कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीका चिकित्सक भन्छन्- 'संक्रमण हुने जोखिम अझै छ, हाल खतरामुक्त हुनुहुन्छ'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था हाललाई 'खतरा मुक्त' रहेको उनको उपचारमा संलग्न चिकित्सकको टोलीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रधानमन्त्रीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया भएको चौथो दिन उनको उपचारमा संलग्न चिकित्सक टोलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य अवस्था बारे विस्तृत जानकारी दिएको हो ।

प्रधानमन्त्रीका चिकित्सक भन्छन्- 'संक्रमण हुने जोखिम अझै छ, हाल खतरामुक्त हुनुहुन्छ'

पत्रकार सम्मेलनमा उनको निजी चिकित्सक डा. दिव्यासिंह शाह, सेन्टरका प्रमुख डा. उत्तमकृष्ण श्रेष्ठ, शल्यचिकित्सक डा. रमेशसिंह भण्डारी, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, सघन उपचार विशेषज्ञ डा. सुभाष आचार्य तथा प्रेस सल्लाहकार सूर्य थापाको उपस्थिति रहेको थियो ।


पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले उनले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोध क्षमता घटाउने औषधि) लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिलामात्रै थाह भएको र त्यसको संक्रमणका कारण अत्यन्तै जोखिमपूर्ण अवस्था आइपरको बताएका थिए । उनीहरुको अनुसार प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने बताएका थिए ।


'अस्पताल ल्याउँदा उहाँको अवस्था निकै 'सिक' (नाजुक) थियो,' शल्यचिकित्सक डा. भण्डारीले भने, 'अहिले पनि उहाँलाई संक्रमणको जोखिम छ । सात दिनसम्म त अस्पताल बस्नैपर्छ । त्यसपछिको अवस्था हेरेर डिस्चार्ज गर्ने नगर्ने निर्णय गर्छौं । तर उहाँमा देखिएको सुधार अपेक्षा गरिएभन्दा धेरै हो । त्यो उहाँको इच्छाशक्तिका कारण हुनसक्छ ।'

यस्तै प्रधानमन्त्रीको निजी चिकित्सक डा. शाहले बिहीबार प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइएको स्वीकार गरिन् । 'शल्यकृयापछि भएको घाउबाट रक्तश्राव नहोस् भनेर हामीले उहाँलाई केही मात्रामा प्लेटलेट्स दिएका हौं,' उनले भनिन्, 'अहिलेलाई उहाँ खतरामुक्त हुनुहुन्छ । भविष्यमा के हुन्छ त्यो भविष्यको कुरा हो ।'


पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीको निजी चिकित्सक डा. शाहले उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको स्वीकार गरेकी थिइन् । 'अहिलेको शल्यक्रियाले मिर्गौला प्रत्यारोपणको समयलाई केही पछाडि धकेलिदिएको छ,' उनले भनिन्, 'तर यो शल्यक्रिया हुँदैमा प्रत्यारोपण नै गर्न मिल्दैन भन्ने चाहीँ होइन ।'


उनले प्रधानमन्त्रीको नेपालमा नै पनि मिर्गौला प्रत्यारोपण गर्न सकिने इंगित गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे चिकित्सकहरुले सत्यतथ्य सार्वजनिक नगरेको भनेर व्यापक आलोचना भएपछि उनको उपचारका संलग्न चिकित्कसहरुले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेका हुन् ।

प्रकाशित : मंसिर १३, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?