पुसमै गर्मी !

केही दिन मौसम सफा रहने भएकाले दिउँसोको समयमा अधिकतम तापक्रम बढ्ने

काठमाडौँ — अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधारणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरैले गर्मी महसुस गरे । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो । 

पुसमै गर्मी !

‘डिसेम्बर २२ पछि दिन लामा हुन थाल्छन्,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले भने, ‘सँगै सौर्य विकिरण भइरहेको छ, अर्थात् सूर्यको प्रकाशमा तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको हो ।’ दिन लम्बिँदै जाने र सूर्यले दिने प्रकाश पनि बढ्ने भएपछि स्वतः तापमान बढ्ने उनको विश्लेषण छ । ‘दिन जति लामा हुँदै जान्छन्, त्यसैगरी दिन ताता हुँदै जान्छन्,’ उनले भने, ‘प्रदूषण बढ्यो भने मात्र अधिकतम तापक्रम घट्दै जान्छ, तर न्यूनतम तापक्रम बढ्छ । त्यस्तो बेलामा पनि तातो महसुस हुन्छ ।’

गत साता राजधानीसहित देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रममा गिरावट आए पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधारणले प्रदूषण बढेको समयमा पनि चिसो महसुस गर्न पाएनन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार केही दिनयता राजधानीमा आर्द्रता (ह्युमिडिटी) बढिरहेको छ । ‘ह्युमिडिटी बढ्नेबित्तिकै मान्छेको शरीरले तातो महसुस गर्छ,’ उनले भने, ‘त्यो प्राकृतिक प्रक्रिया हो, अहिले भएको त्यही हो ।’

अबका केही दिन मौसम सफा रहने भएकाले दिउँसोको समयमा अधिकतम तापक्रम बढ्ने महाशाखाले प्रक्षेपण गरेको छ । मंगलबारसम्म देशका धेरैजसो भागको मौसम सफा रहने महाशाखाको आकलन छ ।

गत वर्षहरूमा डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा हुने भए पनि यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । १२ महिनामध्ये हिउँदका तीन (मंसिर, पुस र माघ) महिनामा जम्मा ३.५ प्रतिशत वर्षा हुन्छ । ‘यो वर्ष माघ सुरु हुन लाग्दा पनि हिउँदे वर्षा भएको छैन,’ वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, ‘वर्षा नभए पनि दिनहरू ताता हुँदै गएका छन् ।’

प्रकाशित : पुस २७, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?