कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमआरपीले कहिलेसम्म धान्ला ?

करिब ५ लाख मात्र बाँकी, गत वर्ष ९ वर्षयताकै कम एमआरपी जारी
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस संक्रमणका कारण नेपालसहित बाह्य मुलुकमा हवाई सेवा बन्द भयो । यसको असर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा पनि परेको छ । गत वर्ष नौ वर्षयताकै सबैभन्दा कम राहदानी जारी भएको छ ।

एमआरपीले कहिलेसम्म धान्ला ?

परराष्ट्र मन्त्रालयको राहदानी विभागका अनुसार सन् २०२० मा नेपालभित्र र बाहिर रहेका विभिन्न कूटनीतिक मिसनबाट २ लाख ४३ हजार ३ सय १४ मात्र राहदानी जारी भएको छ । नेपालले सन् २०१० डिसेम्बर २६ देखि एमआरपी प्रयोगमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) ले सन् २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानीको साटो एमआरपी प्रयोगमा ल्याउनुपर्ने निर्णय गरेको थियो । सन् २०१० मा एमआरपी आएको ५ दिनमै एक हजार १ सय १३ वटा जारी भएका थिए । विगत १० वर्षमा जारी भएका ६४ लाख ८४ हजार ६२ राहदानीमध्ये कूटनीतिकतर्फ ५ हजार ५ सय ४५, पदाधिकारीतर्फ १८ हजार १ सय २, साधारणतर्फ ६४ लाख ५८ हजार ७ सय १७ र ट्राभल डकुमेन्टतर्फ १ हजार ६ सय ९८ राहदानी जारी भएका छन् । विभागका अनुसार सन् २०२० को अन्त्यसम्ममा कुल ८४ हजार ८ सय २० वटा राहदानी प्राविधिक कारण प्रयोग गर्न नमिल्ने भएका छन् ।

गत वर्षको अप्रिल (चैत–वैशाख) मा त वर्षकै सबैभन्दा कम ११ एमआरपी मात्र जारी भएका छन् । गत वर्षको जनवरीमा ४७ हजार ८ सय ५५, फेब्रुअरीमा ४३ हजार ७ सय ७८ र मार्चमा २७ हजार २ सय ७८ एमआरपी जारी भएको थियो । तर अप्रिलको सुरुवातबाटै कोरोनाको संक्रमण बढेपछि हवाई यातायात बन्द र लकडाउनका कारण ११ राहदानी मात्र जारी भयो । मेमा एक हजार ७ सय ८८, जुनमा ५ हजार २ सय ७४, जुलाईमा १० हजार ५०, अगस्टमा ५ हजार ९ सय ९१, सेप्टेम्बरमा १२ हजार ३ सय ६२, अक्टोबरमा १६ हजार ८ सय २२, नोभेम्बरमा २९ हजार ७ सय र डिसेम्बरमा लकडाउनपछि सबैभन्दा बढी ४२ हजार ४ सय ५ राहदानी जारी भए । नेपालले सन् २०१० मा एमआरपी लागू गरेपछि कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभल डकुमेन्टतर्फ गरी जम्मा ७० लाख राहदानी छापेको थियो । ओली सरकारले सुरुवातमा नेपालमै प्रिन्टिङ मेसिन ल्याएर एमआरपी छाप्ने भनिए पनि तीन पटकको टेन्डर आह्वानपछि अक्टोबरमा फ्रेन्च कम्पनी आइडिमियासँग नयाँ एमआरपी छाप्न सम्झौता भयो । राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेका अनुसार नयाँ राहदानी आइपुग्न सम्झौता भएको करिब नौ महिना लाग्छ ।

नेपालले सुरुवातमा ७० लाख एमआरपी छापेकोमा अब करिब ५ लाख एमआरपी मात्र बाँकी छ । ‘लकडाउन सकिएपछि राहदानी लिने बढेका छन् । यही हिसाबमा जाने हो भने बाँकी ८ महिनासम्म अहिले भएकै राहदानीले धान्ने देखिन्छ,’ पाण्डेले कान्तिपुरसँग भने । उनले अहिले नयाँ राहदानी लिनेभन्दा पनि पहिलेको राहदानीको म्याद सकिएर नयाँ लिने व्यक्ति बढी आएको बताए ।

कोरोना संक्रमणका लागि श्रम गन्तव्यमा जाने धेरै कम भएकाले पनि राहदानी कम जारी भएको उनको भनाइ छ । नेपालले फ्रेन्च कम्पनीसँग सम्झौता गरेअनुसार समयमै नयाँ राहदानी प्राप्त नभए राहदानी अभाव हुने देखिन्छ । ‘त्यस्तो केही अवस्था आएन र अहिलेकै अवस्थामा राहदानी जारी भयो भने नयाँ राहदानी आउने बेलासम्म पुरानोले नै पुग्ने देखिन्छ,’ विभागका महानिर्देशक डोरनाथ अर्यालले भने ।


प्रकाशित : पुस २८, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?