कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ल्यान्डफिल साइटबाट १० ठाउँ अति प्रभावित

सीमा तामाङ

काठमाडौँ — काठमाडौं–उपत्यकाको फोहोर व्यवस्था गरिएको ल्यान्डफिड साइटबाट प्रभावित क्षेत्रलाई तीन भागमा विभाजन गरिएको छ । यसअघि दिँदै आएको क्षतिपूर्तिलाई निरन्तर गर्न अति प्रभावित, प्रभावित र कम प्रभावित गरी विभाजन गरिएको हो । 

फोहोर फ्याँकिएको साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्काशन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययन गरी १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र चार ठाउँलाई कम प्रभावितमा सिफारिस गरिएको अध्ययन समितिका सदस्यसचिव एवं नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले बताए ।


समितिले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो । स्थलगत रूपमा गरिएको नमुना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको उनले बताए । अध्ययन टोलीले ल्यान्डफिड साइटबाट निष्काशन भएको ग्याासको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असरजस्ता विषय समेटिएका थिए । ल्यान्डफिडको तीन ठाउँबाट माटो, सिसडोलको दुई ठाउँबाट ग्याँस, ककनी १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमुना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।

मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको पाँच ठाउँ, धादिङको धुनिबेसी नगरपालिका चार ठाउँ, काठमाडौंको तारकेश्वर नगरपालिकाका एक ठाउँ गरी १० स्थानलाई अति प्रभावित क्षेत्रमा राखिएको छ । ककनीस्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिड साइटको माथिल्लो भाग), सोतिबालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । धुनिबेंसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा छन् । ककनीका आठवटा र धुनिबेंसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेंसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ छन् ।

ककनी गाउँपालिकाको दुई र धुनोबेंसीको दुई गरी चार ठाउँ प्रभावितमा परेका छन् । त्यसमा ककनीको कागती गाउँ हेल्थ पोस्ट र सिउँडिनी ट्यांकी डाँडा गरी दुई ठाउँ र धुनिबेंसीको स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ गरी ४ ठाउँ कम प्रभावित ठाउँमा परेका छन् । आफ्नो भौगोलिक क्षेत्रभित्र मात्र नभई काठमाडौं जिल्लाकै फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरिरहेको काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । पहिले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउन लगानी बोर्डमार्फत काम भने पनि रोकिएको छ ।


काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापनमा मात्र ध्यान दिनुपर्ने धुनिबेंसी नगरका प्रमुख बालकृष्ण आचार्यले बताए । यसअघि महानगरले स्थानीय बासिन्दासँग भएको सहमति आधारमा अति प्रभावित, प्रभावित र प्रभावित परिवार वर्गीकरण गरेर बाली तथा घरभाडाबापत् क्षतिपूर्ति दिँदै आएको थियो । ‘अब फेरि नियमित गर्न अध्ययन गरिएको हो,’ वातावरण शाखाका प्रमुख हरि श्रेष्ठले बताए ।

प्रकाशित : पुस १५, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?