कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाराजको ठगी धन्दा : पुराना फकाउँदै नयाँ ठग्दै 

(काठमाडौं), (चितवन) र (दाङ) — पीडितहरू सम्पर्कमा आउन थालेपछि चितवन जिल्ला प्रशासन कार्यालयले भण्डारीविरुद्ध छानबिनको तयारी गरेको छ भने मुख्य वाचक नै ठगी धन्दामा संलग्न रहेको खुलेपछि नारायणी किनारमा जारी महायज्ञमा श्रद्धालुको आगमन पातलिएको छ 

महाराजको ठगी धन्दा : पुराना फकाउँदै नयाँ ठग्दै 

पीडितहरू : हामीलाई चेक चाहिँदैन । एक–एक लाख अहिले दिनुस् । बाँकी चेक काट्नुस् ।

एक पीडित : मलाई त मेरो साढे चार लाख नै चाहिन्छ ।

महाराज : विस्तारै बोल्नुस् न । यो कुराले गर्दा कार्यक्रम प्रभावित भयो भने म दिन सक्दिनँ । मैले प्रस्ट भनेको छु, यहाँबाट लिएर पैसा दिन्छु ।

पीडितहरू : बरु हामी भोलिसम्म कुर्छम् । केही फरक पर्दैन ।

महाराज : भोलि नै एक–एक लाख दिन सक्दिनँ । यज्ञमा दुई लाखभन्दा एक रुपैयाँ बढी एक पैसा उठेको भए म तपाईंहरूको पिसाब पिउन तयार छु ।

पीडित : जहिले कमाउँछु दिन्छु भन्ने । पैसा खाको पनि ६ वर्ष भइसक्यो ।

महाराज : जम्मा ४ दिनको समय मागें मैले । आजको दिन गइसक्यो । म रोएर तपाईंहरूको खुट्टा ढोग्छु ।

पीडित : हामीले नसक्ने मागेको होइन । जम्मा एक–एक लाख मागेको हो ।

महाराज : म सक्दैसक्दिनँ । म मर्छु बरु । तपाईंहरूले मलाई पिट्नुस्, बरु थुक्नुस् । कुट्नुस् बरु ।

पीडित : पिटेर के हुन्छ ? रगत आउँछ ।

महाराज : म तपाईंहरूको खुट्टा ढोग्छु बरु । एक–एक ढोग्छु बरु । भोलि नै एक–एक लाख दिन सक्दिनँ ।

पीडित : मलाई ५ लाख दिने हो भने म अहिल्यै ढोग्छु बरु । दिने हो ? पैसा ढोगेर आउँछ ?

महाराज : यज्ञमा चन्दा उठेको भए पो मैले दिनु ।

वैशाख ३ देखि १३ सम्म फर्पिङको त्रिभुवन आदर्श आवासीय माध्यमिक विद्यालयमा आयोजित धान्याचल महायज्ञका क्रममा आफूलाई बालयोगेश्वर महाराज बताउने विजय भण्डारीसँग पीडितले गरेको संवादको अंश हो यो । भक्तपुर झौखेलका ५ जना पीडितलाई फर्पिङको महायज्ञमा देखेपछि ‘महाराज’ ले कोठामा बोलाएर कुराकानी गरेका थिए । उनीहरू बीचको कुराकानीको करिब आधा घण्टा लामो भिडियो कान्तिपुरलाई सोमबार प्राप्त भएको छ । भिडियोमा महाराज र पीडितबीच लेनदेनको विषयमा कुराकानी भएको छ । हरियो रङको भित्ता भएको कोठाको एक छेउमा पहेँलो बस्त्र लगाएर ‘महाराज’ बसेका छन् । उनका सामुन्ने पाँच पीडित बसेका देखिन्छन् । संवादमा महाराजले आफूले तिर्न बाँंकी रहेको १९ लाखको चेक काटिदिने र बाँकी पैसा महायज्ञबाट दक्षिणा लिएर तिर्छु भन्दै याचना गरेका छन् ।

