‘महाराज’ विरुद्ध ठगी मुद्दाको चाङ- समाचार - कान्तिपुर समाचार

‘महाराज’ विरुद्ध ठगी मुद्दाको चाङ

धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा कैयौं जाहेरी परेका छन् ।
२८ जना पीडितले १ करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ परेका थिए । त्यसअघि पनि उनी पटक–पटक थुनामा बसेको खुलेको छ ।
जनकराज सापकोटा

काठमाडौँ — दाङ टरीगाउँको तरुण सामुदायिक वनले २०७१ वैशाख १९ गतेबाट सप्ताहव्यापी श्रीमद्भागवत महायज्ञ लगाउँदा स्थानीय लीला गिरीलाई औधी खुसी लागेको थियो । हिजोआज आफूलाई बालयोगेश्वर महाराज बताउने गुल्मी धुर्कोटवस्तुका विजय भण्डारी त्यसताका आफूलाई विष्णु प्रपन्नाचार्य महाराजको नामले चिनाउँथे ।

यिनै ‘महाराज’ ले तिम्रो छोरालाई अमेरिका पठाइदिन्छु भनेपछि उनी हौसिइन् । विश्वासमा परेर भनेअनुसार १६ लाख रुपैयाँ थमाइन् । त्यतिबेला उनले जग्गा र गरगहना बैंकमा धितो राखेर पैसा निकालेकी थिइन् । तर रकम बुझेपछि महाराज बेपत्ता भए अनि फसेको रकमले उनलाई रातदिन पिरोल्यो । कान्तिपुरसँगको कुराकानीमा उनले भनिन्, ‘एकैचोटि ऋणको भारीले थिचिँदा कैयौं दिनसम्म धरधरी रोएर रात कटाएँ ।’


त्यसो त करिब वर्ष दिनअघि दाङकै घोराहीमा आयोजित श्रीमाद्भागवत महायज्ञमा यिनै ‘महाराज’ आएका छन् भन्ने सुनेपछि उनी कुद्दै त्यहीँ पुगिन् । ‘महाराज’ सँग उनले सोझै भनिन्, ‘धर्म गर्छु भन्ने अनि मान्छे ठगेर धरधरी रुवाउने ?’ गिरीका अनुसार त्यतिबेला महाराजको ठाँटबाट बेग्लै थियो । उनी कालो रंगको सानदार गाडी चढेर हिँड्थे । पैसा मागेपछि ‘महाराज’ ले आफूलाई मार्ने धम्की दिएको उनले बताइन् ।


गिरीका अनुसार ‘महाराज’ को फन्दामा पर्ने उनी एक्ली होइनन् । फसेको पैसा उठाउन गरेको दौडधुपका क्रममा उनले कैलालीदेखि झापासम्मका पीडित भेटेकी थिइन् । उनले अनुमानित हिसाब सुनाइन्, ‘१ करोड ६० लाख रुपैयाँभन्दा धेरै ठगेका रहेछन् ।’ गिरीलाई अहिले पनि फसेको पैसा उठ्छ कि भन्ने आस छ । ‘तर नेतादेखि प्रशासनसम्म चिनजान भएका महाराजबाट कसरी पो न्याय मिल्ला र,’ उनले भनिन् ।


टरीगाउँमा सामुदायिक वनले लगाएको महायज्ञका बेला ‘महाराज’ स्थानीय बालकृष्ण लामिछानेको घरमा एक साता बसेका थिए । गुरु महाराज भनेर आफूले रातदिन सेवा गरेको लामिछानेले बताए । ‘यसरी सेवा गरेका महाराजले पछि आफैंलाई ठग्लान् भन्ने त्यतिबेला के पत्तो ?’ उनले भने । लामिछानेका अनुसार त्यतिबेला उनले छोरी ज्वाइँलाई अमेरिका पठाइदिन्छु भन्ने विश्वासमा परेर ‘महाराज’ को बैंक खातामा तीन लाख र नगदै चार लाख रुपैयाँ दिएका थिए । तर समयक्रममा महाराज सम्पर्कमै आउन छाडेपछि उनले खोजी सुरु गरे । ‘एकचोटि महाराजगन्जमा समातेर प्रहरीलाई पनि बुझायौं,’ उनले भने । उनका अनुसार चितवनका तीन जना र काभ्रेका ५/६ जनासहित १६ जनाले सामूहिक रूपमा ‘महाराज’ विरुद्ध जाहेरी दिएका थिए । ‘न फसेको पैसा उठ्यो, न ठगमाथि कुनै कारबाही भयो,’ उनले भने ।


