कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लथालिंग अस्पताल

सरूवा रोगको उपचार गर्न टेकुमा ८६ वर्षअघि खुलेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल कमजोर व्यवस्थापनकै कारण लथालिंग छ । शल्यक्रियासमेत हुँदैन । शय्या खाली रहने गरेको छ ।
फातिमा बानु

काठमाडौँ — जाडो मौसम छ । यो मौसमलाई ज्वरो, रुघाखोकी, दम, निमोनियालगायत मौसमी भाइरस आक्रमणका बिरामी बढ्ने समय मानिन्छ । यस्तैखाले बिरामीको उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भने यतिखेर सुनसान छ । मौसमी भाइरस तथा सरुवारोगको उपचार गर्ने सरकारी एक मात्र केन्द्रीय अस्पताल हो यो ।

लथालिंग अस्पताल

शुक्रबार बिहान ९ बजे अस्पताल पुग्दा टिकट काउन्टर अगाडि फाटफुट बिरामी लाइनमा बसेका थिए । १० बजेपछि ओपीडीमा पनि बिरामीको संख्या न्यून थियो । आकस्मिक कक्षमा भएका १० मध्ये २ बेडमा मात्रै बिरामी थिए । एक सय बेडमध्ये ३४ बेडमा मात्रै बिरामी भर्ना भएका थिए । चिकन गुनिया, इबोला, कालाजारलगायत सरुवा रोग उपचार गर्ने केन्द्रीय अस्पताल कुकुरले टोकेका, झाडापखाला र एचआईभीका बिरामीको उपचारमा सीमित छ । विशेषज्ञ र प्रविधि हुँदाहुँदै पनि अपेक्षित बिरामी यो अस्पताल आउनुको साटो निजी अस्पताल धाइरहेको हुन सक्ने अस्पतालका चिकित्सकको अड्कल छ । यो अस्पतालको सेवाबारे प्रचार नपुग्दा बिरामीको चाप न्यून भएको उनीहरू बताउँछन् ।


अस्पताल अस्तव्यस्त

प्रयोगशाला भवनको जमिनमुनि गाडी पार्किङ गर्ने ठूलो ठाउँ बनाइएको छ तर त्यहाँ गाडीका लस्कर होइन थोत्रा सामान थुपारिएका छन् । बिग्रेका बेड, काम नलाग्ने हिटर, सोफा, कुर्सी र फलामका डन्डीले त्यो ठाउँ ओगटेको छ । झरी पर्दा अस्पतालको जमिनमुनिको कोठामा पानी भरिन्छ । संक्रमणजन्य लामखुट्टेको स्रोत नै त्यही पानी जमेको कोठा बनिदिन्छ । लामखुट्टेजन्य संक्रमणको उपचार गर्न आएका बिरामी र कुरुवा उल्टै रोगको जोखिममा पर्ने गरेका छन् । त्यहाँ नअटेका यस्ता सामान अस्पतालको कुनामा पनि उस्तै गरी थुपारिएका छन् । ती सामान थन्क्याउन या बेच्न अस्पतालले कुनै पहल गरेको छैन ।


सरकारी सामान बेच्न लामो कानुनी प्रक्रिया हुने भएकाले ती सामान असरल्ल छोड्न बाध्य भएको अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले बताए । ‘हरेक सामान छुट्याएर लिलामी गर्नुपर्ने हुन्छ । सामान छुट्याएर बस्ने जनशक्ति नभएपछि ती सामान यतिकै छोडिएको हो,’ उनले भने । अस्पताल परिसरमा खिया लागेको, झ्यालढोका फुटेको थोत्रो एम्बुलेन्स छ । यसलाई अस्पतालले न हटाउन सक्छ न मर्मत गरेर प्रयोगमा ल्याउन सकेको छ । निर्देशक डा. पाण्डेका अनुसार यो एम्बुलेन्स पूर्वरानी ऐश्वर्याराज्यलक्ष्मी शाहको नाममा भएकाले यसलाई थन्काउन मुस्किल परिरहेको छ ।


