कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको तानाशाही पनि आन्दोलनले विस्थापित गर्नेछ : मुख्यमन्त्री राउत

अजित तिवारी

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परिवर्तनका लागि भएका हरेकखाले आन्दोलनका सामु तानाशाहरु झुकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यही हविगत हुने बताएका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई सन्की तानाशाहको उपमा समेत दिए । 

ओलीको तानाशाही पनि आन्दोलनले विस्थापित गर्नेछ : मुख्यमन्त्री राउत

‘कस्ता–कस्ता तानाशाहलाई त आन्दोलनले ठेगान लगाइदियो,’ जनता समाजवादी पार्टीको युवा प्रशिक्षण कार्यक्रममा आइतबार जनकपुरमा बोल्दै मुख्यमन्त्री राउतले भने,‘मधेस आन्दोलनले त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त झुके । जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्रलाई झुकायो । केपी ओली कुन खेतको मुली हो । यिनको तानाशाही पनि आन्दोलनले विस्थापित गर्नेछ ।’

उनले प्रधानमन्त्री ओलीले सत्ता र पद लम्ब्याउन प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । ‘पार्टीको झगडा, पदको लोभ र व्यक्तिगत टकरावका कारण ओलीले मुलुकलाई प्रतिगमनतिर धकेलेका छन्,’ उनले भने,‘ओलीको नीति नै छ, हम तो डुबे सनम, तुमको भि नहि छोडेगें ।’ उनले प्रतिनिधिसभा विघटनको परिकल्पना संविधानले नगरेकाले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको निर्णय उल्ट्याउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले प्रमुख प्रतिपक्षी दल कांग्रेसको ढुलमुले नीतिका कारण पनि संसद् विघटनको मुद्दा जेलिएको बताए । ‘कांग्रेसको मनमा लड्डु फुटिरहेको छ,’ मुख्यमन्त्री राउतले भने,‘चुनाव भयो भने बहुमतको सरकार बन्छ कांग्रेसको बुझाइ छ । तर, ओली चुनाव गराउन होइन्, सत्ता लम्ब्याउन संसद् विघटन गरेको बुझ्नुपर्छ ।’

प्रकाशित : पुस १९, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?