धनगढीका रवि यादवले पनि काठमाडौं बस्ने जमुना अर्यालमार्फत ‘महाराज’ ले अमेरिका पठाउने कुरा सुने । त्यही भरमा उनले महाराजलाई भेटे र भनेअनुसार तीन लाख थमाइदिए । काम नभएपछि र पैसा फिर्ता गर्ने सुरसार नदेखेपछि उनले प्रहरीमा जाहेरी दिए तर पैसा फिर्ता पाएनन् । उनले सुनाए, ‘अरू नै पीडितको उजुरीपछि ‘महाराज’ जेल परेछन् । जेलबाट निस्केपछि पासपोर्ट फिर्ता दिन भन्दै फोन गरेका थिए ।’ यादवका अनुसार पासपोर्ट फिर्ता गरे पनि रकम दिएनन् ।


ललितपुर इमाडोलका बाबुराम ओझा ‘महाराज’ को फन्दामा परेका अर्का पीडित हुन् । उनले पनि छोरालाई अमेरिका पठाइदिने आश्वासनपछि ‘महाराज’ लाई ५ लाख रुपैयाँ बुझाए । ‘पैसा लिएपछि महाराज बेपत्ता भइहाले,’ उनले भने । ‘महाराज’ विरुद्ध कैयौं पीडितले प्रहरी र प्रशासनको दैलो धाएको सुने पनि उनले उजुरी गरिहाल्ने आँट गरेनन् । भने, ‘राष्ट्रपतिदेखि ठूला नेतासम्म सँगै बसेको फोटो थियो, उनको घरमा । त्यति ठूलो मान्छेसँग कसरी जोरी खोज्नु ? पैसा देलान् भन्ने आसले चुप बसेको काम लागेन ।’

***

‘महाराज’ को आवरणमा भइरहेको ठगी प्रकरणबारे कान्तिपुरले समाचार प्रकाशित गरेपछि कैयौं पीडितहरू सम्पर्कमा आएका छन् । पोखरा अमरसिंह चोक घर भएका टीकाबहादुर गुरुङ तिनैमध्येका एक हुन् । गुरुङका एक साथीले ‘महाराज’ ले अमेरिका लैजाने सुनाएपछि उनले कलंकीस्थित आश्रममै पुगेर २० लाख रुपैयाँ बुझाएका थिए । उनले भने, ‘हुन्छ हुन्छ भन्दै महिनौं झुलाए अनि पैसा पचाउने दाउ गरे,’ उनले भने । पैसा ठग्ने देखेपछि उनले आफ्ना केटाहरू लगाएर दुईपटक ‘महाराज’ लाई बाटामै समाते तर प्रत्येकपल्ट उनी याचना गर्थे र छिट्टै पैसा दिने बाचा गर्दै एक/डेढ लाख हातमा थमाइदिन्थे । यसो गर्दागर्दै महिनौं बित्यो ।


‘एकचोटि त बाटैबाट समातेर कालीमाटी प्रहरी चौकीमा पनि बुझाएको थिएँ’, उनले सुनाए, ‘तिरिहाल्छु भनेर भाका गरेपछि प्रहरीले कागज गराएर उनलाई छाडिदियो ।’ यसरी छुटेका महाराज कैयौं समय उनको सम्पर्कमै आएनन् । पछि पो उनले थाहा पाए– ‘महाराज’ त ठगी मुद्दामा केन्द्रीय कारागारमा थुनिएका रहेछन् । उनले भने, ‘महाराज जेलमै भएका बेला पनि मेरो कुरा भएको थियो तर फसेको पैसा अझै उठेको छैन ।’


***

धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा चलाएका महाराजविरुद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा कैयौं जाहेरी परेका छन् । २८ जना पीडितले एक करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ परेका थिए ।


२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । त्यसअघि नै उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारको थुनामा थिए । केन्द्रीय कारागारका अनुसार ‘महाराज’ २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भएका थिए । त्यसो त जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै महाराज उच्च अदालत पाटन पनि पुगे । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो ।


