कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानमन्त्रीलाई मध्यरातिबाट समस्या, बिहान अस्पताल, लगत्तै अपरेसन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अलि बढी व्यस्त थिए । नियमित भेटघाटपछि दिउँसो ४ बजेलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष बैठक थियो । धेरैजसो भेटघाट सरकारी निवास बालुवाटारमै गर्ने प्रधानमन्त्री मन्त्रालयहरूको चौमासिक प्रगति समीक्षाका लागि सिंहदरबार पुगेका हुन् । बैठक झन्डै साढे चार घण्टा चल्यो ।

प्रधानमन्त्रीलाई मध्यरातिबाट समस्या, बिहान अस्पताल, लगत्तै अपरेसन

प्रधानमन्त्रीले सचिव र मन्त्रीहरूलाई मन्त्रालयको प्रगति नभएको भन्दै केही निर्देशन दिए । बैठक सकेर बालुवाटार पुग्दा करिब सवा नौ बजेको थियो । उनले खानपिन गरे । राति ढिलै सुत्ने गरेका ओली नियमित डायलसिस गर्न थालेपछि भने स्वास्थ्यप्रति अलि बढी सचेत छन् । तर दिनभर बैठकको थकान रहे पनि उनी सुतिहालेनन् । बरु राति १० देखि ११ बजेसम्म आफैंले कान्तिपुर टीभीलाई दिएको अन्तर्वार्ता हेरे ।


त्यसपछि बेडमा गएका ओलीलाई राति दुई बजेपछि हल्का पेट दुख्न थाल्यो । सधैंजसो बिरामीजस्तो शरीर भएकाले उनले यसलाई ठूलो समस्या मानेनन् । तर बिहान हुँदै जाँदा झन् दुख्न थाल्यो । यहीबीच प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बालुवाटार पुगिन् । ओलीलाई बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टर भर्ना गरियो । विज्ञ चिकित्सकको टोलीले उनलाई एपेन्डिसाइटिस भएको ठहर्‍यायो । लगत्तै अपरेसनको तयारी भयो । अपराह्न १ बजेअघि नै अपरेसन सकियो । त्यसपछि प्रधानमन्त्रीको अवस्था स्थिर रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


पार्टीका नेता, मन्त्रीहरू र सचिवालयको टोली प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बुझ्न गए पनि अस्पतालले कसैलाई भेट्न दिएको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेललगायत नेताहरूले चिकित्सकसँग प्रधानमन्त्रीको अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीको सचिवालयको टोली नियमित रूपमा अस्पतालमै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चिकित्सकले ओलीको स्वास्थ्यस्थिति राम्रो रहेको ब्रिफिङ गरेका छन् । ‘एपेन्डिक्स अन्य सामान्य व्यक्तिलाई पनि हुने समस्या हो, यसैका कारण प्रधानमन्त्रीलाई अन्य समस्या छैन, चिकित्सकले जे भन्नुभएको छ त्यही कुरालाई सबैले बुझिदिनुहुन हाम्रो आग्रह छ,’ उनले भने । थापाका अनुसार प्रधानमन्त्री केही दिन अझै अस्पताल बस्नुपर्ने हुन सक्ने चिकित्सकले जानकारी गराएका छन् ।

प्रकाशित : मंसिर ११, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?