कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पद र सत्ताको लोभले नेकपामा विभाजन : थापा

'सर्वोच्च अदालतले संसद् विघटनको पक्षमा फैसला दिनेमा विश्वस्त छौं ।'

काठमाडौँ — नेकपा (ओली पक्ष)का नेता तथा गृहमन्त्री रामबहादुर थापाले पद र सत्ताको लोभले गर्दा विभाजन आएको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति को बन्ने कुराले नै पार्टी विभाजन गरिएको धारणा राखे ।

पद र सत्ताको लोभले नेकपामा विभाजन : थापा

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको काठमाडौं कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, 'पदलोलुप र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा विभाजन आएको हो । पछिल्लो पटक आएको विभाजन को प्रधानमन्त्री, को राष्ट्रपति, को अध्यक्ष, को मन्त्री, को राजदूत हुने भन्ने कुराले आएको हो । यो कुनै राजनीतिक विचारधारा बहसबाट भएको विभाजन होइन ।'

पार्टीबाट एक गुट अलग भएको भन्दै थापाले संसद् विघटन गर्नुको कारक पनि सोही गुट भएको आरोप लगाए । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेपछि 'साहसिक कदम चाल्दै संसद् विघटन' गरिएको थापाको भनाइ थियो । 'आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउनका निम्ती कृत्रिम आरोपपत्र खडा गरे । अध्यक्ष तथा प्रधानमन्त्री पनि मानिस भएकाले त्रुटि हुनसक्छ । अध्यक्षलाई कमरेडको रूपमा नभएर अपराधीको रूपमा खडा गर्नुभयो । देशको प्रमुखलाई, संसदीय दलको नेतालाई अपराधीको रूपमा खडा गर्नुभयो र प्रधानमन्त्रीबाट हटाउने योजना बनाउनुभयो,' थापाले भने, 'अविश्वास प्रस्ताव ल्याउने राजनीतिक कू को दिशातिर उहाँहरूको अडान यथावत देखिसकेपछि संसद् विघटन गरिएको हो । नेकपाको दुई तिहाई स्थिरताको संयन्त्रको रूपमा थियो । त्यो अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो र आफ्नै नेतृत्वलाई विस्थापति गर्न खोज्यो भनेपछि विघटन गरिएको हो ।'

प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम संवैधानिक हो कि असंवैधानिक भन्ने कुराको फैसला सर्वोच्च अदालतले गर्ने भएपछि त्यो कदम प्रतिगमन रोक्नका लागि साहसिक भएको थापाको भनाइ थियो । 'संवैधानिक हो कि असंवैधानिक भन्ने अदालतले फैसला गर्ला तर यो कदम ठूलो राजनीतिक र साहसिक कदम हो । अदालतले यो कदमको पक्षमा आदेश दिनेमा विश्वस्त छौं,' उनले भने ।

आगामी चुनावमा विकासका साथै संघीयता, गणतन्त्र र राष्ट्रियताको एजेन्डा लिएर जनतामाझ जाने थापाको भनाइ थियो । जनताले नै स्थिर सरकार दिने र विभाजित कम्युनिष्टलाई एक बनाउने उनले धारणा राखेका थिए । वर्तमान संसद्ले स्थायित्व दिन नसकेकाले सही नीति लिएर संसद् विघटन गरिएको थापाले बताए ।

संसद् विघटन गर्नु पार्टी नेतृत्वको सही मार्गचित्र भएको पनि थापाको भनाइ थियो । ओली सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो । त्यसपछि नेकपा विभाजन भएको छ । यसले कानुनी मान्यता पाउन भने बाँकी रहेको छ । दुवै पक्षले आफू वास्तविक नेकपा भन्दै दाबी गर्दै आएका छन् ।

प्रकाशित : पुस १८, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×