अदालतबाट पीडितकै पक्षमा फैसला भए पनि त्यतिबेला ठगिएकाहरूले पैसा पाएका छैनन् । भक्तपुर झौखेलका अमृत दाहालले अदालती फैसलापछि पनि ठगिएको ५ लाख रुपैयाँ नपाएको बताए । ६/७ महिनाअघि दक्षिणकालीमा आयोजित एक सप्ताहमै पुगी उनले ‘महाराज’ लाई भेटेर रकम मागेका थिए । उनले भने, ‘५ लाखको चेक काटेर दिए तर खातामा पैसा रहेनछ । अनि मैले बाउन्स गराएर राखेको छु ।’ अमृतका अनुसार अदालती आदेश कार्यान्वयन नहुँदा धेरैजसो पीडितले पैसा पाएका छैनन् । ‘अब न्याय खोज्न कहाँ मात्रै धाउनु ?’ उनले प्रश्न गरे ।


‘महाराज’ को यो पहिलो जेल यात्रा भने थिएन । २०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो । बुटवलका रमेश खनाल, काठमाडौं मच्छेगाउँका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दिएका थिए । विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयमा दर्ता गरेको थियो ।


लामो बहसपछि न्यायाधिकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । मुद्दा सुनवाइकै क्रममा उनी २०६८ साउन ३२ मा एक दिन, २०६८ फागुन ११ मा एक दिन र २०६९ कात्तिक १४ मा दुई दिन मुद्दाको पुर्पक्षका लागि थुनामा परेका थिए । थुनामा बसेको दिन कटाएर उनले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने देखिन्थ्यो ।


फैसलाको निर्णय पनि बुझ्न नआएपछि न्यायाधिकरणको कार्यालयले अन्तिम फैसलाको सूचना उनको घरमा टाँस गर्न भन्दै २०७५ चैत २४ गते जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । जिल्ला अदालतका तामेलदार चेतनारायण कँडेलले उनको घर नभेटेपछि धुर्कोट गाउँपालिका– ५ को वडा कार्यालयको भित्तामा फैसला टाँस गरेका थिए । न्यायाधिकरणको फैसलापछि उनी स्वतः फरार अभियुक्तका रूपमा दरिएका थिए । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे । तर राजनीतिक कनेक्सनका आधारमा उनी लुकिछिपी धार्मिक गतिविधिमा सक्रिय भइराखे ।


गत भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा ‘महाराज’ उपस्थित हुने सुइँको पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने तयारी थालेको थियो । जिल्ला अदालत गुल्मीका स्रेस्तेदार कृष्णशरण लामिछानेका अनुसार फैसला कार्यान्वयन गर्न प्रहरी, प्रमुख जिल्ला अधिकारीको बैठकसमेत बसेको थियो । तर चलाख ‘महाराज’ ले पक्राउबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थाहा पाएपछि प्रहरी पछि हट्यो । कान्तिपुरसँग कुरा गर्दै स्रेस्तेदार लामिछानेले ‘महाराज’ ले पक्राउ परिने डरले नाम नै बालयोगी महाराज राखेको कुरा बताए । उनले भने, ‘सर्वोच्चमा पुनरावेदन गरेकै कारण पक्राउ गर्न सकिएन ।’


ठगी मुद्दाकै कारण ‘महाराज’ गत वैशाखमा १९ दिन डिल्लीबजार कारागारमा थुनामा बसेको देखिन्छ । कारागार प्रशासनका अनुसार उनी ठगी मुद्दाको पुर्पक्षका लागि थुनामा बसेका थिए । गत वैशाख १३ मा जेल परेर ३१ गते थुनामुक्त भएको प्रशासनको अभिलेखमा देखिन्छ । तर प्रशासन शाखाबाट उनी धरौटीमा छुटेका हुन् कि कैद भुक्तान गरेर भन्ने यकिन विवरण थाहा हुन सकेन ।

कान्तिपुरसँग सम्पर्कमा आएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उपराष्ट्रपति उद्घाटन नगरी फर्किनुपर्ने घटनापछि कार्यक्रममा मुख्य वक्तामाथि आन्तरिक छानबिन थालिएको जानकारी दिए । उनले पीडितहरू जिल्ला प्रशासनमा सम्पर्कमा आउन सक्ने बताउँदै भने, ‘छानबिन सुरु गरिसकेका छौं ।’


ठगिएकाको लर्को

आफूलाई बालयोगेश्वर महाराज बताउने विजयले गत भदौ २८ देखि असोज ११ सम्म रिडीमा महायज्ञ सञ्चालन गर्दा स्थानीय बासिन्दा खुसी थिए । मान्छेको चहलपहलले गर्दा उनीहरूको व्यापार पनि बढेको थियो । जसै महायज्ञ सकियो, अनि स्थानीय व्यवसायीहरूले आफू ठगिएको चाल पाए ।


