कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकार रहेसम्म लोकतन्त्रमाथि खतरा : यादव

वीरगन्ज — जनता समाजवादी पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम सावित भएको बताएका छन् ।

ओली सरकार रहेसम्म लोकतन्त्रमाथि खतरा : यादव

उनले नेकपाका दुई/तीन नेताको झगडाका कारण प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको टिप्पणी गरे । असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेजको माग गर्दै जसपाले सोमबार वीरगन्जमा आयोजना गरेको जनप्रदर्शन एवम् विरोध कार्यक्रममा नेता यादवले ओली सरकार रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताए ।

अध्यक्ष यादवले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक अधिकार लगायतलाई समाप्त गर्ने षडयन्त्र अन्तर्गत प्रतिनिधीसभा विघटन गरिएको बताए । ‘ओली यही रोकिदैनन् । उनको अर्को टार्गेट प्रदेश सभा विघटन, देशमा संकटकाल लगाउने र संविधानलाई बर्खास्त गरि मुलुकलाई तानाशाही व्यवस्थातर्फ धकेल्ने हो,’ उनले भने । ओलीले अनुहार छोप्न कम्युनिष्टको मुखौटा लगाएको आरोप यादवले लगाए ।

‘मुखौटाभित्र रोयलिस्ट र प्रतिगमनकारीको अनुहार छ,’ उनले भने । नेपाली कांग्रेस अहिले ओलीसँग सेटिङमा रहेको पनि यादवले बताए । ‘लोकतन्त्रको घाटी निमोठेर ४/५ वटा नियुक्तिका लागि सेटिङ भइरहेको छ,’ उनले भने, ‘अबको ३/५ महिनापछि सत्ता आफ्नो कब्जामा आउछ भनेर केही कांग्रेसी मित्रहरु ताली बजाइरहेका छन् । यो सम्भव छैन, ओलीले चुनाव गराउँदैनन् ।’ विरोध कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलगायतले मन्तव्य राखेका थिए ।


प्रकाशित : पुस २७, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?