प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो

अतुल मिश्र

काठमाडौँ — एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ । यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनुपरेको हो । प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ । 

प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको जनाएका छन् । एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । संक्रमण नियन्त्रणमा राख्न हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) प्रयोग गरिएको छ । सेकेन्डरी इन्फेक्सन (थप संक्रमण) को जोखिम कायमै रहेकाले उच्च चिकित्सकीय सतर्कता अपनाइएको छ ।


प्रधानमन्त्री ओलीलाई असहज नहोस् भनेर बेला–बेलामा अक्सिजनसमेत दिइराखिएको छ । ‘उनलाई हाल अलि–अलि तरल आहार मात्र दिइएको छ । ठोस आहारा दिन अझै समय लाग्नेछ,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘बिहीबार चिकित्साकर्मीको सहयोगमा बेडबाट ह्वीलचियरमा राखेर आईसीयूमै केही समय मोबिलाइज (घुमाइएको) थियो । शल्यक्रियापछि पेटमा सिलाएको ताजा घाउमा दबाब पर्दा फुट्न सक्ने भएकाले विशेष सावधानी अपनाएर ह्वीलचियरमा राखिएको हो ।’


ती चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई डायलसिसको आवश्यकता पहिलेभन्दा बढेको छ । २४ घण्टामा १०० देखि १५० मिलिलिटर पिसाब भइरहेको उल्लेख गर्दै उनले भने, ‘डायलसिसको आवश्यकता अब झन् बढ्छ ।’ प्रधानमन्त्रीलाई मंगलबार र बुधबार आईसीयूमै कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी (अत्यन्त कमजोर बिरामीहरूलाई गरिने विशेष प्रकारको डायलसिस) गरिएको थियो । चिकित्सकहरूका अनुसार बिहीबार राति वा शुक्रबार पुनः डायलसिस गरिनेछ ।


राष्ट्रपतिद्वारा भेट

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ अस्पतालमा पुगी प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन् । राष्ट्रपतिलाई चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी गराएका थिए । जानकारी लिने क्रममा राष्ट्रपति करिब आधा घण्टा अस्पतालमा रहेकी थिइन् ।

प्रधानमन्त्रीलाई भेटेर फर्केपछि उनले ओलीको स्वास्थ्यस्थितिमा भइरहेको सुधारप्रति सन्तोष व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जारी प्रेस नोटमा उल्लेख छ । राष्ट्रपतिले प्रधानमन्त्रीको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।


प्रकाशित : मंसिर १३, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?