संसद् विघटन अवैधानिक तर निर्वाचन संवैधानिक : निधि- समाचार - कान्तिपुर समाचार

संसद् विघटन अवैधानिक तर निर्वाचन संवैधानिक : निधि

श्यामसुन्दर शशि

जनकपुर — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।

प्रेस युनियन धनुषाले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधि । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

प्रेस युनियन धनुषाले मंगलबार बिहान जनकपुरमा आयोजन गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको संविधान २०७२ मा संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन । ओलीको निर्णय अवैधानिक हो तर निर्वाचन संवैधानिक हो ।’

लोकतान्त्रिक प्रणाली, देश, जनता र संविधानको रक्षाको लागि प्रतिनिधिसभाको आवश्यकता भएको जनाउँदै उनले कांग्रेस प्रतिनिधिसभा प्राप्त गर्ने दुवै विकल्पका लागि तयार रहेको बताए । ‘हामीलाई प्रतिनिधिसभा चाहिन्छ, यसमा दुई मत हुनै सक्दैन । यसका दुई विकल्प छन्– प्रतिनिधिसभा पुन:स्थापना वा निर्वाचन,’ उनले भने, ‘हामी दुवै विकल्पका लागि तयार छौं ।’

कांग्रेस आन्दोलनभन्दा पनि निर्वाचनको पक्षमा देखिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले भनेको छ देश, जनता र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा चाहिन्छ । अदालतले संसद् पुन:स्थापना गर्‍यो भने पनि वा निर्वाचनमा जान भने पनि हामी त्यो निर्णय स्वीकार गर्छौं ।’

अब हुने निर्वाचन विगतमा राजाद्वारा गराइएको निर्वाचन प्रणालीजस्तो नहुने उल्लेख गर्दै उनले निर्वाचनमा भाग लिनु संवैधानिक रहेको बताए । ‘संसद् विघटन नभएको भए पनि निर्वाचनको तयारीमा जुट्ने समय आइसकेकै थियो,’ निधिले भने, ‘निर्वाचनको तयारी एक–दुई वर्षपहिलेदेखि नै गर्ने हाम्रो पुरानै चलन छ ।’

प्रकाशित : पुस २८, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

विषाक्त मदिरा सेवनबाट धुनषामा मृत्यु हुनेको संख्‍या २१ पुग्यो

श्यामसुन्दर शशि

जनकपुर — विषाक्त मदिरा सेवन गरी धनुषामा मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर भर्ना गराइएकामध्ये २ जनाको अस्पतालमै तथा एक जनाको घरमा गरी आइतबार तीन जनाको मृत्यु भएको छ । यसरी जिल्लामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेको संख्या २१ पुगेको हो ।



फागु पर्व भन्दा एक साताअघिदेखि क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा सुरु भएको विषाक्त मदिरा सेवन गर्दा उक्त गाउँका १४ जनाको मृत्यु भइसकेको छ भने दुई दिन यता जनकपुर उपमहानगरपालिका-७ मुसहरी टोलका ६ जनाको तथा फागु पर्वकै दिन बुधबार राति परवाहामा एकजनाको मृत्यु भएको थियो ।

विषाक्त रक्सी सेवन गरी क्षिरेश्वर नपा १ का ४५ वर्षीय रामबहादुर यादव,जनकपुर-७ का जितेन्द्र सादा र रामो महराको आइतबार मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहका अनुसार– विषाक्त रक्सी सेवनगरी वडामा झगरु सदा, मिथिला सदा, बनारसी सदा तथा रामरती सदागरी कूल ६ जनाको मृत्यु भएको छ ।
मृतक इन्द्रजीत महराका भाई रंजीत महराका अनुसार एक सातायता क्षिरेश्वरनाथ नपा १ र २ रमदैयामा ब्रह्मदेव यादव, गुदरी महरा, रामनारायण महरा, रंजीत महरा, राजु महरा, दशैया महरा, श्रीदेव यादव, निरज यादव, रामबहादुर यादव, रामविलास मण्डल ,शत्रुघ्न मण्डल, विजय सदा, भुनटुन सदा र रामसखी देवी सदाको मृत्यु भएको छ ।

स्थानीयवासीका अनुसार विषाक्त रक्सी सेवन गरी बिरामी भएका राम ईश्वर महरा, प्रदीप सादा भरत मण्डल , मनिर नदाफ, भरत सादा तथा सीताराम यादवको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसबीच रमदैयामा विषाक्त रक्सी सेवन गरी मृत्यु हुनेहरुका आश्रित परिवारलाई पूर्वमन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ का सांसद रघुवीर महासेठ आइतबार घरदैलोमै पुगी जनही २० हजार नगद प्रदान गरेका छन् । उनले गाउँलाई मदिरामुक्त गाउँ घोषणा गर्नुपर्ने आह्वान पनि गरे ।

यसबीच क्षिरेश्वरनाथ नगरपालिका-१ का वडाध्यक्ष श्यामकिशोर यादवले सिँगै वडालाई मदिरामुक्त वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यसअघि पनि वडा समितिले जाँडरक्सी मुक्त वडा घोषणा गरेकै थियो । अब यस निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं,’ यादव कान्तिपुरसँग भने ।

यता जनकपुरनगरको परिक्रमा क्षेत्रलाई मदिरा मुक्त घोषणा गर्नुपर्ने अभियान सञ्चालन गर्दै आएका जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहले मृतकहरु परिक्रमा सडक भन्दा बाहिर गएर मदिरा सेवन गरेको बताएका छन् । आफूले सञ्चालन गरेको अभियान अझ कडाइका साथ कार्यान्वयन गर्ने उनले बताए ।
मदिरा सेवनबाट धनुषामा यसअघि पनि मृत्यु भएका थिए

विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने घटना धनुषाका लागी नौलो होइन । दुई वर्ष अघि पूर्वी धनुषाको कमला नगरपालिकामा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको थियो । कमला नपा ६ मडानका ३८ वर्षीय राजवीर महतो र ५२ वर्षिय गंगा पाश्वान , कमला नगरपालिका ५ लक्करका ३७ वर्षीय मनिक पाश्वान, ५५ वर्षीय रामचन्द्र पाश्वान र ४० वर्षीय रामनाथ पाश्वान तथा कमला नगरपालिका ६ सिन्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारी सहित ८ जनाको मृत्यु भएको थियो ।

२०४८ सालमा विषाक्त रक्सी सेवन गरी जनकपुरमा १९ जनाको मृत्यु भएको थियो भने २०६२ सालमा पनि आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो ।

प्रहरी प्रशासनको मिलिमतो तथा राजनीतिक दलका नेताहरुको संरक्षणमा अवैध मदिरा उत्पादन जिल्लामा बेरोकटोक हुँदै आएको छ । अवैध मदिरा उत्पादकहरु सरोकारवालाहरुलाई विधिवत महिनावारी रकम नै दिने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको दुवैतिर अवस्थित वीरेन्द्र बजार,गोदार, छघरिया, मुलावारी,यज्ञभूमि, हहिहरपुर, चिसापानी, लगायतका एक दर्जन अधिक गाउँमा खुल्ला रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको छ ।

प्रकाशित : चैत्र २, २०७६ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×