कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यावधि निर्वाचन घोषणाको बाहिर विरोध गर्ने कांग्रेसको भित्रभित्रै हड्डी हाँसेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ — नेकपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेस खुसी भएको बताएका छन् । नेकपा (ओली पक्ष)को काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा नेता श्रेष्ठले प्रतिपक्षी कांग्रेसले निर्वाचनको तयारी थालेको बताए ।

मध्यावधि निर्वाचन घोषणाको बाहिर विरोध गर्ने कांग्रेसको भित्रभित्रै हड्डी हाँसेको छ : मन्त्री श्रेष्ठ

पुस ५ गते मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनको निर्णयले गर्दा प्रमुख प्रतिपक्षी खुसी भएको श्रेष्ठको भनाइ थियो । काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले भने, 'प्रतिपक्षीको भित्रभित्र हड्डी हाँस्या छ, बाहिर असंवैधानिक भनेर गाली गर्नुपरेको छ, हामीले नजानेको हो र !'

'पर्खाइमा रहेको सरकार' भएकाले कांग्रेस मध्यावधि निर्वाचनबाट खुसी भएको श्रेष्ठको भनाइ थियो । उनले पाँच वर्षका लागि एकल रूपमा नेकपाले मत पाएर प्रतिपक्षमा बस्नुपरेको कांग्रेसलाई तीन वर्षमै चुनावमा जान पाउँदा खुसी लागेको र उसले निर्वाचन तयारी गरेको उनको भनाइ थियो । 'सबै निर्वाचन क्षेत्रमा सभा गर्दैं हिँडेको छ । त्यो भनेको चुनाव प्रचार हो,'उनले भने ।

संसद्को विशेष अधिवशेन बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने चाल पाएपछि सरकारले संसद् विघटन गरेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

आधिकारिक नेकपा केपी ओलीको नेतृत्वमा रहेको भन्दै श्रेष्ठले सूर्य चुनाव चिह्न आफूहरूको हुने बताए । स्थानीय तहको निर्वाचनमासँगै मिलेर जाऔं भन्दा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नमानेको, संघीय र प्रदेश सभा निर्वाचन सूर्य चुनाव चिह्न लिएर लड्ने सहमति गरेर दाहालले नमानेको भन्दै अहिले दाहालले सूर्य चिह्नमा दाबी गर्न नमिल्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।

संसद् विघटन गरेपछि नेकपा विभाजनको कानुनी लडाइँमा लागेको छ । व्यवहारिक रूपमा फुटिसकेको नेकपा अहिले कानुनी रूपमा फुट्न बाँकी रहेको छ । निर्वाचन आयोगमा दुवै पक्षले आफू नै नेकपा भनेर दाबी गरिरहेका छन् ।

प्रकाशित : पुस १८, २०७७ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?