कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नेकपा ओली समूह : संगठनात्मक रुपमा आक्रामक

बबिता शर्मा

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा राजनीतिक, संवैधानिक र कानुनी रुपमा रक्षात्मक देखिए पनि संगठनात्मक गतिविधिमा भने आक्रामक देखिएको छ ।

नेकपा ओली समूह : संगठनात्मक रुपमा आक्रामक

केन्द्रदेखि जिल्लासम्म कमिटीको पुनगर्ठन, जिल्लादेखि प्रदेशस्तरका भेला र प्रशिक्षण तथा प्रधानमन्त्री ओलीकै उपस्थितिमा काठमाडौंबाहिर सभा गरेर ओली समूहले संगठनात्मक गतिविधिमा तीव्रता दिएको छ ।

ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाको दाहाल-नेपाल समूह जनपरिचालनका दोस्रो चरणका संघर्षका कार्यक्रममा जुटिरहेका बेला ओली समूहले संगठनात्मक गतिविधिमा जोड दिएको हो । दाहाल-नेपाल समूह संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको राजनीतिक, संवैधानिक र कानुनी रुपमा प्रतिवादमा उत्रँदा ओली समूह भने संगठन विस्तारमा जुटेको छ ।

नेकपा विभाजनमा केन्द्रदेखि जिल्लासम्म ओलीको तुलनामा दाहाल-नेपाल समूह बलियो देखिएको छ । यसैलाई मध्यनजर राखेर ओली समूहले आफ्ना नेता कार्यकर्ता सुरक्षित राख्ने र विभिन्न कमिटीमा पद दिएर दाहाल-नेपाल समूहका नेता कार्यकर्ता तान्ने रणनीति लिएको छ ।

यही सिलसिलामा ओली समूहले ११ सय ९९ जनाको केन्द्रीय कमिटी बनाएको छ । ‘तल्लो तहका नेता कार्यकर्तालाई पनि केन्द्रीय कमिटीमा राखेर उनीहरुलाई दाहाल-नेपाल समूहमा जानबाट रोक्न खोजेको हो,’ ओली समूहका एक स्थायी कमिटी सदस्य भन्छन्, प्रदेश र जिल्लास्तरमा पनि यो रणनीतिअनुसार काम गर्छौं ।’

संसद् विघटन गर्ने आफ्नो कदमको चौतर्फी चुनौतीपछि दबाबमा आएका ओलीले आफ्ना अभिव्यक्तिमार्फत नागरिकको ध्यान अन्यत्र मोड्न खोजेका छन् । अर्कोतर्फ डाक्टरले धेरै दौडधूप नगर्न सुझाव दिएका कारण सिंहदरबारसमेत नगई बालुवाटारबाटै सरकार चलाएका ओली पार्टी विभाजनपछि निकै सक्रिय भएका छन् ।

ओलीले दैनिक दर्जनौं भेट, दिनदिनैजसो सार्वजनिक कार्यक्रममा सम्बोधन अनि तल्लैस्तरमा उत्रेर दाहाल-नेपाल समूहका नेताप्रति गालीगलौज गरेका छन् ।

पार्टी विभाजनपछि ओली पहिलो पटक शुक्रबार राजधानीबाहिर निस्के । शुक्रबार उनले धनगढीमा भएको जनसभालाई सम्बोधन गरे । त्यसअघि उनले लगातार राजधानीमा भएका कार्यक्रममा सम्बोधन गरेका थिए ।

पुस ७ मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्यो । बैठकले केन्द्रीय कमिटी विस्तार गरेको थियो । पुस ८ मा ओली समूहले सातवटै प्रदेशको भेला काठमाडौंमा गरेको थियो । पुस ९ मा बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्यो । बैठकलाई ओली र सचिवालय सदस्य रामबहादुर थापाले सम्बोधन गरेका थिए ।

पुस १५ मा काठमाडौंमै आफूनिकट सुदूरपश्चिम प्रदेशस्तरको कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गरेका थिए । कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्ट, पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले सम्बोधन गरेका थिए । पुस १७ गते आफूनिकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

पुस १७ गते ललितपुर महानगरीय कार्यकर्ता भेलालाई सचिवालय सदस्य थापाले सम्बोधन गरेका थिए । पुस १८ गते प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकमा सचिवालय सदस्यद्वय थापा, ईश्वर पोखरेल पनि सहभागी थिए ।

पुस १९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । उक्त भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । कार्यक्रममा उद्योगमन्त्री भट्टले, परराष्ट्रमन्त्री ज्ञवालीलगायतका नेता उपस्थित थिए ।

पुस १९ मा नै ओली समूहले रुपन्देहीले बुटवलमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । भेलालाई महासचिव विष्णु पौडेलले सम्बोधन गरेका थिए । यही समूहले पुस २० गते चितवनमा अगुवा कार्यकर्ता भेलाको आयोजन भएको थियो ।

भेलालाई सचिवालय सदस्य थापा र स्थायी कमिटी सदस्य शंकर पोखरेलले सम्बोधन गरेका थिए । पुस २० गते नै सिरहामा जिल्लास्तरीय कार्यकर्ता भेला भएको थियो । भेलालाई सचिवालय सदस्य पोखरेलले सम्बोधन गरेका थिए । यो समूहले जिल्लास्तरीय भेलाहरु पनि गरिरहेको छ ।

प्रकाशित : पुस २४, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?