कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीचरा गणना सुरु

मनोज पौडेल

कपिलवस्तु — सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन शनिबारदेखि पानीचरा गणना सुरु भएको छ । मध्य हिउँदमा मुलुकका विभिन्न जिल्लाको तालतलैया क्षेत्रमा पाइने चराको संरक्षणमा सहयोग पुर्‍याउन वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिले गणनाको समन्वय गरेको हो ।

पानीचरा गणना सुरु

चरा संरक्षणमा काम गर्ने पक्षी संरक्षण संघलगायत देशका विभिन्न ठाउँमा क्रियाशील संघसंस्था पनि गणना कार्यमा संलग्न छन् । नेपालसहित विश्वभर एकैपटक जलपक्षी गणना भइरहेको छ । पहिलो दिन काठमाडौंको वाग्मती नदी र टौदहमा चराविद् र नेचर गाइडले गणना थाल्ने पानीचरा गणनाका लागि नेपाल संयोजक डा. हेमसागर बरालले बताए । त्यस्तै कोसीका दर्जन बढी ठाउँ र पोखराका १० ठाउँमा गणना हुनेछ । शुक्लाफाँटाका ६ ठाउँ र बर्दियाका ३ ठाउँमा पनि गणना गरिने छ । ‘शनिबारदेखि सुरु भयो,’ उनले भने, ‘आफ्नो अनुकूलता मिलाएर सबै क्षेत्रमा गणना गरिने छ ।’ पानीचरा पाइने क्षेत्र छुट्याएर पक्षी संरक्षणमा क्रियाशील संस्थालाई गणनाका लागि जिम्मेवारी दिइएको छ । यसका लागि ३ सय ५० जनाभन्दा बढी चराविद्, नेचर गाइड र स्वयंसेवी परिचालित हुनेछन् ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर, बिसहजारी र घोडाघोडी तालमा गणना गरिने छ । त्यस्तै लुम्बिनी क्षेत्र, सौराहा, बर्दिया, राप्ती नदी र नवलपरासीलगायत ठाउँमा चरा गणना गरिनेछ । हेटौंडा, दाङ, धनुषा, पश्चिम चितवन र रूपन्देहीको गैडहवा र गजेडी लगायत ठाउँमा पनि गणना हुनेछ । नदी, सिमसार, ताल र पोखरी गरी ५० भन्दा बढी ठाउँमा गणना गर्ने लक्ष्य छ । गणनाले दिने परिणाम हेरेर सरंक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्‍याउने चराविद् दिनेश गिरीले बताए । ‘यसले चरामा आधारित पर्यटन उकास्न सहयोग पुग्नेछ,’ उनले भने, ‘नेपालमा अहिले चरा पर्यटनको अवस्था आसलाग्दो छ । नेपाल आउने पर्यटकमध्ये ५ प्रतिशत हाराहारी चरा हेर्न नै आउँछन् ।’ पुस १८ देखि माघ ५ गतेसम्म पानीचरा गणना हुनेछ । गणनाको रिपोर्ट वैशाखमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

जलपक्षी आगमन घट्ने क्रम भएको बेलामै सचेत हुनुपर्ने डा. बरालले बताए । सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा सिमसार क्षेत्रको संकुचन तथा विनाशले गर्दा उनीहरूको आकर्षण नेपालतिर कम हुँदै गएको छ । उडान मार्गमा हुने अवरोध र कृषिमा रासायनिक मलको बढ्दो प्रयोगले उनीहरू जोखिममा परेका हुन् । पानी, खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तनले पनि समस्या थपेको छ । असुरक्षित बिजुलीका तार र अवैध चोरी सिकारीले पनि समस्या पक्षी संकटमा छन् । बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ ठाउँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम बढेको छ । सन् १९८७ देखि बर्सेनि सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । गणनाले पानीचराको अवस्था संकटमा पर्दै गएको देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपक्षी छन् ।

उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले उता चरालाई खानपानमा समस्या हुन्छ । जीवनयापन गर्न गाह्रो पर्छ । त्यही भएर हिउँदयामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुकाई फर्किने गर्छन् ।

प्रकाशित : पुस १९, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?