‘महाराज’ले बारम्बार झुक्याएपछि आजित बनेका पीडितहरू भने जनही एक लाख नगद र बाँकी रकमको चेक नलिई नफर्कने अडानमा देखिन्छन् । ‘महाराज’ ले उनीहरूलाई विस्तारै बोल्न र लेनदेनको विषय थाहा भए महायज्ञमा असर पर्ने बताउँदै सम्झाइरहेको देखिन्छ । पैसा लिएका तर समयमै फिर्ता नगरेकाले पीडितहरू ‘महाराज’ सँग निकै आक्रोशित भएका कुराकानीबाटै प्रस्ट बुझिन्छ ।

२०७० फागुनताका ‘महाराज’ महायज्ञ आयोजना गर्न भन्दै भक्तपुरको झौखेल पुगेका थिए । आफ्नै ठाउँमा महायज्ञ लगाउन आएका बेला भण्डारीप्रति स्थानीय अमृत दाहालको खुबै श्रद्धा थियो । आफ्नोजस्तै तन्नेरी उमेरमै धर्मकर्ममा लागेका ‘महाराज’ देखेपछि दाहाललगायत स्थानीय युवाहरू खुबै प्रभावित भए । महायज्ञकै क्रममा नजिकिएका अमृतलाई एक दिन महाराजले भने, ‘अमेरिकामा पनि धार्मिक कार्य हुँदै छ । जाने भए भन्नु ।’ प्रलोभनमा परेर अमृतले ‘महाराज’ का हातमा ५ लाख रुपैयाँ थमाइदिए । तर पैसा हात परेपछि त महाराज अर्कै भए । उनले सुनाए, ‘गुरु भनेर श्रद्धा गरेको मान्छे ठग बनेर पो निस्किए ।’

यो पनि

अमृतका अनुसार स्थानीय रामप्रसाद दाहालसहित अन्य पाँच जनाले ‘महाराज’ लाई करिब २५ लाख रुपैयाँ बुझाएका थिए । तर पैसा दिएपछि ‘महाराज’ उनीहरूको सम्पर्कमा आउनै छाडे । खोजी गर्दा पत्तो लाग्यो, महाराजले अमेरिका लगिदिने भन्दै धेरैलाई ठगेका रहेछन् । महाराजको खोजीकै क्रममा अमृत र उनका साथीहरूले अन्य जिल्लाका पीडितलाई पनि भेटेका थिए । त्यसपछि २८ जना पीडितले प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्खास्त दिएका थिए । जाहेरीपछि महाराज पक्राउ पनि परे । एक करोड २७ लाख ठगी गरेको कसुरमा प्रहरीले अनुसन्धान अघि बढायो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले २०७३ मंसिर ६ मा ‘महाराज’ लाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गर्‍यो । अन्तिम फैसला हुनुअघि नै पुर्पक्षका लागि थुनामा बसेका कारण ‘महाराज’ २०७३ चैत १४ गते थुनामुक्त भए ।

त्यसपछि पनि ‘महाराज’ ले पीडितको रकम भने फिर्ता गरेनन् । अमृतसहितको टोलीले उनले फर्पिङमा महायज्ञ लगाउँदै छन् भन्ने थाहा पाएर त्यहीं पुगेका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले सुनाए, ‘कोठाभित्र घेरेर कराएपछि उनले सबैले बाँडेर लिनु भनेर एक लाख नगद र वैशाख ६ मा साट्ने गरी ४ लाख ५५ हजारको चेक थमाइदिए ।’ अमृतसहितका अन्यलाई पनि उनले तिनुपर्ने रकम उल्लेख गरेर छुट्टाछुट्टै चेक काटिदिए ।

पैसा पाइयो भनेर खुसी हुँदै फर्केका अमृतको खुसी धेरै दिन भने टिकेन । चेकमा उल्लेखित मितिमा चेक साट्न पुगेका अमृतले पैसा पाएनन् । उनको जस्तै अर्का पीडित सुशील खत्रीको ४ लाख ३० हजारको चेक पनि साटिएन । किनकि खातामा पैसा थिएन । खातामा पैसा आउला र चेक साटौंला भन्दै केही समय कुरे पनि । तर जति पटक बैंक धाउँदा पनि चेक साटिएनन् । सुशीलले भने, ‘दुई चोटि चेक बाउन्स बनाएर राखेको छु । आफ्नै पैसा उठाउन सास्ती पाइयो । अब के गर्नु ?’

