कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी बा !

उहाँ सबैको ख्याल गर्नुहुन्छ, अभिभावकीय भूमिका छ । पहिले मनमोहनलाई पनि बा भनिन्थ्यो, श्रद्धाले उहाँलाई पनि बा भन्न थालियो । - निरु पाल
मान्छे विचारको नभई बा या दाइको पछाडि लाग्न थालेपछि सिद्धान्तको राजनीति हराउँछ र आफ्नाको व्यवस्थापनमै नेताहरुको दिन ढल्छ ।- हरि रोका, विश्लेषक
बिनु सुवेदी

काठमाडौँ — नेकपा फुट्ला फुट्लाजस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै गए । त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले । त्यतिखेर बैठकमा उपाध्यक्ष वामदेव गौतमले भनेका थिए, ‘प्रधानमन्त्रीलाई बा भन्नेहरूले एमाले दर्ता गराए ।’

केपी बा !

ओली अप्ठ्यारोमा परेका बेला पार्टी फुट्छ भनेर अर्को पक्षलाई दबाबमा पार्ने यो ‘भरपर्दो’ अस्त्र थियो र कुरा हो गत भदौ ३ गतेको ।

नेकपा ओली समूहका नेता महेश बस्नेतले गत पुस १३ गते सुर्खेतमा पुगेर ओली राजनेता भएकाले उनलाई अबदेखि सबैले ‘केपी बा’ भन्नुपर्ने तर्क राखिरहेका बेला काठमाडौंमा नेकपाकै अर्को पक्षका अध्यक्ष माधवकुमार नेपाल भन्दै थिए, ‘केपी ओलीको बा प्रवृत्तिविरुद्ध हामी संघर्ष गर्दै छौं ।’ जुन कुरा नेपालले २०६५ तिर तत्कालीन एमालेको केन्द्रीय कमिटीमा पहिलोपटक उठाएका थिए । ‘केपी बा’ मन पराउने/नपराउनेको तर्क एकातिर छँदै छ, प्रधानमन्त्री ओलीलाई ‘केपी बा’ का रूपमा जबर्जस्त स्थापित गरिएको छ ।

‘बा प्रवृत्ति’ र यसका गुण अवगुणबारे तल चर्चा हुनेछ, अहिले भने ओलीलाई कहिलेदेखि र किन बा भन्न थालियो भन्नेतिरै जाऔं । २०६४ को संविधानसभा चुनावमा तत्कालीन माओवादी सबैभन्दा ठूलो दल भयो भने एमाले ३४ सिट ल्याउँदै तेस्रो दल बन्यो । त्यतिखेरै युवा नेता बस्नेतसहितको समूहले युथ फोर्स गठनको कुरा निकाल्यो, त्यसको अभिभावकत्व लिए ओलीले । त्यही बेलादेखि युवा संघकी निरु पालले ओलीलाई बा भन्न थालिन् । ‘उहाँ सबैको ख्याल गर्नुहुन्छ, अभिभावकीय भूमिका छ,’ पालले भनिन्, ‘पहिले मनमोहनलाई पनि बा भनिन्थ्यो, श्रद्धाले उहाँलाई पनि बा भन्न थालियो ।’

सिद्धान्ततः कम्युनिस्टहरू नातावाद र कृपावाद रुचाउँदैनन् । २०४६ सालअघिको भूमिगतकालीन आन्दोलनमा अक्सर कम्युनिस्टहरू एक अर्कालाई मित्र भन्थे । १० वर्षे सशस्त्र द्वन्द्वका बेला माओवादी नेता–कार्यकर्ताले आपसमा कमरेड भन्थे । पछि सबै कम्युनिस्टहरूको साझा सम्बोधन कमरेड बन्दै आयो जुन विश्वका पुराना समाजवादी तथा कम्युनिस्ट पार्टीहरूले चलाएका हुन् । विशेषगरी समाजवादी र श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन ‘सेकेन्ड इन्टरनेसनल’ (सन् १८८९–१९१६) का छलफलहरूमा समानतामा आधारित सम्बोधन कमरेड चलेको थियो । सेकेन्ड इन्टरनेसनलबारे लेखिएको ‘फर्जिङ डेमोक्रेसी’ नामक किताबअनुसार सबै तहका नेताले सबै तहका नेतालाई कमरेड सम्बोधन गर्थे । समाजवादी तथा मार्क्सवादी आन्दोलनको सेकेन्ड इन्टरनेसनललाई समेत कम्युनिस्ट आन्दोलनको आधार मानेका नेपालका कम्युनिस्टहरूले सुरुमा त्यसैको नेपाली अनुवाद मित्र र पछि कमरेड सम्बोधन गर्न थालेका थिए ।

