एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा, हाल स्वास्थ्य अवस्था ‘स्थिर’

अतुल मिश्र

काठमाडौँ — ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार जारी छ । उनको उपचार भइरहेको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंगलबार राति अबेरसम्म स्वास्थ्य स्थिति ‘स्थिर’ छ ।

एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा, हाल स्वास्थ्य अवस्था ‘स्थिर’

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे अस्पताल पुर्‍याइएको थियो । विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो । सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि सेन्टरले मंगलबार दिउँसो र साँझ गरी दुई पटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर रहेको जनाएको हो । विज्ञप्तिमा शल्यक्रियापछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट) मा उपचार भइरहेको उल्लेख छ ।


अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन । तर उपचारमा संलग्न एक चिकित्त्सकका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका ओलीको मंगलबार साँझ नै होस खुलिसकेको छ । ‘उहाँ अलिअलि कमान्ड फलो गर्न सक्षम हुनुभएको छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरमै भए पनि मिनिमल सपोर्टमा हुनुहुन्छ ।’


शल्यक्रियापछि ओलीलाई ‘आइनोटोपिक सपोर्ट’ मा राखिएको छ । यसअन्तर्गत उनलाई रक्तचाप बढाउने तीनथरी औषधि दिइएको छ । उपचारमा संलग्न चिकित्सकहरूले उनलाई केहीबेर भेन्टिलेटरमा राखेपछि बाहिर निकाल्ने योजना बनाएका थिए । अहिले प्रधानमन्त्रीलाई ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक (विभिन्न प्रकारका संक्रमणहरूमा प्रभावकारी हुने औषधि) दिइएको छ । प्रधानमन्त्रीको मंगलबार राति नै डायलसिस पनि गर्ने तयारी गरिएको अर्का चिकित्सकले जनाए ।


अस्पताल पुग्नुअघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो/थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन । उनको उपचार प्रक्रिया र शारीरिक स्थितिलगायतको विश्लेषणका आधारमा केही विशेषज्ञले अस्पताल पुग्नुअघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन् ।


‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि) खाइरहनुभएको छ । यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘पूरै पेट खोलेर शल्यक्रिया गर्नुपर्नाको कारण या त एपेन्डिक्स फुटेको हुनुपर्छ, नभए पेटभित्र पीप, पानी आदि जमेको हुनुपर्छ ।’


रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गत आइतबार प्रधानमन्त्रीको चौथो पटक हेमोडायलसिस गरिएको थियो । ६७ वर्षीय प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा पहिलो पटक डायलसिस गरिएको २६औं दिन चौथो डायलसिस गरिएको हो । प्रधानमन्त्री गत साउनदेखि नै मिर्गौलासम्बन्धी समस्याले चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् ।

के हो एपेन्डिक्स ?

एपेन्डिक्स हाम्रो शरीरमा ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा रहने औंला आकारको एउटा सानो थैली हो । यसैमा संक्रमण भएर बेस्सरी पेट दुखेपछि ‘एपेन्डिसाइटिस’ भएको मानिन्छ  । पहिले चिकित्सकहरू एपेन्डिक्सलाई नचाहिने अंग मान्थे  । तर पछिल्ला अध्ययनमा, स्वस्थ शरीरका लागि एपेन्डिक्ससमेत आवश्यक अंग हो  भन्ने पत्ता लाग्यो । यो अंगमा पाचनलाई सघाउन राम्रो ब्याक्टेरिया जम्मा हुन्छ  । लामो रोगले गर्दा ब्याक्टेरियाको कमी हुँदा यही एपेन्डिक्सले पाचन प्रणालीलाई ठीक राख्छ ।


एपेन्डिक्समा संक्रमणको यकिन कारण हालसम्म थाहा हुन सकेको छैन । आन्द्रामा संक्रमण, पेटमा खराब ब्याक्टेरियाको वृद्घि आदि कारणले एपेन्डिक्स थैलीमा अवरोध पुग्ने वा सुन्निने भएर एपेन्डिसाइटिस हुन्छ ।


एपेन्डिसाइटिसको समस्या भएकाहरूमध्ये ३०–४० प्रतिशतमा एक्कासि नाइटो दुख्न थाल्छ । यो पीडा ६–७ घण्टापछि दाहिनेतिरको तल्लो पेटमा सर्छ । ‘यो खास एपेन्डिसाइटिसकै दुखाइ हो,’ डा. रमेशसिंह भण्डारी भन्छन्, ‘कसैकसैको सीधै दाहिने पेटसमेत दुख्न थाल्छ ।’ यो दुखाइ हरेक व्यक्तिमा फरक हुन सक्छ । किनभने एपेन्डिक्सले फरकफरक अंगलाई छुने गरेको छ ।


त्यसैले कतिपय अवस्थामा चिकित्सक एपेन्डिसाइटिस पहिचान गर्न अलमलिन्छन् ।


एपेन्डिसाइटिस भएपछि हिँड्दा, कुरा गर्दा अझ दुख्छ । खान मन नलाग्ने, बान्ता हुने, ज्वरो आउने हुन्छ  । एपेन्डिसाइटिस बढ्दै जाँदा कामज्वरोसमेत आउँछ । यस्तो लक्षण ८० प्रतिशत बिरामीमा देखिन्छ  ।


प्रकाशित : मंसिर १०, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?