कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा चारो खोज्दै मंगोलियाको चरा

कर्‍याङकुरूङले बच्चा कोरल्ने र हुर्काउने गर्दागर्दै चिसो निकै बढ्छ । जमिन हिउँले ढाक्छ । आहाराको खोजीमा दक्षिण लाग्नेचराका समूहमा ठूलो झुन्ड भारतको गुजरात र राजस्थान पुग्छ । सानो समूह नेपालमा अडिन्छ ।
रमेशकुमार पौडेल

चितवन — मंगोलिया भन्ने देशको नाम धेरैले सुने पनि न त जाने नेपाली धेरै छन् न त्यहाँबाट नेपाल आउने । चितवनबाट पनि त्यो देश जाने–आउने झनै कति होलान् १ तर मान्छेले जोड्न नसकेको चितवन र मंगोलियालाई वर्षौंदेखि चराको एउटा प्रजातिले जोडेको छ । हिउँद लागेपछि मंगोलियाबाट ‘कमन क्रेन’ चराको एउटा हूल वर्षौंदेखि चितवनको दिव्यनगर फाँटमा आइरहेको छ ।

चितवनमा चारो खोज्दै मंगोलियाको चरा

‘नेपालको अन्यत्र खासै देखिँदैन । यो चरा मंगोलियाबाट हजारौं किलोमिटर दूरी पार गरेर अग्ला हिमशृंखला नाघेर चितवनको दिव्यनगर फाँटमा भने वर्षौंदेखि आइरहेको छ,’ चितवनको सौराहामा मुख्य कार्यालय रहेको चरा संरक्षणसम्बन्धी काम गर्ने संस्था बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरीले भने । चराको समूहलाई मंगोलियादेखि चितवनसम्म तान्ने मुख्य माध्यम धान फल्ने फाँट हो ।

कमन क्रेन अर्थात् लक्ष्मण सारसलाई हामी धेरैले ‘कर्‍याङ्कुरुङ’ भन्दा चिन्छौं । हो, तिनै कर्‍याङकुरुङ मंगोलियादेखि चितवनसम्म आइपुग्छन् । चितवनमा आएर उनीहरू बस्ने भनेको पश्चिम चितवनको नारायणी नदीकिनार नजिक दिव्यनगरमा हो । ‘धान काटेर भ्याएपछि उनीहरू आउँछन् । खेतमा चारो खोज्छन् अनि आडैमा रहेको नारायणीको बगरमा गएर झुन्डमा बस्छन्,’ अध्यक्ष चौधरीले भने ।

चराविद् हेमसागर बराल पहिले पहिले कोसी नदी आडको सप्तरी, सिरहा र कर्णाली नदी आसपासको कैलाली, बर्दियाका गाउँमा कर्‍याङकुरुङ देखिने बताउँछन् । ‘अहिले पनि फाट्टफुट्ट त्यता नदेखिने हैन तर हिउँदमा प्रमुख रूपमा चितवनको दिव्यनगरमा देखिन्छ,’ उनले भने । धानबाली र सिमसार जोगिएका कारण दिव्यनगरलाई कर्‍याङकुरुङले लगातार रोजी राखेको उनले बताए । अन्यत्र धानखेत कम हुँदै, सिमसार मासिँदै गएपछि कर्‍याङकुरुङ आउन छाडे । ‘दिव्यनगरमा बाली लगाउने परम्परागत कृषिको चलन बदलिएको छ । धान छाडेर तरकारी लगाउने, माछा–कुखुरा पाल्ने चलन बढेको छ । यसले गर्दा कर्‍याङकुरुङ पछि नआउन पनि सक्छ । त्यसैले स्थानीयलाई यसबारे बुझाउन थालेका छौं,’ बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए ।

चराविद् बरालका अनुसार कर्‍याङकुरुङ मंगोलियामा बच्चा कोरल्ने र हुर्काउने गर्दागर्दै त्यहाँ जाडो बढ्छ । जमिन पूरै हिउँले ढाक्छ । त्यसैले कर्‍याङकुरुङ खानाको खोजीमा दक्षिण लाग्छन् । उनीहरूको ठूलो समूह भारतको गुजरात र राजस्थान पुग्छ । सानो समूह नेपालमा अडिन्छ । आहारा भेटिए यो चरा धेरै संख्यामा नेपालमा अझै धेरै आउने सम्भावना छ तर मानवीय चाप र खेती प्रणालीमा आएको परिवर्तनले आउनै ठप्प हुने हो कि भन्ने जोखिम पनि छ ।

‘धान खेत दिव्यनगरबाहेक अन्यत्र पनि छ तर यहाँ नै कर्‍याङकुरुङ किन आएको छ भन्दा उसलाई बस्नका लागि उपयुक्त हुने नारायणीको बगर पनि छ । त्यसैले खाना र बासस्थल दुवै राम्रो भएका कारण मंगोलियाबाट यहाँसम्म चरा आए । यसलाई गर्व गर्नुपर्छ,’ सोसाइटीका अध्यक्ष चौधरीले भने । कर्‍याङकुरुङ चर्ने खेत जस्ताको तस्तै रहोस् भन्ने मुख्य ध्याउन्न चराप्रेमीको छ ।

‘तीन/चार बिघा फाँट जोगाउन सके राम्रो हुन्थ्यो । यस्ता चरा पाइन्छन् भनेपछि त्यो ठाउँ पर्यटकीय क्षेत्र पनि बन्नेछ । स्थानीयलाई लाभ पुग्छ, हामी यो काममा लागेका छौं,’ अध्यक्ष चौधरीले भने । चराबारे जानकार बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारी दिव्यनगरमा लगातार देखिए पनि पछिल्ला वर्षमा कर्‍याङकुरुङको संख्या घट्दो रहेको बताउँछन् । बढीमा १५२ वटासम्म यो चरा देखिएको थियो ।

‘पाँच वर्षअघि १५२ वटा देखेका थियौं । गत वर्ष ७०/८० वटा देखियो । १५२ बाट बढ्न सकेको छैन,’ बिडारीले भने । झरेको धान र ससाना किरा खान र आडको बगरमा बस्न आउने यो चरालाई चितवनमा आइरहने बनाउन सबैले मिलेर काम गर्नुपर्ने उनले बताए । भारतमा यो चराका लागि भनेर सरकारी तवरमै धान किनेर खेतमा छर्ने गरेको उनले बताए तर नेपालमा चरा संरक्षणमा लागेका बाहेक अरूले वास्ता गरेका छैनन् ।

प्रकाशित : पुस २६, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?