कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पाइलट' ओलीले मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेले : नेता पौडेल 

गण्डकी — नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जहाजका दुईवटा पाइलटमध्ये एउटा पाइलट (केपी ओली) ले जहाज ढल्मलाएको बताएका छन् ।

'पाइलट' ओलीले मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेले : नेता पौडेल 

नेकपाको दाहाल-नेपाल समूहद्वारा पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले जहाज चलाउनको लागि दुईवटा पाइलट भएपनि एउटा पाइलटका कारण जहाज ढल्मलिएको बताएका हुन् ।

नेकपा (दाहाल–नेपाल) को गण्डकी प्रदेश इन्चार्जसमेत रहेका पौडेलले एउटा पाइलटकै भरमा भए पनि ढल्मलाएको जहाजलाई सही दिशातर्फ डोर्‍याउने बताएका छन् । जनता अस्थिर सरकारबाट दिक्क भएपछि ५ वर्षसम्म स्थायी सरकार होस् भनेर दिएको जनमतको कदर नगरी प्रतिनिधिसभा विघटन गर्ने नेकपाका अर्का पाइलट केपी शर्मा ओलीले मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेलेको उनले बताएका छन् । ‘चुनावको बेला जनतासमक्ष गरिएको वाचा पूरा नहुँदै प्रम ओलीले सपना तुहाइदिनुभयो,’ उनले भने, ‘समाजवाद निर्माण गर्ने हाम्रो सपना यत्तिकै छ । प्रतिनिधिसभा विघटन भएको छैन । बाँकी समयमा हामी हाम्रा वाचा पूरा गर्नेछौं ।’ प्रधानमन्त्रीका कारण जनतलाई देखाएका सपना पूरा नभएको भन्दै फेरि एक पटक जनता समक्ष नयाँ संकल्पसहित पुग्नुपर्ने उनले बताएका छन् ।

प्रधानमन्त्रीले काम गर्ने वातावरण नहुँदा संसद् विघटन गर्न बाध्य भएको जस्तो हावादारी गफ फैलाएको उनको टिप्पणी थियो । उनले प्रधानमन्त्रीलाई काम गर्ने बेलामा भएका गलत कामको नेकपा सिंगो पार्टीले आँखा चिम्लिएर साथ दिँदै आएको बताए ।

चुनाव जित्नु मात्र ठूलो कुरा नरहेको बताउँदै उनले भने, ‘चुनाव जुन पार्टीसँग मिलेर पनि जित्न सकिन्छ । तर हामीले सिंगो कम्युनिष्ट एक ढिक्का भएको हेर्न चाहेका थियौ । पाँच वर्षे स्थायी सरकार चाहेका थियौं । समृद्ध नेपालको परिकल्पना थियो । यसकारण पार्टी एकता भएको थियो । आज पार्टी फुटाउने खेलमा प्रम हुनुहुन्छ । उहाँकै कारण आज मुलुक दुर्घटनातर्फ मोडिएको छ ।’

मुलुक दुर्घटना हुनबाट जोगाउन आफूहरु सरकारविरुद्ध खबरदारी गर्न सडकमा आएको उनले बताए । स्थायी सरकार र समृद्ध नेपालको सपना बीचबाटोमा तुहाउन नहुने भन्दै उनले ७० वर्षदेखिको लामो इतिहास बोकेको कम्युनिष्ट पार्टी ओलीको सनकको भरमा टुट्न र फुट्न नदिने उनले बताए ।

प्रकाशित : पुस २३, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?