के थारूलाई औलो लागेको थिएन ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के थारूलाई औलो लागेको थिएन ?

अमेरिकी अनुसन्धानकर्ता टम रबर्टसनले अन्य समुदायमा थारुबारेको गलत बुझाइका तथ्य पत्ता लगाएका छन् । भन्छन्– ‘उनीहरुलाई औलो रोग लागेको रहेछ । बच्चालाई त झन् सताउने नै रहेछ ।’ 
रमेशकुमार पौडेल

चितवन — पाँच दशकअघिसम्म पहाडका बसोबासी तराई झर्नुपर्छ भन्दा हच्किन्थे । कारण थियो औलो । तराई झरे औलो लाग्छ, मरिन्छ भनिन्थ्यो । उपचार सहज भएर औलोको जोखिम घटेपछि तराईमा बसाइँ जानेको लहर चल्यो ।

थारूहरू तराईका मूलवासी हुन् । अरू समुदायलाई औलोको भय रहँदा पनि उनीहरूले तराई छाडेनन् । के थारूहरूलाई कहिल्यै औलो रोग लागेको थिएन ? उत्तर फरकफरक आउन सक्छ । तैपनि एकथरी विश्वास गर्छन्– थारूहरूलाई औलो लाग्दैनथ्यो । ठ्याक्कै कुरा के हो भन्ने जान्न सौराहा नजिक थारू बहुल गाउँ बछौलीको थारू संग्रहालयमा गएपछि पढ्न पाइन्छ ।

यहाँ थारू समुदायका बारेमा ऐतिहासिक जानकारी संग्रह गरिएका छन् । उत्तरहरू खोज्ने कुनै नेपाली वा थारू समुदायकै व्यक्ति नभएर अमेरिकाको मेरिल्यान्डका टम रबर्टसन हुन् । उनी अचेल बछौलीमै भेटिन्छन् । संग्रहालयमा थारू समुदायसँग सम्बन्धित अनेक सामग्री र विवरणहरू छन् । तिनका बारेमा अंग्रेजी र नेपाली भाषामा लेखिएको छ । टम ती तथ्यहरूलाई थारू भाषामा पनि किन नलेख्ने भन्दै संग्रहालयका अध्यक्ष वीरेन्द्र महतोसँग मिलेर काम गर्दैछन् । ‘अंग्रेजीमा हेन, नेपालीमा कुखुरा, थारू भाषामा चिङ्गना’ यस्तैयस्तै लेख्दै बसेका टम कुराकानीका क्रममा नेपाल र थारूसँग कसरी जोडिए भन्ने प्रसंग निकाल्छन् ।

सन् १९८८ मा पिसकोरको स्वयंसेवक भएर पहिलो पटक नेपाल आएका उनी खोटाङमा पढाउन गएका थिए । पछि उनले इतिहासमा विद्यावारिधि गरे । फर्केपछि अमेरिकामा नै पढाउन थाले । ‘मलाई लाग्यो अमेरिका र नेपालको इतिहास कसरी जोडिन्छ । त्यो खोज्न भन्दै म फेरि नेपाल आएँ,’ उनले भने, ‘यसैका कारणले नै म चितवन आएँ, थारू समुदायसँग जोडिएँ । बछौली गाउँमा म सन् २००७ मा नै पहिलो पटक आएको हुँ ।’

चितवनमा अमेरिकाको सहयोगमा निकै पहिले राप्तीदून परियोजना थियो । वि.सं. २०१३ सालमा चलेको सो परियोजनाले चितवनमा औलो नियन्त्रण गर्ने र बस्ती बसाउने काम गरेको थियो । पहिला चितवनको मैदानी क्षेत्रमा थारू समुदायको बसोबास थियो । राप्तीदून परियोजनापछि नै पहाडबाट पनि बसाइँ सरेर आउने क्रम ह्वात्तै बढेको हो । ‘अमेरिकाको सुरुवातको प्रोजेक्टमध्ये सबैभन्दा ठूलो यही राप्तीदून थियो,’ टमले भने ।

अमेरिकाले चलाएको त्यो परियोजनाको प्रभाव के थियो भनेर गाउँमै गएर बुझौं भन्ने उद्देश्यले आएपछि आफू थारू समुदायसँग जोडिएको उनले बताए । थारू समुदायका बारेमा शोध गरेका अर्का व्यक्ति अर्जुन गुनरत्नेको सल्लाहमा आफू बछौली झरेको उनले बताए । गुनरत्ने अमेरिकामा बस्ने श्रीलंकाका अनुसन्धानकर्ता हुन् । चितवन आएपछि टमलाई लाग्यो, अमेरिकासँग निकै पहिल्यै थारूहरू जोडिएका रहेछन् ।