ओम अमात्यको रिडीमै खाद्यान्न व्यवसाय छ । ‘महाराज’ को विश्वासमा परेर उनले यज्ञका निम्ति सामान दिए । उनले सुनाए, ‘यज्ञ सकिएको यतिका महिना भइसक्दा पनि उधारो लगेको दुई लाख रुपैयाँ पाइनँ ।’ उनले रकम तिर्नका निम्ति ‘महाराज’ लाई बारम्बार ताकेता पनि गरे । तर ‘महाराज’ ले यज्ञ घाटामा गएको बताए र चितवनको यज्ञबाट पैसा कमाएपछि तिर्ने भन्दै भाका राखे । तारन्तार ताकेता गरेपछि ‘महाराज’ ले कात्तिक ९ को मिति राखेर चेक काटिदिए तर खातामा रकम नभएकै कारण चेक नसाटिएको अमात्यले बताए ।


रिडीकै किशोर श्रेष्ठको पेट्रोल पम्पमा पनि ‘महाराज’ ले ६ लाख १० हजार रुपैयाँ तिर्न बाँकी छ । उनले महायज्ञका बेला भक्तजन ल्याउने भन्दै बस र गाडीमा तेल हाल्न लगाएका थिए । अमात्यले जस्तै किशोरले पनि रकमका निम्ति ताकेता गरेपछि ‘महाराज’ ले कात्तिक २१ र २३ गते साटिने गरी दुईवटा चेक दिए । खातामा रकम नभएका कारण श्रेष्ठले पनि रकम निकाल्न पाएनन् । ‘फेरि भाका राखेर माघ २२ गते दिन्छु भनेका छन्,’ उनले भने ।


कान्तिपुरसँग सम्पर्कमा आएका रिडीका केही व्यापारी भने ‘महाराज’ को राजनीतिक र प्रशासनिक कनेक्सनका कारण ठगिएको विषयमा नाम नराख्ने सर्तमा मात्रै बोल्न तयार भए । उनीहरूले महायज्ञका नाममा भएको खर्च नतिरीकन ‘महाराज’ हिँडेको बताए तर यकिन रकम बताउन इन्‍कार गरे । एक जना पीडितले भने, ‘पैसा आउँछ भन्ने आसमा छु । फेरि पत्रिकासँग बोल्यो भनेर महाराज रिसाउनुभयो भने ?’


यज्ञ आयोजक समितिमा नेताहरू

ठगीका अनेकन शृंखलामा जेलिएका व्यक्ति नै महायज्ञको मुख्य वक्ता भएको खबर सार्वजनिक भएपछि नारायणी नदी किनारमा आयोजित महायज्ञमा स्थानीय दलका प्रतिनिधिहरू उपस्थित भएका छैनन् । उद्‍घाटनका लागि प्रमुख अतिथिको हैसियतमा

आएका उपराष्ट्रपति नन्दबहादुर पुन पनि शनिबार महायज्ञमा सहभागी नभई फर्किएका थिए ।


महायज्ञमा जिल्लास्थित नेताहरूसमेत बोल्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि दोस्रो दिनसम्म जिल्लास्थित दलका प्रतिनिधिहरू उपस्थित भएका छैनन् तर महायज्ञ गर्न गठन भएको आयोजक समितिमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसकै नेताहरू सक्रिय देखिन्छन् । महायज्ञ आयोजक समितिका संयोजक लालबहादुर दवाडी कांग्रेस चितवनको प्रदेश ३ ‘ख’ निर्वाचन क्षेत्रको सभापति हुन् । सहसंयोजक विद्या आचार्य नेकपाको जिल्ला सदस्य हुन् । आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलीप न्यौपाने नेकपाकै जिल्ला तहका नेता हुन् । नेकपाका जिल्ला सदस्य नारायण आचार्य सल्लाहकार समितिका संयोजक छन् ।


कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पत्रिकामा प्रमुख बाचकलाई जोडेर गम्भीर कुरा आएका कारण आफूहरू उद्‍घाटन कार्यक्रममा सहभागी नभएको बताए । उनले भने, ‘आर्थिक अपचलनको विषय सामान्य होइन । पत्रपत्रिकामा कुरा आएपछि त्यसलाई प्रस्ट पार्ने दायित्व सम्बन्धित व्यक्तिको हो । प्रस्ट पार्ने काम भएको छैन । त्यसैले हामी पार्टीगत रूपमा सहभागी भएनौं ।’