कानुनी जञ्जालमा पीडित

दाङ, घोराहीका श्रीमन पोखरेलसहितका दीपक गिरी, सुशील चन्द, चितवन भरतपुरका शालिकराम ढकाल, लंकुका छविलाल अर्याल, कञ्चनपुरका रविकुमार यादव र जमुना अर्यालले २०७१ भदौ ११ गते प्रहरी परिसर काठमाडौंमा जोहरी दिएका थिए । उनीहरूले ३३ लाख ७० हजार रुपैयाँ ठगिएको भन्दै जाहेरी दिएका थिए । प्रहरीले उक्त जाहेरीको फाइल पछि जिल्ला सरकारी वकिलको कार्यालयमा पनि पठाएको थियो ।

श्रीमनले कान्तिपुरसँग भने, ‘अदालतमा मुद्दा पुगेको सम्म थाहा थियो । हामी टाढाका मान्छे । प्रहरीले मुद्दा कहाँ पुग्यो, के भयो कहिल्यै भनिदिएन ।’ भरतपुरका शालिकराम ढकाललाई पनि ‘महाराज’ ले ३ लाख रुपैयाँ ठगे । उनले पनि सामूहिक उजुरीमा आफ्नो नाम र फसेको रकम उल्लेख गरेका थिए । उनले सुनाए, ‘बैंक खातामा रकम राखेको प्रमाण र अन्य कागजपत्र पनि थिए । तर अनुसन्धान कहाँ पुग्यो भन्ने खबर नपाउँदा फसेको रकम उठेन ।’

कान्तिपुरलाई सोमबार मात्रै प्राप्त काभ्रे, कैलाली, दाङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, रूपन्देही, कास्की, बाग्लुङ, गोरखा, तेह्रथुम र संखुवासभाका ४० पीडितको नाम, ठेगाना र उनीहरूबाट ठगीएको रकमको विवरण प्राप्त भएको छ । पीडितमध्ये केहीले वर्षौं पहिले प्रहरीमा जाहेरी दिए पनि कतिपय रकम उठ्ला कि भन्ने आशमा देखिन्छन् ।

दलहरूको भूमिका कमजोर

‘महाराज’ को आवरणमा ठगी गर्दै आएका र नैतिक चरित्र गुमाएका व्यक्तिले सार्वजनिक स्थानमा महायज्ञ लगाइरहँदा पनि जिल्लास्थित राजनीतिक दलका नेताले मौनता साध्दै आएका छन् । यसको मुख्य कारण ठगी धन्दामा संलग्न व्यक्तिलाई मुख्य वाचक बनाएर गरिएको महायज्ञ आयोजक समितिमा दलकै नेताको संलग्नता हो । आयोजक समितिका संयोजक लालबहादुर दवाडी कांग्रेसका चितवन प्रदेश ३ ‘ख’ निर्वाचन क्षेत्रको सभापति हुन् भने सहसंयोजक विद्या आचार्य नेकपा जिल्ला सदस्य हुन् । आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलीप न्यौपाने नेकपाकै जिल्ला तहका नेता हुन् । नेकपाका जिल्ला सदस्य नारायण आचार्य सल्लाहकार संयोजक छन् ।

कान्तिपुरसँगको कुराकानीमा सत्तारूढ दल नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले यो पार्टीको आन्तरिक विषय भएकाले सल्लाह भइरहेको जिकिर गरे । सार्वजनिक स्थानमा भइरहेको धार्मिक कार्यमा ठगी प्रकरणमा जोडिएका व्यक्ति मुख्य वाचक हुनु र त्यसमा सर्वसाधारणबाट चन्दा उठाउन पार्टीका नेता सक्रिय रहनु कसरी पार्टीको आन्तरिक विषय हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पार्टीको मान्छेले गल्ती गरे भन्ने त लाग्दैन तर गल्ती गर्नेमाथि कानुनी कारबाही भने हुनुपर्छ ।’ चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले केही पीडितहरू आफ्नो सम्पर्कमा पनि आएका र त्यसबारे छानबिन गर्न प्रशासनलाई आग्रह गरेको बताए ।

