कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्छ : भारतीय विदेशमन्त्री

नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक

नयाँदिल्ली — नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी रहेको छ । बैठक शुक्रबार मध्यान्ह १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।

नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्छ : भारतीय विदेशमन्त्री

बैठकको सुरुमा भारतीय विदेशमन्त्री एस जयंशकरले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा जयशंकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यताको प्रशंसा गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरेका थिए । साथै उनले यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु पनि यो बैठकको प्रमुख उद्देश्य भएको बताए ।

त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए । नियमित सम्पर्क र संवाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत ज्ञवालीले बताएका थिए । त्यसैगरी उनले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र संवादले दुई देशको सम्बन्धलाई गतिशीलताको नयाँ आयाम थपेको समेत बताए ।

बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेन्डा तय गरेका छन् । एजेन्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो । बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने स्रोतले बताएको छ ।

नेपाली पक्षले भने बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ ।

बिहीबार साँझ भारतको विदेश मन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताएका थिए । तर, भारतको उक्त धारणा बाहिर आएलगत्तै ईकान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीले आयोगको म्यान्डेट सीमालगायत द्विपक्षीय विषयहरुमा छलफल गर्ने भएको प्रस्ट पारेका थिए ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

त्यसअघि ज्ञवाली र जयशंकरसँग हैदरबाद हाउसमै भेट करिब एक घण्टा वान टु वान भेट भएको थियो । बिहान ११ बजे सुरु भएको उक्त भेटमा परराष्ट्र सचिव भरतराज पौडेल, भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंला, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि उपस्थित थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल बताइए पनि त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३:३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्यांक परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : माघ २, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?