तर राजनीतिको ४० वर्षपछि एमाले नेतृत्व र त्यसको ५ वर्षमा ठूलो कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष बनेका ओली भने कम कमरेड र ज्यादा बा बने । उनी कसरी बा बने भन्ने सन्दर्भमा विश्लेषक राजेन्द्र महर्जन २०४७ सालतिर फर्कन्छन् । ‘४७ सालदेखि नै ओलीले युवा संघका मान्छेलाई आफूअनुकुल बनाउन महिनाको एक दिन भोज खुवाउँथे, युवा संघका साथीहरूले केपी कमरेडकामा भोज खायौं भनेको सम्झना छ,’ उनले भने, ‘खुवाउने र खानेबीच समानतामा आधारित सम्बन्ध हुँदैन । त्यसपछि विस्तारै ओली संरक्षक हुने र अरू संरक्षित हुने कल्चर सुरु भयो, कालान्तरमा संरक्षितले उनलाई बा भन्न थाले ।’

तत्कालीन एमाले महासचिव मदन भण्डारीको ०५० मा निधन भएपछि माधवकुमार नेपाल महासचिव बने । सुरुमा एउटै समूहमा रहेका ओली र नेपालबीच फाटो आउन थाल्यो । नेपालले बेवास्ता गरेका नेतालाई ओलीले संरक्षण गर्न थाले, उनीहरू ओलीप्रति नतमस्तक हुँदै गए, ओली कमरेडबाट विस्तारै बा बने । नेकपा केन्द्रीय सदस्य महेश बस्नेतको भनाइ पनि यही छ । ‘केही समस्या परेर माधव कमरेड, झलनाथ कमरेडकामा जाँदा टार्ने, हप्काउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘ओलीकहाँ गए १०/२० हजार दिएर पठाउने, कुनै अस्पतालमा भनेर पैसा कम गराइदिने, प्रहरी प्रशासनमा डिल गर्नुपर्ने हो कि, गरिदिनुहुन्थ्यो । बाले गर्नुपर्ने व्यबहार उहाँबाट पाउँथ्यौं ।’

०६४ मा जब निरु पालले ओलीलाई बा भन्न थालिन्, बस्नेतले पनि सुरु गरे । त्यसपछि युवा संघ र अखिलका ओलीपक्षीय नेता–कार्यकर्ताले ओलीलाई बा भन्ने, कतै यात्रामा निस्किए एस्कर्टिङ गर्ने, ओली पुग्ने ठाउँमा छुट्टै सान–सौकतसहितको आसन बन्दोबस्त गरिदिने, कार्यक्रम स्थलभर ओलीकै फोटो टाँस्ने परम्परा सुरु गरे । यो परम्परामा दुवै पक्ष रमाउन थाले । ‘अहिले त युवा र विद्यार्थीले उहाँलाई बा, मलाई दाइ भन्छन्,’ बस्नेतले सुनाए ।

पछिल्लो समय यसले झन् बढोत्तरी पायो । विश्लेषक तथा लेखक हरि रोका कमरेड भन्नेहरू टाढा र बा या दाइ भन्नेहरू नजिक हुँदै जाँदा कम्युनिस्ट पार्टीहरूमा सैद्धान्तिक विचलन आउन थालेको बताउँछन् । ‘तत्कालीन एमालेमा बा जस्तै माओवादीमा दाइ कल्चर रहेछ । यसले एउटा गुट विकास गर्दो रहेछ,’ उनले भने, ‘त्यसपछि आफ्नो कुरा राख्दा कमरेड भन्ने टाढा भए, बा दाइ भन्ने नजिक पुगेर परिवारको सदस्यजस्तो भए । त्यसले सैद्धान्तिक र राजनीतिक कुरालाई छल्ने नै भयो ।’ मान्छे विचारको नभई बा या दाइको पछाडि लाग्न थालेपछि सिद्धान्तको राजनीति हराउने र आफ्नाको व्यवस्थापनमै नेताहरूको दिन ढल्ने रोकाको भनाइ छ ।