कांग्रेसका जिल्ला सचिव राजीव न्यौपाने भने आइतबार महायज्ञको कार्यक्रममा सहभागी भएको जानकारी आयोजकले दिए । ‘म त्यसरी पार्टीगत रूपमा प्रतिनिधित्व गरेर गएको होइन । व्यक्तिगत रूपमा गएको हुँ । आर्थिक पक्षको कुरा आएको छ । यसको निगरानी हुनुपर्‍यो । गुरुको सम्बन्धमा उठेका सवालहरूको निरुपण त्यही रूपमा हुनुपर्‍यो तर जिल्लाको ठूलो यज्ञमा जाँदै नजाने भन्ने हुँदैन,’ उनले भने ।


सत्तारूढ नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले यज्ञका प्रमुख बाचकका विषयमा सवाल उठे पनि आयोजकहरूले कमजोरी नगरेको दाबी गरेका छन् । ‘आयोजकहरूले कमजोरी गरेको विषय होइन । गुरुको विषयमा पत्रिकामा जे कुरा आयो, उहाँबाट त्यसो भएको हो वा होइन प्रस्ट पारेर गल्ती भएको हो भने त्यसको भागिदार उहाँ हुनुहोला, हामीले हस्तक्षेप गर्ने विषय भएन,’ परियारले भने ।


महायज्ञ आयोजक समितिका सल्लाहकार संयोजक नारायण आचार्य ‘गुरु’ का सम्बन्धमा उठेका विषयहरू चाँडै नै प्रस्ट पारेर अगाडि जाने बताउँछन् । ‘हामी यज्ञकै चटारोमा छौं, पार्टीका प्रतिनिधिहरू पनि आउन थाल्नुभएको छ, आइतबार कांग्रेसका जिल्ला सचिव आउनुभयो । यज्ञ राम्रै तरिकाले अगाडि बढेको छ । हामी मंगलबारसम्म गुरुका सम्बन्धमा उठेका हरेक टिप्पणीको जवाफ दिने तयारीमा छौं,’ उनले भने ।

-बुटवलबाट सन्जु पौडेल र चितवनबाट रमेशकुमार पाैडेल

प्रकाशित : माघ १३, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

आपसमा बाझिने गरी उच्च शिक्षाका तीन विधेयक ल्याइँदै

सुदीप कैनी

काठमाडौँ — शिक्षा मन्त्रालयले अघिल्लो संसद् अधिवेशनमा दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयक पारित नहुँदै केही प्रावधान बाझिने गरी उच्च शिक्षाको एकीकृत छाता विधेयक संसद् लाने तयारी भइरहेको छ । ती उच्च शिक्षासम्बन्धी विधेयकसँग बाझिने गरी तयार पारिएको योगमाया आयुर्वेद विश्वविद्यालयको छुट्टै विधेयक हालै संसद् पुगेको छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको उक्त विधेयक हुबहु संसद्‍बाट पास भए सबै विश्वविद्यालयका ऐन खारेज हुनेछन् । 

शिक्षा ऐन २०२८ लाई विस्थापित गर्न संघीय शिक्षा ऐन जारी गर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउँदै आएका थिए । सरकारले विद्यालय र प्राविधिक शिक्षाको छुट्टाछुट्टै विधेयकको मस्यौदा पनि तयार गरिरहेको छ । संघीय शिक्षा विधेयकको एकीकृत मस्यौदा फुटाएर छुट्टाछुट्टै विधेयकको तयारी गरिएको हो । सत्तारूढ दल, शिक्षामन्त्री पोखरेल र मन्त्रालयका उच्च अधिकारी प्रस्ट नहुँदा आपसमा बाझिने प्रावधान राखेर विधेयक आइरहेको शिक्षाविद्हरूले टिप्पणी गरेका छन् ।

शिक्षा सचिव महेश दाहालले उच्च शिक्षासम्बन्धी तीन विधेयकका विषयमा तालमेल नमिलेको स्वीकार गरे । ‘तत्कालका लागि विश्वविद्यालयको ऐन संशोधन गर्न लागिएको हो,’ उनले भने, ‘दीर्घकालीन रूपमा उच्च शिक्षालाई नियमन गर्न एकीकृत छाता ऐन ल्याउने प्रक्रिया अघि बढेको छ । योगमाया पनि पछि छाता ऐनभित्रै आउँछ ।’ उच्च शिक्षा ऐन सबै विश्वविद्यालयका लागि साझा बन्ने उनले प्रस्ट्याए ।

