सीमा नाका खोल्न माग गर्दै जसपाको धर्ना- समाचार - कान्तिपुर समाचार

सीमा नाका खोल्न माग गर्दै जसपाको धर्ना

नवीन पौडेल

परासी — नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले र्यालीसहित धर्ना दिएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका १ मा रहेको महेशपुर भन्सारदेखि नेपाल भारत सीमासम्म दबाबमूलक र्‍याली गर्दै दशगजामा एक घण्टा धर्ना दिएको हो । 

जनता समाजवादीका जिल्ला संयोजक मुकुरजी गिरीको नेतृत्वमा जसपाका नेता कार्यकर्ता र व्यवसायी र्‍यालीमा सहभागी थिए । र्‍यालीमा सहभागीले सीमानाका बन्द हुँदा व्यवसाय ठप्प भएको, विवाह तथा धार्मिक उत्सव गर्न नपाएको भन्दै तत्काल नाका खोल्लुपर्ने माग गरेका थिए ।

केपी ओली सरकार विरुद्ध नाराबाजी गर्दै तत्काल नाका खोलेर जनजीवन सहज बनाउन माग गरिएको जनता समाजवादीका जिल्ला संयोजक गिरीले बताए ।

नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको रहेको भन्दै सीमानाका बन्द हुँदा व्यवसायसँगै परम्परागत रीतिरिवाजमा समेत असर परेको भन्दै स्वास्थ्य सर्तकता अपनाएर सीमा खोल्नुपर्ने सीमावर्ती बासिन्दाको माग छ ।

प्रकाशित : पुस २०, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

कालिम्पोङको म्युजिकल कन्सर्टमा भागदौड हुँदा दुईको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको  कालिम्पोङमा आइतबार राति आयोजित म्युजिकल कन्सर्टमा अचानक भागदौड मच्चिँदा दुई जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कालिम्पोङको मेला मैदानमा आयोजित कन्सर्टमा भएको भागदौडका क्रममा चार जना घाइते भएका छन् ।

कालिम्पोङ जिल्लाका प्रहरी प्रमुख हरिकृष्ण पाईका अनुसार भागदौडमा ६ जना घाइते भएका थिए जसमा दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भागदौडबाट ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बनिता गुरुङको मृत्यु भएको हो । उनीहरु दुवै कालिम्पोङको चन्द्रलोक क्षेत्रका बासिन्दा हुन् ।

काठमाडौं र दार्जिलिङका कलाकारहरुको सहभागितामा सांगितिक कार्यक्रम आयोजना भएको थियो । टिकट काउन्टरमा बाक्लो भीड थियो । मानिसहरू कार्यक्रममा प्रवेश गर्ने हतारोमा थिए । त्यही क्रममा अचानक भागदौड मच्चिएको र महिलाहरुलाई भीडले कुल्चिएको कालिम्पोङ नगरपालिकाका अध्यक्ष रवि प्रधानले जानकारी दिए ।

मृतकका परिवारले सांगितिक कार्यक्रम आयोजक विरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ ।

प्रकाशित : पुस २०, २०७७ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×