कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाविरुद्ध लाग्‍ने समाप्त हुन्छ : उपप्रधानमन्त्री पोखरेल

सन्तोष सिंह

धनुषा — उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाविरुद्ध उभिने चकनाचुर हुने चेतावनी दिएका छन् । ‘नेकपा पार्टीको एकताविरुद्ध लाग्नेहरु समाप्त हुन्छ’, उनले भने,‘नेकपा अमर रहन्छ । पार्टी कमजोर बनाउने स्वीकार्य हुँदैन । पार्टीविरुद्ध लाग्ने समाप्त हुन्छ ।’

नेकपाविरुद्ध लाग्‍ने समाप्त हुन्छ : उपप्रधानमन्त्री पोखरेल

नेकपाको छाप, झन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीले पाउने भन्दै कार्यकर्तालाई ढुक्का रहन विश्वास दिलाए ।

‘व्यक्तिगत स्वार्थ र पद नपाउँदा प्रधानमन्त्रीलाई ‘धक्क–मुक्की’ गर्दा प्रतिनिधिसभा विघटन गरी चुनाव मिति तोकिएको छ’, पोखरेलले भने,‘जनता विभाजनको विरुद्धमा रहेकोले ओली नेतृत्वको नेकपा चुनाव जितेर फेरि सरकार बनाउने छन् ।’ प्रधानमन्त्री ओलीले कुनै पनि निर्णय गर्न खोज्दा प्रचण्ड र माधवकुमार नेपाल ‘धक्क–मुक्की’ गर्दा पार्टीमा विवाद चुलिएको उनको आरोप छ ।

जनकपुरमा नेकपा ओली समूहले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहरी विकासमन्त्री प्रभु साहले तोकिएकै मितिमा निर्वाचन हुने बताए । ‘चुनावको विकल्प छैन’, उनले भने, ‘दाहाल–नेपाल भ्रमको राजनीतिमा लागेका डेटस्पायर नेता भयो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनताको काम गर्ने जन नेताहरु रहेको बताए । दाहाल–नेपालसँग टीका लगाएको र पकेटका नेतामात्रै रहेको बताए । प्रतिनिधिसभा विघटन निरंकुश नभएर लोकतान्त्रिक कदम भएको साहको दाबी छ ।

कानुन तथा न्यायमन्त्री लिला श्रेष्ठले मधेस र मधेसीलाई माया गर्ने नेता प्रधानमन्त्री केपी शर्मा ओली रहेकोले मधेस र मधेसीले साथ दिनु पर्ने बताए । माधव नेपाल, झलनाथ खनाल लगायतका नेताको भुलभुलैयामा नपरी ओलीको पार्टीमा लाग्न उनले आग्रह गरे ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोले मुलधारका कम्युनिस्टलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वाको नेकपामा सामेल हुन आग्रह गरेका छन् ।

प्रकाशित : पुस २१, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?