्ने ?’ भन्न थाल्नुभयो । मैले सम्झाउन खोजेँ तर उहाँहरूले सुन्न खोज्नु भएन । टेकुबाट ल्याएको रिपोर्ट देखाउनुभयो । रिपोर्टमा ‘एनवानएचवान पीसीआर नेगेटिभ’ लेखेको थियो । कोरोनाको रिपोर्ट ल्याउनु भएको थिएन, मसँग पो माग्न थाल्नुभयो ।

उहाँहरूले पीसीआर नेगेटिभ लेखेको देख्नुभएछ तर अगाडि लेखेको एनवानएचवान पढ्नुभएनछ । हामीले शंका गरेको बर्डफ्लु संक्रमण नेगेटिभ तर हामी ढुक्क भएर बसेको कोरोना संक्रमण पाजेटिभ रहेछ । यही कुरा बुझाउन खोज्दै थिएँ । बिरामीका छोराले आवेशमा आएर मेरो पेटमा बेस्सरी लात्ती हानेँ, आईसीयूमा राखिएका औषधि फालिदिए । मेरो टिममा काम गर्ने मेडिकल अफिसर र स्वास्थ्यकर्मीले रोक्न खोजे । हातपात अझै बढ्ला भनेर म ड्युटी रूममा गएँ ।

शरीरमा धेरै चोट लाग्न पाएन तर आत्मसम्मानमा ठेस लागेको छ । मेरो केही गल्ती नहुँदापनि बिरामी पक्षले कुटपिट गरे, चित्त दुखेको छ । बिरामी बचाउन नसक्दा कुटाइ खाने म पहिलो चिकित्सक होइन, यसअघि पनि ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकमाथि यस्तो गरिएका धेरै घटना छन् । उपचारमा चित्त नबुझे चिकित्सकमाथि हातपात गरिहाल्ने कुराले हामीलाई हतोत्साहित बनाएको छ ।

हिजो अरू स्वास्थ्यकर्मीले कुटाइ खाए, आज मैले खाएँ, भोलि अरूलाई पनि यस्तो हुन सक्छ । बिरामीपक्षलाई उपचारमा लापरबाही भएजस्तो लाग्छ भने कानुनी बाटो अपनाउन सकिन्छ, यसरी चिकित्सकमाथि कुटपिट गर्ने अभ्यास बन्द होस् । ममाथि भएको घटनाबारे मैले आफू कार्यरत संस्थामा गएर भनिसकेँ । यसको समाधान कसरी गर्ने उहाँहरूले गर्नुहोला । तर, बिरामीपक्षले आवेशमा आएर हामी चिकित्सकमाथि हातहपाई गर्ने गलत सिस्टमको अन्त्य गर्न सरकार अथवा सम्बन्धित निकायले के गरिरहेका छन् ?

मगंलबार बिरामीपक्षबाट कुटपिटमा परेका त्रिवि शिक्षण अस्पतालका डा.सबिन भण्डारीसँग फातिमा बानुले गरेको कुराकानीमा आधारित ।

प्रकाशित : माघ ७, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?