कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-नेपाल पक्षको जवाफ :  ‘निर्वाचन आयोगको पत्र असान्दर्भिक’

बहुमतले एउटा अध्यक्षलाई अनुशासनको कारबाही गरेर हटाएको र त्यस स्थानमा अर्कोलाई बनाएको बाहेक पार्टीमा कुनै फेरबदल नरहेकाले कानुनअनुसार त्यति विषयमात्रै दल दर्ता किताबमा अद्यावधिक गरिदिन आग्रह
राजेश मिश्र

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगले पठाएको चिठीलाई ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । उक्त पक्षले दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार आयोगलाई लेखेको छ । कुनै पनि पक्षबाट दलको आधिकारिकतालाई लिएर मागदाबी नआएपछि नेकपाको विवाद निरूपणको विषय थप पेचिलो बनेको छ ।

दाहाल-नेपाल पक्षको जवाफ :  ‘निर्वाचन आयोगको पत्र असान्दर्भिक’

आयोगले कानुनअनुसार प्रक्रिया पुर्‍याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भन्ने आशयको पत्र दाहाल–नेपाल पक्षलाई पठाएको थियो । दाहाल–नेपाल पक्षले आयोगले त्यसरी पत्र पठाएको विषय कानुनअनुसार नमिलेकाले त्यो असान्दर्भिक भएको जनाएको छ । उक्त पक्षले आयोगलाई बुझाएको पत्रमा त्यसको जवाफ दिइरहन नपर्ने व्यहोरा उल्लेख छ । आयोगले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा दाहाल–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो । दुवैतिर पत्रको व्यहोरा फरक थियो । ओली पक्षसँग उसले बुझाएको विवरणका विषयमा स्पष्टता खोजिएको थियो र त्यसका लागि कुनै समयसीमा निर्धारण गरिएको थिएन भने दाहाल–नेपाल पक्षलाई राजनीतिक दलसम्बन्धी दफा ४४ अनुसारको प्रक्रिया पूरा गरेर सात दिनभित्र आधिकारिकता मागदाबी गर्न भनिएको थियो ।

दाहाल–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले एउटै विवादमा दुई पक्षलाई अलग–अलग प्रकृतिको पत्र लेख्नु नै आयोगको गल्ती भएको बताए । ‘आधिकारिकता दाबी गर्न आऊ भनेर हामीलाई पत्र लेख्नुपर्ने कुनै कारण छैन, हामी आधिकारिक नै छौं, केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थितिमा बैठक गरेर त्यसको निर्णय आयोगलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘आयोगले दलको बहुमत हेर्ने हो । बहुमत सदस्यको उपस्थितिमा गरिएको निर्णयअनुसारको अभिलेखीकरण आयोगले गरे पुग्छ । बहुमत संख्या रहेको पक्ष स्वतः मूल पार्टी हो, हामीले दाबी गर्नुपर्ने नै होइन ।’

दाहाल–नेपाल पक्षकै कानुन व्यवसायी पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले पार्टीको नाम, चिह्न वा लोगोमा विवाद नरहेको दाबी गरे । उनले बहुमत केन्द्रीय सदस्यको बैठकले जम्माजम्मी एउटा निर्णय गरेको र त्यसको जानकारी आयोगमा पठाइसकिएको बताए । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को व्यवस्थाअनुसार एक जना अध्यक्षलाई हटाएर अर्को अध्यक्ष बनाइएको जानकारी आयोगलाई गराइएको उल्लेख गर्दै उनले त्यसैलाई दलको आधिकारिकता विवाद मान्न नपर्ने बताए ।

‘केन्द्रीय कमिटीमा उपस्थितिको हस्ताक्षर, माइन्युटलगायतका कागजात आयोगमा बुझाइसकेका छौं,’ उनले भने, ‘त्यहीअनुसार एउटा अध्यक्ष हटेको र अर्को व्यक्ति अध्यक्ष बनेको विषयलाई आयोगले आफ्नो अभिलेखमा अद्यावधिक गरिदिए पुग्छ ।’ दाहाल–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाएर उक्त स्थानमा वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । पार्टीको विधानअनुसार केन्द्रीय कमिटीको बहुमतले उक्त निर्णय लिएको प्रधानले बताए ।

ऐनको दफा ५१ मा दलको नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य विषयको जानकारी आयोगलाई ३० दिनभित्र गराउनुपर्ने प्रावधान छ । दाहाल–नेपाल पक्षले ऐनको सोही व्यवस्थाअनुसारको जानकारी आयोगलाई गराइसकेको जनाएको छ ।

