कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मुख्यमन्त्री गुरुङले कार्यकर्तालाई ‘प्रचण्ड–नेपाल मुर्दावाद’को नारा लगाउन लगाए 

‘गैरकम्युनिष्ट सरकार बन्न नदिन संसद् विघटन गर्नुपर्‍यो’
प्रकाश बराल

बागलुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा विभाजनपछि बनेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले भारतको इसारामा राष्ट्रवादी नेतालाई पर्छान खोजेको आरोप लगाएका छन् । 

मुख्यमन्त्री गुरुङले कार्यकर्तालाई ‘प्रचण्ड–नेपाल मुर्दावाद’को नारा लगाउन लगाए 

‘भारतले दिएको भाग खाएर उनीहरुले राष्ट्रवादी नेतालाई पर्छान् खोजेका छन्,’ जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका केपी ओली पक्षीय गुरुङले उनीहरुलाई भारतीय दलाल भएको आरोप लगाए । कार्यक्रममा उनले आरोपमात्र लगाएनन्, यी दुई नेताविरुद्ध कार्यकर्तालाई मुर्दावादको नारा पनि लगाउन लगाए । उनले मुर्दावादको नारा लगाउन आग्रह गरेपछि कार्यकर्ताहरुले मुर्दावादको नारा पनि लगाएका थिए ।

उनले दाहाल र नेपाल राष्ट्रघाती भएको भन्दै ‘उनीहरुविरुद्ध मुर्दावादको नारा लगाएर मात्र पुग्दैन, अब सबै मिलेर उनीहरुलाई नाङगेझार पार्नुपर्छ ।’

उनले संसद विघटन गर्ने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको कदमको खुलेर समर्थन गरे । ‘हुँदाखाँदाको कम्प्युनिष्ट सरकार ढालेर कांग्रेस, जनता समाजवादी पार्टीजस्ता पुँजिवादी र क्षेत्रीयतावादीलाई सरकार गठन गर्न दिनै हुँदैन,’ गुरुङले भने, ‘पुँजिवादी र क्षेत्रीयतावादीसँग मिल्न खोज्ने उनीहरु प्रतिगमनकारी हुन्, त्यसैले अग्रगामी परिवर्तनका लागि संसद भंग गर्नु परेको हो ।’ गैरकम्युनिष्ट सरकार बन्न नदिनका लागि नै प्रधानमन्त्री केपी शर्मा ओलीले यो कदम चाल्नु परेकोसमेत उनले दावी गरे ।

संविधान विघटन गर्दा प्रधानमन्त्रीको पक्षमा ६४ प्रतिशत सांसद रहेको भन्दै उनले संसदबाट अर्को सरकार बन्नै नसक्ने भएकोले भंग गरेको समेत बताए । ‘संसदमा रहेका ३६ प्रतिशतले कसरी सरकार बन्छ ? दलाल, पुँजिवादी र क्षेत्रीयतावादीलाई सरकारमा ल्याएर राष्ट्रियता बाँच्दैन,’ उनले भने । उनले संसदीय दलको बैठक नबसी दाहाल र नेपालले प्रधानमन्त्रीविरुद्ध अबिश्वास प्रस्ताव लगेको भन्दै उनीहरुलाई प्रदुषित नेताको संज्ञासमेत दिए ।

‘दुषित ठाउँमा बस्ने, दुषित निर्णय गर्नेबाट पार्टी जोगिएको छ,’ उनले भने, ‘व्यवस्था कमजोर हुन नदिन जनतामा जान लागिएको हो ।’ पद बाँडेर व्यवस्था र पार्टी जोगाउन नसकिने समेत उनले ठोकुवा गरे ।

संविधान जारी भएदेखि नै देशी बिदेशी शक्तिसँग मिलेर केपी ओलीलाई कमजोर बनाउन खोज्नेहरु चोइटिएको भन्दै पार्टी एक ढीका हुने पनि गुरुङले दावी गरे । उनले एक भोटले निर्वाचन जिते पनि केपीविरुद्ध ५ बर्ष कोही बोल्न नपाइने दाबी गरे ।

‘माधव नेपाललाई अध्यक्ष चाहिएको, प्रचण्डलाई प्रधानमन्त्री चाहिएको थियो, दुवैको सपना अब पूरा हुँदैन,’ उनले भने, ‘तेस्रो अध्यक्ष चाहिएको भए हामीले पनि दिन सक्थ्यौं, चोइटिएर जानु पर्थेन ।’ चुच्चे नक्सा पास गरेर राष्ट्रियता जोगाउन खोज्दा पनि प्रचण्डले भारतीय नेता भेटेर राष्ट्रियताविरुद्ध गुटबन्दी गरेको समेत गुरुङले आरोप लगाए ।

प्रकाशित : पुस २४, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?