किन कि जहाँ थारूहरू बसेका थिए त्यही ठाउँमा अमेरिकाको परियोजना चलेको रहेछ । त्यसपछि टमले थारू समुदायका अनेक पक्षहरू केलाउन थाले । समाजले जे जसरी बुझेको थियो पुराना अध्ययन अनुसन्धान र थारूका आफ्नै भोगाइले पनि त्यो गलत देखाउँथ्यो । ‘थारूका बारेमा धेरै अध्ययनहरू भएका छन् । तर ती अध्ययनहरू काठमाडौंमा छन्, अझ काठमाडौंभन्दा धेरै त हाम्रो देशको अभिलेखालयमा पो छन्,’ टमले भने ।

मान्छेहरू मान्दछन् थारूलाई औलो लागेन । तर सत्य त्यो थिएन । ‘मैले त्यो बेला चितवन आएका डाक्टरहरूको अध्ययन खोजें । अरू अनुसन्धानका तथ्य पनि भेट्टाएँ । थारू समुदायका बूढापाकाहरूलाई सोधे । सबैका अनुसार त उनीहरूलाई औलो रोग लागेको रहेछ । बच्चालाई त झन् सताउने नै रहेछ,’ उनले भने । उनले एक होइन अनेक अध्ययन अनुसन्धानका निष्कर्ष जाँचेर, पुराना मान्छेहरूलाई पनि सोधेर हिँडे ।

पुराना लेख, पुराना मान्छेको अन्तर्वार्ताबाट आफूले थारू समुदायका बारेमा अन्य समुदायको गलत बुझाइहरूबारे नयाँ तथ्य पत्ता लगाएको उनले बताए । ‘कागजमा लेखेको कुरा साँचो सत्य के हो ? थारू समुदायका पुराना मान्छेलाई सोधें । उनीहरूले बोलेको कुरा ठीक छ कि छैन, एक जनाले भनेर कहाँ हुन्छ ? कहिलेकाहीं गल्ती कुरा र विचार आउँछ,’ उनले भने, ‘धेरै कागज हेर्ने, धेरै मान्छेसँग सोध्ने, अरू देशसँग दाँज्ने पनि गरें ।’

औलोको बारेमा धेरै कुरा गलत बुझाइ रहेको उनले बताए । ‘यो एक फरकफरक स्वरूपको रोग हो । तराईमा हुन्थ्यो तर तराईमा सबै ठाउँमा भएन । तराईमा मात्रै हैन कतै पहाडमा पनि थियो । फेरि सार्ने लामखुट्टे फरकफरक हुन्छ । अरूको अनुसन्धानलाई आधार मानेर म निचोडमा पुगें,’ टमले भने । औलोले थारूका केटाकेटीलाई प्रायः सताएको र पाका थारूहरूलाई अरूको तुलनामा कम लाग्नुका साथै मृत्यु पनि कम भएको उनले बताए ।

त्यो बेलाका डाक्टरका लेख र पुराना मान्छेका अनुभवलाई उनले अध्ययनको आधार बनाएका छन् । यस्तै गरी अन्य विषयमा पनि यसरी नै निचोडमा पुगेका छन् । पाँच धारणा मात्रै हैन अन्यका बारेमा पनि खोज्दै/बुझ्दै छन् । थारू समुदायका अगुवा र थारूका बारेमा अनुसन्धान गरेकाहरूको राय लिएर निचोडलाई अनुमोदन गर्ने परिपाटी छ ।

बछौलीमा टम आउनुभन्दा पहिल्यै संग्रहालय खुलेर सञ्चालनमा आएको थियो । बछौलीमा संग्रहालय २०६३ सालमा सञ्चालनमा आएको हो । पहिला थोरै सामग्रीहरू थिए । पछि ऐतिहासिक फोटोहरू र अध्ययन अनुसन्धानका निष्कर्षहरू राख्न थालेको संग्रहालयका अध्यक्ष महतोले बताए । ‘टम आएपछि थारूका बारेमा विदेशी विज्ञहरूले गरेका अध्ययन अनुसन्धानका निचोडहरू राख्न सहज भएको छ,’ उनले भने ।

चार वर्षअघि विदेशी अनुसन्धानकर्ताहरूलाई समेटेर अन्तर्राष्ट्रिय सल्लाहकार समिति बनाएको उनले बताए ।

देश–विदेशमा रहेका थारूसम्बन्धी पुराना तस्बिरहरू संकलन भएको छ । १ सय २० वर्ष पुरानो फोटो पनि संकलन भएको छ । यस्ता काममा टमले सहयोग गरेको महतोले बताए । अमेरिका नेपाल आउजाउ गर्ने टम नेपाल आउँदा चितवन पुग्छन् । थारूका बारेमा सोधखोजमा जुट्छन् । उनी गत वर्ष पनि बछौलीमा थिए । अहिले पनि बछौलीमा छन् । नेपालमा फुलब्राइट नामक संस्थासँग आबद्ध उनी वर्षमा चार पाँच महिना नेपालमै बिताउँछन् ।

प्रकाशित : पुस २८, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले  बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित : पुस २८, २०७७ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×