ऐनमा भइरहेको संशोधन विधेयक, त्यसलाई विस्थापित गर्न अर्को विधेयक र बाझिने गरी विश्वविद्यालय विधेयक अघि बढाइएका हुन् । संसद् पुगेका र मस्यौदाका क्रममा रहेका तीन विधेयकका अधिकांश व्यवस्था आपसमा मिल्दैनन् । केही नेपाल ऐन संशोधन विधेयकमा विश्वविद्यालयका पदाधिकारीलाई पदबाट हटाउने प्रावधान छ । उच्च शिक्षा विधेयकको मस्यौदामा विश्वविद्यालयहरू उच्च शिक्षा परिषद्‍बाट सञ्चालन गर्ने व्यवस्था छ । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने पद्धति अन्त्य गरेर परिषद् गठन गर्ने व्यवस्था मस्यौदामा गरिएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय ऐनमा भने प्रधानमन्त्री नै कुलपति रहने उल्लेख छ । उच्च शिक्षा ऐन जारी भए योगमाया विश्वविद्यालय विधेयक संसद्‍बाट पारित भए पनि खारेज हुन्छ । उच्च शिक्षा ऐनको मस्यौदामा विश्वविद्यालयलाई परिषद् मातहत सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक छलफलका क्रममा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेको थियो । सांसदहरूले लगत्तै उच्च शिक्षा विधेयक नआउने भन्दै आंशिक संशोधन गरेर संसद्‍बाट फर्काइदिए ।

शिक्षाविद् विद्यानाथ कोइरालाले भिजनमा प्रस्ट नहुँदा सरकार शिक्षालाई सुधार गर्न अलमलमा परेको बताए । ‘प्रधानमन्त्री, शिक्षामन्त्री र मन्त्रालयका कर्मचारीहरूसमेत स्वार्थमा परेर अनेक पक्षलाई खुसी पार्न थरीथरी निर्णय भइरहेका छन् । सरकार स्वार्थ समूहबाट माथि उठ्‍न सकेन,’ उनले भने । विश्वविद्यालयलाई छाता ऐनभित्र ल्याउने काम चुनौतीपूर्ण रहेको उनले औंल्याए । सबै विश्वविद्यालयले केन्द्रीय विश्वविद्यालयमै रहने लबिइङ थालिसकेकाले मस्यौदा हुबहु मन्त्रिपरिषद् हुँदै संसद्‍बाट पारित हुनेमा शिक्षाविद् कोइरालाले शंका व्यक्त गरे । काठमाडौं विश्वविद्यालयबाहेक अन्य १० विश्वविद्यालयलाई केन्द्रीय र प्रदेश विश्वविद्यालयमा वर्गीकरणमा गर्ने उच्च शिक्षा विधेयकको मस्यौदामा उल्लेख छ ।

उच्च शिक्षा विधेयकको मस्यौदामा त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वन र नेपाल खुला विश्वविद्यालय केन्द्रीय विश्वविद्यालय हुने उल्लेख छ । पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनकलाई प्रदेश विश्वविद्यालयमा राख्न प्रस्ताव गरिएको छ । प्रदेशमा वर्गीकरण गर्न लागिएका विश्वविद्यालयले पनि केन्द्रमै बस्न लबिइङ थालेका छन् । प्रदेश सरकार पनि यी विश्वविद्यालयलाई प्रदेशमा राख्नुभन्दा छुट्टै विश्वविद्यालय सञ्चालन गर्न अग्रसर देखिएका छन् ।

शिक्षाविद् कोइरालाले देशलाई कतिवटा, कहाँ–कहाँ र चलाउँदा कोकोसँग सहकार्य गर्ने भन्नेमा विश्वविद्यालयबारे प्रस्ट नहुँदा यस्ता समस्या आइरहने बताए । विधेयकको मस्यौदामा प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा परिषद्को गठन र त्यस मातहतमा कार्यकारी समितिको प्रबन्ध गरिएको छ । प्रधानमन्त्रीलाई परिषद्को अध्यक्ष बनाएर मातहतमा कार्यकारी समिति राख्न खोजिएको छ ।

प्रकाशित : माघ १३, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×