नेता बस्नेत कमरेड र मित्रको सम्बोधनले आत्मीय सम्बन्ध नहुने भएकाले त्यसलाई परिवर्तन गरिएको तर्क गर्छन् । उनको भोगाइमा ओली एकदमै हेरविचार गर्ने नेता हुन् । ‘एकचोटि म उहाँको निवासमा पुगेको थिएँ, पुसका बेला स्वेटरमात्रै लगाएको थिएँ, उहाँले यसो हेर्नुभयो, युवा मान्छेलाई निमोनिया होला भनेर भित्रबाट रसियन कोट ल्याएर दिनुभयो,’ बस्नेतले भने, ‘अर्कोपटक म चीन जाने कुरा भएको थियो, केपी बाले कताबाट थाहा पाउनुभएछ, बालकोट पुगेको थिएँ, गाडीमा हालेर बागबजार पुर्‍याउनुभयो । कोटपाइन्ट अर्डर गरेर चीनमा कोटपाइन्ट, टाई लगाउनुपर्छ, हाम्रा युवा नेताको पारा ल्याङफ्याङे छ भन्नुभयो । यति धेरै केयर गर्ने मान्छे बा नभए को हुन्छ ?’

ओलीले अनेमसंघका धेरै कार्यकर्तालाई पनि तीजमा साडी किनिदिएका छन् । ‘उहाँले हरेक तीजमा अनेमसंघका नेतृहरूलाई साडी किनुहुन्थ्यो,’ नेकपा नेता उर्मिला अर्यालले भनिन्, ‘मलाई पनि धेरैपटक उपहार दिन खोज्नुभयो, मानिनँ । दिएर आफ्नो बनाउने खालको हुनुहुन्छ केपी कमरेड ।’ अहिले पनि ओलीको संरक्षकत्वमा रहेकालाई अप्ठ्यारो पर्दैन भनिन्छ । तर पार्टीका नेताहरूबीच एउटा संरक्षक र अर्को संरक्षित हुँदा त्यसले विस्तारै अधिनायकवादी चिन्तन बढाउँदै जाने विश्लेषक महर्जनको बुझाइ छ । ‘प्रश्न सोध्दा बा त रिसाउँछन्, बालाई छोराछोरीभन्दा आफैं जान्ने छु भन्ने लाग्छ,’ उनले भने, ‘सही भने पनि गलत भने पनि त्यसैको पछि दौडिने जमात बढ्छ ।’

ऐतिहासिक दस्ताबेजका अनुसार तत्कालीन उत्तर भियतनामका राष्ट्रपति हो ची मिन्हलाई काका सम्बोधन गरिन्थ्यो, भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई चाचा भन्ने गरिन्थ्यो । नेपालमा पृथ्वीनारायण शाहलाई राष्ट्रपिता भन्ने गरिन्थ्यो । गणतन्त्र आएपछि भने उनको भूमिकामाथि आलोचनात्मक टिप्पणी हुन थाल्यो । तर ‘केपी बा’ को उदय भयो । समाजशास्त्री मीना पौडेल यसलाई दुई कोणबाट हेर्नुपर्ने बताउँछिन् । ‘अहिले प्रधानमन्त्री र अरू नेताले पनि मेरा प्यारा दाजुभाइ दिदीबहिनीबाटै औपचारिक कार्यक्रमको सुरुवात गर्छन्, यो हिजो राजाले मेरा प्यारा प्रजा भनेको जस्तो हो,’ उनले भनिन्, ‘त्यसमाथि बा प्रवृत्तिले पहिलो त सामन्ती पितृसत्तात्मक संरचनालाई स्वीकार गरेर संस्थागत गरेको छ, दोस्रो दास मनोवृत्ति विकास गरिदिएको छ ।’ उनले यही प्रवृत्ति बढ्दै गयो भने मुलुकको सामाजिक, सांस्कृतिक विकासक्रम नै अप्ठ्यारोमा पर्ने बताइन् ।

‘बाले भनेका सबै ठीक हुन् भनेर संस्थागत गर्न थालियो भने सार्वजनिक नीतिमा पनि प्रभाव पर्न सक्छ, त्यो मान्छेले भनेको कुरा अकाट्य हुने स्थिति बन्न सक्छ,’ समाजशास्त्री पौडेलले भनिन्, ‘भोलि राजनीतिमा बा प्रवृत्ति संस्कृति नै बन्ने हो कि भन्ने डर हो । यसो हुँदा त्यो राजनीतिज्ञले भनेका कुरा बिनाविवाद राजनीतिक नीति बन्छन्, त्यसले असर पार्न सक्छ, जुन पहिले राजा रजौटाकालमा हुने गर्थ्यो ।’

प्रकाशित : पुस २७, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?