‘महाराज’ ले सुनाएनन् पुराण

चितवन– अनेकौं ठगी काण्डमा मुछिएका विवादास्पद व्यक्ति नै प्रमुख वाचक भएको तथ्य खुलेपछि नारायणगढको नारायणी नदी किनारमा शनिबारदेखि सुरु भएको यज्ञमा सर्वसाधारणको उपस्थिति निकै पातलिएको छ । विशाल यज्ञ मण्डपमा सोमबार निकै थोरैमात्र सहभागी थिए । ठगी धन्दाबारे कान्तिपुरमा शृंखलाबद्ध समाचारहरू सार्वजनिक भएपछि सोमबार ‘महाराज’ मञ्चमा देखिएनन् । महायज्ञ आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलीप न्यौपानेले ‘महाराज’ काम विशेषले अन्यत्र व्यस्त रहेका दाबी गरे । उनले भने, ‘आज गुरु अर्कै काममा हुनुहुन्थ्यो । श्रवण न्यौपाने भन्ने अर्का गुरुले कथा बाचन गर्नु भयो । हाम्रो यज्ञ महिना दिन चल्ने हो ।’

न्यौपानेका अनुसार सोमबार मात्रै चार जनाले व्रतबन्ध गराएका छन् । चौरासी गर्ने र बिहेका लागि बरणी गर्नेले पनि नाम टिपाएको उनले बताए । ‘सोमबार पनि सहयोग राशि जुटेको छ । राम्रोसँग हिसाब गर्न पाएको छैन । आज मात्रै २ लाख रुपैयाँ उठ्यो कि । अरू दिनको पनि हिसाब गरेर कति उठ्यो भोलि बताउँला,’ उनले भने । महायज्ञबाट २५ करोड रुपैयाँ उठाउने लक्ष्य आयोजकहरूको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ‘महाराज’ भनिएका व्यक्तिबाट ठगियौं भन्दै मौखिक विवरण टिपाउनेहरू बढ्दै गएको बताए । ‘कुनै लिखित उजुरी आइसकेको अवस्था छैन । टेलिफोन गरेर हामी ठगिएका हौं भन्नेहरूचाहिँ छन् । उजुरी आएमा प्रक्रिया अगाडि बढ्ने हो,’ भट्टराईले भने । उजुरी आउँदै गए छानबिनका लागि तयारी गरिएको उनले बताए । ‘छानबिनमा जानुपर्ने गरेर कतै उजुरीहरू नआएका कारण हामीहरू अगाडि बढेका छैनौं,’ चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाले भने ।

ठगिएकाहरू भन्छन्, ‘ब्याज तिर्नै सकस’

दाङ– तुलसीपुर–१२ टरिगाउँस्थित तरुण सामुदायिक वन उपभोक्ता समूहले २०७१ वैशाख २१–२९ सम्म आयोजना गरेको नवाह ज्ञान महायज्ञका बेला गुल्मीका विजय भण्डारी मुख्य वाचक भएर आएका थिए । यिनै ‘महाराज’ ले गाउँलेहरूलाई सुनाए, ‘छोरा, नातिलाई अमेरिका लगिदिने भए भन्नुस् ।’ धार्मिक प्रवचन दिँदै हिँड्ने गेरु वस्त्रधारी ‘महाराज’ ले भनेको कुरा कसरी पो नपत्याउनु । त्यसमाथि अझ अमेरिकामा हुन लागेको २९ महिने धार्मिक अनुष्ठानमा जान चाहनेलाई अवसर रहको भन्दै छापिएको पर्चा नै देखाएपछि उनीहरूले ‘महाराज’ लाई पत्याए ।

छोरा दीपक गिरी र नाति (छोरीको छोरा) सुशील चन्दलाई अमेरिका पठाउन महायज्ञ आयोजकमध्येकै एक लीला गिरी राजी भइन् । महायज्ञ सकिएपछि विष्णु प्रपन्नाचार्यजी महाराजका नामले चिनिएका भण्डारी काठमाडौं गए तर फोन गर्न छोडेनन् । तत्काल पासपोर्ट बनाएर पैसा पठाउन आग्रह गरिरहे । ढिलो गरे भिसा नआउने भन्दै ताकेता गरेपछि लीलाको परिवार रकमको जोहो गर्न लाग्यो । आफूसँग पैसा नभएकाले उनीहरूले छोरी विन्दु चन्दका नाममा रहेको तीन कित्ता जग्गा धितो राखेर कृषि विकास बैंकबाट ८ लाख ऋण लिए । त्यतिले नपुगेपछि उनले आफ्ना, छोरी, बुहारीलगायतका १२ तोला सुनका गहना राखेर तुलसीपुरस्थित जयमाता दी सुन पसलबाट सयकडा ३ प्रतिशत ब्याजमा ३ लाख ५० हजार रुपैयाँ ऋण लिइन् । त्यतिले पनि अझै नपुगेपछि छोरी बिन्दुकै नाममा रहेको अर्को जग्गा दृष्टिबन्धक राखी स्थानीय दुर्गाप्रसाद जैसीबाट ५ लाख ऋण लिइन् ।

