कोरोना खोप कार्यक्रमका लागि १६ हजार केन्द्र : स्वास्थ्य मन्त्री- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना खोप कार्यक्रमका लागि १६ हजार केन्द्र : स्वास्थ्य मन्त्री

५ हजार कर्मचारी,५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिँदै
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने बताएका हुन् ।

मन्त्री त्रिपाठीले सरकारले खोप अभियानका रुपमा सञ्चालन गर्ने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने, कर्मचारी समायोजनका काम समाधान गर्ने बताएका छन् । 'हामीले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई अलग राख्न चाहेका छैनाैं । खोप अरु देशसरह नै छिटोभन्दा छिटो ल्याइनेछ,' उनले भने । मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउँदै खाेपका लागि जोखिममा रहेका अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई प्राथमिकतामा राखिने उनले बताए । यसका लागि तथ्यांक संकलन पूरा भइरहेको छ। खोपलाई अभियान र मिसनको रुपमा लगिने मन्त्री त्रिपाठीकाे भनाइ छ ।

खोप आयातका लागि विभिन्न कार्यहरु भइरहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले ढुक्क हुन आग्रह गरे । उनले भने,' हामी खोपसँग सम्बन्धित विभिन्न कार्य गरिरहेका छौं,ढुक्क हुनुहोस् खोप आउँछ ।'

'खोपको आयात अन्य व्यापारिक बस्तुको जस्तो रहनेछ,यो राजनीतिक बस्तुका रुपमा विकासित भएको छ,' उनले भने,'खोप विकास गर्ने राष्ट्रका राजदूतहरुसँग हामीले छलफल गरेका छौं । भारत,रुस र यूएईका राजदूतसँग मैले छलफल गरेको छु ।'

मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्न तयार रहेको बताए । त्यस्तै,निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि अनुमति दिइने उनले बताए । 'हामी निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि रोक्‍ने मनिस्थितीमा छैनौं,' मन्त्री त्रिपाठीले भने,'पहिला सरकारले ल्याउँछ त्यसपछि निजी क्षेत्रका बारेमा निर्णय हुनेछ ।'

छिमेकी राष्ट्रभन्दा खोप लगाउन धेरै पछि पर्ने अवस्थामा नेपाल नरहेको मन्त्री त्रिपाठीले दाबी गरे ।

प्रकाशित : पुस २७, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

६० वर्ष नाघेपछि संस्कृति सोख

जीवनका ऊर्जाशील समय परिवारको लालनपालनलाई खर्चेकाहरुको फुर्सदिलो उमेर परम्परागत बाजा र नाचगानमा 
मधु शाही

बाँके — फित्ते चप्पल । शिरमा ढाका छोपी र फाटेको दौरा । प्रेमबहादुर रानाक्षत्री पाँच दशकअघि जन्मथलो सुर्खेत छाडेर तराई झर्दा यस्तै हुलियामा थिए । राजा महेन्द्रले बाँके र बर्दियामा पुनर्वास बसाउने योजना ल्याएको उनले आफन्तबाट सुनेपछि भर्खरै जंगल फाँडेर थातबास राख्ने हेतुले एकसरो लुगामा परिवारलाई थाहै नदिई बाँके आएका थिए ।

नेपालगन्जको बीपी चोकमा परम्परागत बाजा बजाउँदै प्रेमबहादुरको समूह । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

तर, पुनर्वासको जग्गा पाउन २२ वर्ष उमेर पुगेको हुनुपर्ने थियो । उनले आफन्तकै सल्लाहमा उमेर बढाएर हालको खजुरा गाउँपालिका–२ गौघाटमा चार बिघा जमिन पाए । ‘नयाँ ठाउँमा राजाले बस्न त भने,’ ६५ वर्षीय प्रेमबहादुरले नोस्टाल्जिक हुँदै भने, ‘घर यता छ तर मन उतै हुन्थ्यो ।’

जन्मथलो छाडेर नयाँ समाज निर्माण गर्न सजिलो पक्कै थिएन । फुसको झुप्रोभित्र उनले बिस्तारै भाँडाकुँडा जोडे । एक जोडी बस्तुभाउ पाले । खेतीपाती सुरु गरे । जंगलको मुखमा उराठलाग्दो बस्ती । उनको बसाइ पनि तरकारीमा नुन नपुगेझैं विरसिलो थियो । प्रेमले जन्मथलोदेखि ल्याएको एउटा अमूल्य गहना थियो, संस्कृति । जुन उनले चाहेर पनि पोख्ने थलो पाएका थिएनन् ।

