परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ज्ञवाली र जयशंकरबीच करिब एक घण्टा भेटवार्ता भएको थियो ।

दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्रालगायतका व्यक्ति सहभागी थिए । बिहीबार साँझ इकान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीले दिल्लीमा हुने राजनीतिक भेटघाट नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, ईपीजी र कोभिड–१९ विरुद्धका खोपका विषयमा केन्द्रित हुने बताएका थिए ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो ।

बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने स्रोतले बताएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताएका थिए । तर, भारतको उक्त धारणा बाहिर आएलगत्तै इकान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीले आयोगको म्यान्डेट सीमालगायत द्विपक्षीय विषयहरुमा छलफल गर्ने भएको प्रस्ट पारेका थिए ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३:३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : माघ २, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

साउदीमा श्रमिकलाई अस्थायी निलम्बन गर्न छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी सरकारले कोरोना महामारी अवधिभर संकटमा परेका रोजगारदातालाई श्रमिकसँग गरिएको करार सम्झौतालाई अस्थायी रूपमा तोड्न पाउने नीति जारी गरेको छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदीको श्रम कानुनको दफा नम्बर ४१ को कार्यान्वयनमा रोक लगाउँदै रोजगारदातालाई फाइदा पुग्ने नयाँ नीति ल्याएको हो ।

निजी क्षेत्रको रोजगारदाताको हितका लागि भन्दै साउदीले रोजगारदातालाई कुल जनशक्तिको ७० प्रतिशत बेरोजगार श्रमिकको सूची ‘सनिद’ बिमा कार्यक्रममा पेस गर्न पाउनेसमेत व्यवस्था मिलाएको छ । रोजगारदातालाई श्रमिकको कार्यघण्टा घटाई तलब कटौती गर्न, बेतलबी बिदामा राख्न र वार्षिक बिदामा राख्न पाउनेसमेत छुट दिइएको साउदी गजेटमा उल्लेख छ ।

साउदीमा झन्डै ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । कोरोना भाइरस नियन्त्रण गर्न साउदीमा लकडाउन गरेपछि सेवा क्षेत्रमा आबद्ध कम्पनीहरू बढी प्रभावित भएको थियो । जसले गर्दा हजारौं नेपालीले रोजगारी गुमाएका थियो ।

तलब कटौतीमा परेका ठूलो संख्यामा रहेका नेपाली श्रमिकले अझै साउदी छाडिनसकेको नेपाली दूतावासले जनाएको छ । साउदीले डिसेम्बरको १७ तारिखबाट कोरोनाविरुद्धको खोप लगाउन थालेपछि स्वदेश नफर्केको नेपाली श्रमिक रोजगारी पाउने आशामा बसिरहेका छन् । साउदीले प्राथमिकताका आधारमा खोप सेवा उपलब्ध गराएको नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।

प्रकाशित : माघ २, २०७७ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×