त्यसपछि सुशील चन्दका लागि भनेर २०७१ असार २७ मा राष्ट्रिय वाणिज्य बैंक टेकु शाखा काठमाडौंबाट विजय भण्डारीले पाउने गरी ३ लाख ५० हजार रुपैयाँ पठाइयो । साउन १५ गते प्रभु मनि ट्रान्सफरबाट विजय भण्डारीका नाममा ३ लाख र २ लाख गरी काठमाडौंबाटै पाउने गरी ५ लाख रुपैयाँ पठाए । यति रकम पाएपछि भण्डारीले फेरि लीलालाई निरन्तर फोन गरिरहे ।

सुशीलका लागि रकम जम्मा भइसकेको र अब दीपकका लागि रकम जम्मा गर्नुपर्ने भने । दीपकले त्यतिबेला ११ कक्षा पढेर छाडेका थिए । अमेरिका जान पाउने भएपछि उनले पासपोर्ट बनाए । भण्डारीले अहिले धार्मिक टोलीमा स्वयंसेवक बनाएर लैजाने र पछि उतै काममा लगाएर फर्कने वाचा गरेका थिए । सबै कुरा विश्वास गरेर विजयका बुवा चन्द्रदेव र आमा लीला भण्डारीलाई ८ लाख रुपैयाँ दिन तयार भए । रकम पाइने भएपछि भण्डारी आफैं गाडी चढेर टरिगाउँ पुगे । महायज्ञ चलाउँदा भण्डारी बास बसेको बालकृष्ण लामिछानेको घरमा भेट भएर २०७१ भदौ ३ गते लीला र चन्द्रदेवले ८ लाख रुपैयाँ नगद दिए ।

भण्डारीले जम्मा १५ लाख लाग्ने र अरू रकम अमेरिका पुगेपछि कमाएर तिरे पनि हुने बताएका थिए । रकम लिएको २ वर्ष बितिसक्दा पनि अमेरिका जाने केही लक्षण देखिएन । पासपोर्ट बनाएर शैक्षिक प्रमाणपत्र समेत भण्डारीलाई दिएका दीपक र सुशीलले लामो समय पर्खन सकेनन् । न पैसा फिर्ता आयो, न अमेरिका जाने केही सम्भावना देखियो । भण्डारीले सम्पर्क नगरी पन्छिने, सम्पर्क भए प्रक्रिया चलिरहेको छ भन्ने गर्न थाले ।

अन्तमा दीपकले पासपोर्ट पनि पाउन सकेनन् । त्यसपछि थप ऋण गरेर साउदी अरब गएका उनी दसैंताका मात्रै फर्किए । हाल उनी तुलसीपुरमा व्यवसाय गरेर बसेका छन् ।

लीलाको परिवारले अहिलेसम्म ऋण तिर्न सकेको छैन । ‘मासिक १० हजार रुपैयाँ बैंकलाई ब्याज मात्रै तिर्नुपर्छ । ब्याज कसरी तिरौं भन्ने चिन्ता हुन्छ,’ लीलाले भनिन्, ‘जग्गा सबै रोकिएका छन् । सुनको ब्याज तिर्न नसकेपछि लिलाम नै भयो । त्यतिबेलादेखि अहिलेसम्म सुन लगाउन सकेकी छैन ।’ धार्मिक गुरु मानेको मान्छेले ठगी गरेपछि दीपकका बुबा चन्द्रदेवलाई अचम्म लाग्यो । ‘अन्य विभिन्न ठाउँमा पनि मानिसहरू ठगिएको जानकारी पाएपछि एकजुट भएर प्रहरीमा जाहेरी दियौं । प्रहरीले पक्रेर मुद्दा चलाउँदा पनि अदालतले छोडिदियो,’ चन्द्रदेवले भने, ‘हामीले रकम दिएको प्रमाण पेस गर्दा पनि न्याय पाइएन ।’

