कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसो भुइँमै पढाइ

विप्लव महर्जन

सल्यान — करिब ८ महिनाअघि हुरीले छानो उडाएपछि बनगाडकुपिण्डे नगरपालिका–११, गरास्थित भेरी आधारभूत विद्यालयका बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । वैशाख २८ गते हुरीले विद्यालयको छानो फालेको थियो । छानो बनाइदिन नगरपालिकालाई बारम्बार भने पनि बेवास्ता गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए ।

चिसो भुइँमै पढाइ

‘पुसको चिसोमा समेत बालबच्चा चौरमा बसेर पढिरहेका छन्,’ उनले भने, ‘चिसाले बालबालिका बिरामी पर्छन् कि भन्ने चिन्ताले पनि सताएको छ ।’ केही विद्यार्थीमा रुघाखोकी र ज्वरो देखिएको उनले बताए ।

विद्यालय खलंगा सल्लीबजार सडकको छेउमा खोला नजिकै छ । बिहानदेखि आउजाउ गर्ने गाडीले धूलो उडाउँदा थप समस्या भइरहेको प्रअ ओली बताउँछन् । घाम कम लाग्ने र हावा चलिरहने हुँदा खुला चौरमा पढाउन निकै सकस भइरहेको उनको भनाइ छ । विद्यालयमा कक्षा १ देखि ८ सम्म करिब ३ सय विद्यार्थी छन् । हुरीले छानो उडाएपछि कक्षा २ र ४ का विद्यार्थीलाई चौरमा राखेर पढाउनुपरेको उनले बताए । ‘चिसो बढ्दै गएकाले विद्यालयसमेत बन्द गर्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने ‘कहिलेकाहीँ त आगो बालेर हात सेकाउँदै पढाउने गरेका छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर बुढाले छानो मर्मतका लागि बजेट नभएको बताए । ‘नगरपालिकासँग बजेट मागेका थियौं, अहिलेसम्म दिएको छैन,’ उनले भने, ‘पैसा पछि व्यवस्था गरौंला भन्छ, कसरी मर्मत गर्नु ?’ विद्यालय भवन मर्मतका साथै तारबारका लागि पनि उक्त क्षेत्रका सांसद र प्रदेश सरकारका मन्त्रीसँग बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए ।

बनगाडकुपिण्डे नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र रावतले विद्यालय भवन मर्मतका लागि बजेट इस्टिमेट गरी विनियोजनको तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित : पुस १८, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?