कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

‘फुटपाथमा हामी कसरी हिँड्ने ?’

प्रशान्त माली

काठमाडौँ — बबरमहलस्थित सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अपांगता अनुकूल नभएको भन्दै आइतबार कार्यालयबाहिरै कार्यक्रम गरी सरोकारवलालाई दबाब दिएका छन् । पुरानो सडक विभागसँगैको कार्यालयमा पुगेका अपांगता भएकाहरू भुईंतलामा जान सक्ने संरचना नभएपछि बाहिरै कार्यक्रम गरी दबाब दिएका हुन् । 

‘फुटपाथमा हामी कसरी हिँड्ने ?’

उपत्यकामा विस्तारित सडक अपांगता भएकाको अनुकूल हुनुपर्ने भन्दै केही महिनाअघि बौद्धमा निर्माणाधीन फुटपाथ भत्काएर विरोध गर्ने ऋषिराम ढकालसहितको टोली साढे ११ बजे कार्यालय पुगेका थिए । उनी तीन जनाको सहयोगमा बल्लतल्ल गाडीबाट ओर्लिए । मुस्किलले ह्वीलचियरमा बसेर कार्यक्रम स्थल पुगेका थिए । अनुगमन कार्यालय भवन अपांग अनुकूल नभएकाले उनीसहितको टोलीले बाहिरै अन्तर्क्रिया कार्यक्रम गरे । अपांगता भएका व्यक्तिहरूको चासो चावहिल–बौद्ध–जोरपाटी सडक, टेकु क्षेत्र र तीनकुने–माइतीघर सडक केन्द्रित थियो । ‘यस क्षेत्रमा कतिपय ठाउँमा फुटपाथ नै छैन । भएका ठाउँमा पनि अपांगता भएकाको अनुकूल छैन,’ ऋषिले कार्यक्रममा भने, ‘चावहिल–जोरपाटी क्षेत्र सबभन्दा बढी अपांगता भएका व्यक्ति बसोबास गर्ने क्षेत्र हो । यो क्षेत्रमा नेपाल अपांग संघको कार्यालय, अपांगता केन्द्र र अपांगता भएका व्यक्ति पढ्ने विषेश विद्यालय पनि छ ।’


ह्वीलचियरमा बसेर कपाल काट्न र पसल जाने सडकसमेत नभएको उनले दुखेसो पोखे । ‘सुधार गर्न धेरै पटक गुनासो गरेँ । कसैले सुनेनन् । फेरि हाम्रा लागि केही सुधार हुने हो कि भन्ने आसमा यहाँ आएका छौं,’ उनले भने, ‘फुटपाथमा अपांगता भएका व्यक्ति मात्र हिँड्दैनन् । हामी सबैको साझा हो ।’ काठमाडौंको सडक अपांगता अनुकूल नभएको भन्दै विरोध गर्नेमा रवि ढकाल पनि थिए । ‘बौद्ध जोरपाटी क्षेत्रमा फुटपाथ छ तर सपांग भएका व्यक्तिसमेत हिँड्न मुस्किल छ,’ उनले भने, ‘आज हामी यही गुनासो गर्न आउनुपरेको हो ।’ यसअघि पनि यही गुनासो लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेको उनले बताए । ‘त्यहाँबाट सडक अनुगमन कार्यालयमा पठाएकाले हामी यता आएका हौं ’ ढकालले भने, ‘बिन्ती छ, फुटपाथ साढे दुई मिटरको अपांग अनुकूल बनाइदिनुपर्‍यो । दुर्घटना अत्यधिक बढ्यो ।’


कार्यक्रममा सहभागी हुन पुग्नेमा टेकुकी रजुना सिं पनि थिइन् । हातसमेत नचल्ने भएकाले ह्वीलचियर डोराउन पनि उनी सक्दिनन् । ‘टेकु पुलमा फुटपाथ छ तर सिंढी भएकाले ह्वीलचियर लैजान मिल्दैन,’ उनले दुखेसो पोख्दै भनिन्, ‘धेरै पटक गुनासो गरे । सच्याएन ।’ व्यस्त सडकबाट ह्वीलचियर लैजाँदा दुई पटक मोटरसाइकलले ठक्कर दिइसकेको उनले बताए । ‘म विद्युतीय ह्वीलचियरबाट आवतजावत गर्छु । तैपनि सहायताबिना घरबाट आउन सकिँदैन,’ अस्ट्रेलियाबाट स्नातकोत्तर गरेकी उनले भनिन्, ‘विदेशमा अपांगता भएको महसुस नै हुँदैन । ह्वीलचियरको माध्यमबाट जहाँ पनि पुग्न सकिन्छ । नेपालमा त जेलभित्र बसेजस्तो भयो ।’ विदेशमा गुनासो गर्ने बित्तिकै सुधार भए पनि स्वदेशमा गाली खानुपरेको उनले कार्यक्रममा सुनाइन् ।


संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलका सुपरिन्टेन्डेन्ट इन्जिनियर राजेन्द्रराज शर्मालगायत कार्यालयका प्राविधिकहरूले अपांगता भएकाको गुनासो सुनेका थिए । जोरपाटी–बौद्ध–बागमती पुल एक किमि सडकमा अपांगता अनुकूल फुटपाथ बनाउन तत्काल विज्ञ टोली खटाएर अध्ययन गर्न लगाउने उनीहरूले कार्यक्रममा सहभागीहरूलाई आश्वासन दिए । ‘अब बन्ने संरचना अपांगता अनुकूल बनाउन आफू मातहतका १६ वटा कार्यालयलाई निर्देशन दिन्छौ,’ शर्माले भने, ‘पहिला बनिसकेको संरचना पनि सच्याउँछौं ।’ सडक फुटपाथमैत्री नभएको ठाउँको तस्बिर खिचेर ‘मेरो सडक’ भन्ने एप्समा उजुरी दिन सक्ने उनले बताए ।


कार्यालयका प्रोजेक्ट म्यानेजर अर्जुन अर्यालले फुटपाथ अपांग अनुकूल बनाउन सडक विभागमा बजेट माग गरिने बताए । ‘छुट्टै प्रोजेक्ट नै सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘अब बन्ने सडकको डिजाइन फाइलन गर्न अपांग भएका व्यक्तिहरूसँग छलफल गरेर मात्र अन्तिम रूप दिइनेछ ।’ तीनकुने–माइतीघर सडकमा फुटपाथ पनि सुधार गर्ने उनले बताए ।

प्रकाशित : पुस १४, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?