सुशील चन्द त्यतिबेला स्नातक गर्दै थिए । अमेरिका जाने भनेपछि उनले त्यसैमा जोडबल गरे । पढाइमा ध्यान पुगेन । अहिले पनि उनले स्नातक पूरा गर्न सकेका छैनन् । ‘भएभरको जग्गा, सुन र सम्पत्ति सकिएपछि पढ्ने मन कसरी होस्,’ आमा बिन्दुले भनिन्, ‘अहिले स्थानीय निजी विद्यालयमा शिक्षण गरिरहेको छ । हामीलाई ऋण कसरी तिर्ने, ठगिएको रकम कसरी फिर्ता गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।’

टरिगाउँमा महापुराण लगाउँदा भण्डारी बालकृष्ण लामिछानेको घरमा बास बसेका थिए । उनले बालकृष्ण र उनकी श्रीमती सरितालाई बाआमा भन्थे । नजिक हुन अनेक उपाय गर्थे । अन्तमा उनलाई फकाएरै छोडे । उनीहरू छोरी शोभा र ज्वाइँ श्रीमन पोख्रेललाई अमेरिका पठाउन तयार भए । त्यसबापत उनीहरूले एकपटक ३ लाख र अर्कोपटक ४ लाख गरी ७ लाख रुपयाँ दिए । त्यसपछि सम्पर्कविहीन भए । ‘नौ दिनसम्म घरमा राखेर पालेको धार्मिक गुरुले यसरी फसाउँछन् भन्ने के थाहा ?’ बालकृष्णले भने, ‘जग्गा बेचेर आएको रकम थियो । छोरीज्वाइँको भविष्य राम्रो होला भनेर दिइयो । ठगिनुपर्‍यो ।’

महापुराण आयोजक समिति संयोजक लीलाधर भण्डारील राधाकृष्ण मन्दिर निर्माणका लागि त्यतिबेला महापुराण लगाएको बताए । उनले २७ लाख रकम जम्मा भएको र खर्च कटाएर १७ लाख बचेको सुनाए । चिनेका मानिसहरूबाट सम्पर्क भएपछि भण्डारीलाई पुराण वाचकका रूपमा बोलाएको तर स्थानीयहरू ठगिएको धेरैपछि मात्रै थाहा पाएको उनले बताए ।

ठगी गरिसकेपछि पनि भण्डारी नाम परिवर्तन गरी दुई वर्षअघि घोराही–११, खैरामा महायज्ञ लगाउन आए । खैरा आउँदा रकम दिनेहरूले समस्या नपारून् भनेर भण्डारीले पहिले लिएका पासपोर्ट र शैक्षिक प्रमाणपत्रहरू पठाइदिए । ‘तर खैरा आउँदैछु भनेका थिएनन् । हामीले टिभीमा देखेपछि यहाँ आएको थाहा पायौं,’ लीलाले भनिन्, ‘महायज्ञ भएकै ठाउँमा गयौं । हामी जानेबित्तिकै अगाडि बोलाएर मञ्चमा सम्मान गर्ने, आदर गर्ने गरेर ललाईफकाई गरे । पैसाको कुरा गर्दा महायज्ञ सकेर दिन्छु भने । अन्तमा पैसा नदिई भागे ।’

फेरि गतवर्ष घोराहीमा अर्को महायज्ञ लगाउन आएका बेला लीलाले रकम मागिन् । तर अहिले यस्ता कुरा गर्ने भन्दै उल्टै धम्क्याए । ‘लामो दबाब दिएपछि अन्तमा वेस्टर्न डेभलप्मेन्ट बैंकमा खाता खोल्नुहोस् रकम पठाइदिन्छु भने, मैले खाता पनि खोलें तर पैसा आएन,’ लीलाले भनिन्, ‘यो देशमा न्याय छ भने धार्मिक आवरणमा ठगी गर्ने यस्ता फटाहालाई हदैसम्मको कारबाही होस् । हाम्रो रकम फिर्ता होस् ।’

प्रकाशित : माघ १४, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?