उक्त पक्षले पदाधिकारी हेरफेरको जानकारी नियमावलीले तोकेको अनुसूची फाराम भरेरै दिइसकेको जनाएको छ । दलबाट त्यस्तो जानकारी प्राप्त भएपछि आयोगले त्यस विषयमा आवश्यक अध्ययन र जाँचबुझ गर्दा त्यस्ता कामकारबाही संविधान, ऐन, नियम र दलको विधानबमोजिम गरेको पाइएमा परिवर्तन भएअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने ऐनको दफा ५१ उपदफा (२) र (३) ले भनेको छ । आयोग स्रोतका अनुसार २०७५ जेठमा दल एकीकरण भएयता विवाद बढ्नुपूर्व नेकपाबाट दफा ५१ अनुसारको कुनै पनि परिवर्तन भएको जानकारी आयोगमा प्राप्त भएको छैन । यसअघि वामदेव गौतमलाई उपाध्यक्ष बनाइएको जानकारीसमेत नेकपाले आयोगलाई गराएको छैन । आयोगको अभिलेखमा विधान संशोधन गरिएको र गौतम उपाध्यक्ष बनेको रेकर्ड छैन ।

विवाद बढेपछि ओली तथा दाहाल–नेपाल पक्षबाट अलग–अलग ढंगले पार्टीमा भएका परिवर्तनहरूको जानकारी आयोगमा पुगेको छ । ओली पक्षले विधान संशोधन गरेर अर्का अध्यक्ष दाहालको कार्यकारी अधिकार खोसिएको तथा केन्द्रीय समिति १ हजार १ सय ९९ सदस्यीय पुर्‍याइएको लगायतका जानकारी आयोगलाई दिएको छ तर कुनै पनि पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार दलको मान्यतासम्बन्धी मागदाबी गरेर निवेदन दिएका छैनन् ।

त्यही दाबी नपरेपछि नेकपाको विवादमा प्रवेश गर्न कानुनतः समस्या परेको आयोगले भन्दै आएको छ । ‘दाजुभाइमा झगडा छ, त्यो सार्वजनिक भइरहेको छ, त्यसको जानकारी सबैतिर छ तर अंशबन्डाको माग छैन, त्यस्तो अवस्थामा अदालतले जबर्जस्ती अंशबन्डा गरिदिने कुरा भएन,’ एक निर्वाचन आयुक्तले भने, ‘आयोगलाई समस्या परेको यहींनेर हो । बाहिर हेर्दा आयोगले काम नगरेको देखिने भयो तर यथार्थमा विवाद निरूपण गर्नुपर्ने ढंगले कुनै पक्षको पनि मागदाबी आएको छैन ।’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ देखि ४६ सम्म दलको मान्यतासम्बन्धी विवाद निरूपणको व्यवस्था छ । दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरूबीच नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद उत्पन्न भए त्यसमाथि आयोगले निर्णय लिन सक्छ ।

त्यसका लागि ऐनको दफा ४४ अनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यसमाथि आधिकारिकता माग गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष दाबी पेस गर्नुपर्छ । ओली वा दाहाल–नेपाल पक्ष कुनैले ऐनको दफा ४४ अनुसार ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकता मागदाबी गरेका छैनन् । आयोग स्रोतले भन्यो, ‘त्यही भएर पनि आयोगले एक कदम अगाडि बढेर दुवै पक्षलाई पत्र लेखेको हो । दाहाल–नेपाल पक्षका नेताहरू आयोगमा आएका बेला आधिकारिकताकै कुरा गरेकाले त्यसअनुसार प्रक्रिया पूरा गरिदिनुस् भनेका हौं तर उहाँहरूले पठाउनुभएको पत्रमा मागदाबी आएन ।’

नेकपामा यतिबेला नाम, छाप, झन्डा र चिह्नजस्ता विषयकै विवाद छ । दुई पक्षले अलग–अलग ढंगले सार्वजनिक रूपमै त्यसमाथि दाबी गरिररहेका छन् । कार्यक्रमहरू गरिरहेका छन् । भाषणमा आफ्नो पक्ष आधिकारिक रहेको दाबी गरिरहेका छन् तर आधिकारिकताको विवादलाई किनारा लगाउने गरी कानुनी बाटोमा अगाडि नबढ्दा नेकपा विवाद थप पेचिलो बनेको छ । संविधानअनुसार वैशाख १७ गतेलाई घोषित प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि आयोगले माघको दोस्रो साता दल दर्ताको समय दिने तयारी गरेको छ । त्यसअगावै नेकपा विवाद नटुंगिए दल दर्ताको समयमा दुवै पक्षको विवादले थप उग्ररूप लिने र त्यसले चुनावी कार्यक्रम प्रभावित बनाउने बुझाइ आयोगको छ ।

प्रकाशित : पुस २२, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?