चाडपर्वमा नाचगान गर्ने, पञ्चेबाजा बजाउने, मादल ठोक्नेजस्ता गतिविधि नयाँ बस्तीमा थिएन । प्रेमका अनुसार २०२७ सालमा १ सय ३ घर पुनर्वासमा आएका थिए । जसमध्ये अधिकांश सुर्खेतका हुन् । प्रेमले अनुभव गरेको संस्कृतिबिनाको बिरानोपन अरू छिमेकीले पनि महसुस गरेका रहेछन् । टोलका भीमबहादुर खत्री, नन्दबहादुर खत्री, रघुसिंह ठकुरी, फौदबहादुर ओलीलगायत ६० नाघेका बूढापाका भेटघाट गर्न थाले । आफूले जेजति बाजा बजाउन जानेका छन्, घरघरै जम्मा भएर नाचगान गर्न सुरु गरे ।

चार वर्षअघिसम्म उनीहरू घरेलु भाँडाकुँडामै बाजा बजाएर रमाइलो गर्थे । गाउँको पूजाआजा, दसैं–तिहारमा यो टोली नाचगान गर्न पुगेकै हुन्थ्यो । पुराना सुर्खेतका कुटकुटे गाना, सिंगारु नाच सुनाउँदै हिँड्न थाले । खुसीले दक्षिणास्वरूप दिएको पैसा बटुलेर उनीहरूले बाजा किन्ने निधो गरे । दुई वर्षयता सिंगारु नाच संस्कृति संरक्षण समाज नामक संस्था गाउँपालिकामा दर्ता गराएर उनीहरू औपचारिक वाद्यवादक भएका हुन् ।

संस्थाका ७० वर्षे पाका अध्यक्ष हुन्, भीमबहादुर खत्री । उनी बाजा समूहका मुख्य वादक हुन् । अर्थात् ‘नाइके’ बाजा बजाउन उनी मात्रै सिपालु छन् । उनका अनुसार नाइके बाजाले नै अरू बाजालाई ताल दिने गर्छ । भीमले नाइके बाजा बजाउन कुनै तालिम लिएका होइनन् । सानैमा छिमेकीले बजाएको हेर्दाहेर्दै उनले सिकेका हुन् । ‘उतिबेला दमाईंले बजाउने बाजा छुनु हुँदैन भन्थे,’ उनले भने, ‘अहिले उनीहरूले छोडे, हामीले बजाउन थालेका छौं ।’

खजुरा आएपछि भीमले बाजा, नाचगान, संस्कृति र संस्कारको महत्त्व बुझेको बताए । त्यसैले उनकै अध्यक्षतामा समूह गठन गरी पुर्ख्यौली बाजा, संस्कृति संरक्षणमा लागेका हुन् । ५५ वर्षे नन्दबहादुर खत्री टेम्को बजाउँछन् । उनले टेम्को बजाउन सानैदेखि जानेका थिए । पहिला पहिला गाउँघरमा एक जातिविशेषले बजाएर रमाइलो गर्ने चलन थियो । तर, अहिले उनी आफैंले बजाउन सिकेको सुनाए । ‘आफैंले जानेपछि मान्छे खोज्दै हिँड्न परेन,’ उनले भने, ‘फेरि अचेल बजाउने पनि कहाँ पाइन्छन् र ?’

रघुसिंह ठकुरी स्कुलमा सहयोगीको काम गर्छन् । जागिरे जीवनदेखि फुर्सद मिलाएर उनी बाजा बजाउनमा रमाइलो मान्छन् । समूहमा सिंगारु नाच्न सिपालु मानिने उनी पुर्ख्यौली संस्कृति हराउन लागेकामा चिन्तित छन् । तैपनि गाउँका केही युवालाई बटुलेर पूजा, व्रतबन्ध, विवाह र सांस्कृतिक कार्यक्रममा लिएर हिँड्ने गरेको उनले सुनाए । ६० नाघेका फौदबहादुर वली गीत गाउन माहिर छन् । खासगरी सुदूरपश्चिममा प्रचलित कुटकुटे नाचको गाना गाउन उनलाई आउँछ । उनका अनुसार कुटकुटे गाना निकै पुरानो गायन संस्कृति हो ।

दसैं–तिहारमा टुक्का जुराएर सिंगारु नाच नाच्न यो गीत गाउने गरिन्छ । बाजा बजाउनुअघि भगवान्को आराधना गरी कुटकुटे गानाबाट प्रारम्भ हुने उनको बुझाइ छ । ‘बुढेसकालमा संस्कृति जोगाउने पिरलो छ,’ उनले भने ।

प्रकाशित : पुस २७, २०७७ १४:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×