जग्गा नहुँदा बनेन भवन

आठ दशक पुरानो यो अस्पतालको भौतिक संरचना पनि उत्तिकै कमजोर भइसकेको छ । वर्षायाम लागेपछि माथिल्लो तलामा पानी चुहिन्छ । भित्ताभरि पानी रसाएका दागहरू अझै छन् । रंगरोगन गरेर ती दाग छोपे पनि पानी पर्नेबित्तिकै ती भित्तामा पानी बगेका दाग बस्छन् । ५ वर्षअघिको भूकम्पले चिकित्सक र कर्मचारी बस्ने क्वाटर भवन क्षतिग्रस्त भयो । चर्किएको भवनमै कर्मचारी बस्छन् । जग्गा अभावका कारण अस्पतालको नयाँ भवन निर्माण गर्न नसकिएको डा. पाण्डेले बताए । चोभारस्थित सिमेन्ट कारखाना वा ललितपुरको कमलपोखरीको सरकारी जग्गा दिने कुरो चर्चामै सीमित छ । प्रस्तावित फाइल मन्त्रालयमै थन्किएको छ ।


माथिल्लो तलासम्म बिरामी पुर्‍याउन अस्पतालमा लिफ्ट छैन । बिरामीलाई बोकेरै माथिल्लो तला चढाउनुपर्छ । डा. पाण्डेले भने, ‘पुरानो भवनमा लिफ्ट राख्दा भवन अझै कमजोर हुन्छ । एसी जडान गर्न पनि भित्ता ठोकठाक गर्दा भवन अझै कमजोर होला भन्ने डर छ ।’ बजेट भए पनि अस्पताललाई भत्काएर पुनर्निर्माण गर्न नसकिएको उनले गुनासो गरे । केन्द्रीय स्तरको अस्पतालसँग एउटा एम्बुलेन्स छ । त्यो पनि अस्पतालबाट बिरामी रिफर गरेर अन्यत्र पुर्‍याउनका लागि मात्रै प्रयोग हुन्छ । भएको एउटा एम्बुलेन्स पनि सुरक्षित नभएको डा. पाण्डे बताउँछन् । ‘यस्तो एम्बुलेन्समा सरुवारोगका बिरामी ल्याउँदा सजिलै अर्को व्यक्तिमा रोग सर्न सक्छ । सरुवा रोग अस्पतालमा बिरामी छुट्टै राख्न मिल्ने खालको एम्बुलेन्सको खाँचो छ,’ उनले भने ।


जनस्वास्थ्यको हिसाबले काठमाडौं जस्तो घना बस्तीको बीचमा सरुवारोग अस्पताल राख्नु सुरक्षित छैन । यसले अस्पताल नजिक बस्तीका मानिसमा रोग सर्ने सम्भावना उच्च हुन्छ । डा. पाण्डेले भने, ‘कतिबेला कुन महामारी आउँछ, थाहा हुँदैन । महामारीका बिरामीबाट नजिकका मान्छेमा सजिलै रोग सर्छ, यस्तो अस्पताल बस्तीबाट टाढा राख्नुपर्छ ।’ अस्पतालको नयाँ भवन बनाउन कतै एकान्तको जग्गा दिनु भनेर स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिरहेको उनले बताए ।


शल्यक्रिया हुँदैन

कुकुरले टोकेर घाउ भएका, छालारोगका कारण घाउ भएका बिरामीको सामान्य शल्यक्रिया गर्न र चिरेको घाउ सिलाउन आवश्यक हुन्छ । शल्यक्रिया गर्न अस्पतालसँग ‘माइनर वटी रुम’ छैन । विशेषज्ञ र उपकरण भए पनि अस्पतालले शल्यकक्ष अभाव झेलिरहेको छ ।


अलपत्र ‘आइसोलेसन वार्ड’ इबोला, स्वाइन फ्लु, बर्ड फ्लु, दादुरा, चिकन गुनियालगायत श्वासप्रश्वासबाट सर्ने जटिल रोग अन्य व्यक्तिमा नसरोस् भनेर यस्ता बिरामीलाई आइसोलेसन वार्डमा राखिन्छ । अस्पतालमा भएको आठ श्ययाको आइसोलेसन वार्ड स्थापना भएको एक दशक बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्न नसक्दा वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । ‘आइसोलेसन वार्ड चलाउन नसक्दा कहिलेकाहीँ स्वास्थ्यर्मीलाई नै बिरामीबाट संक्रमण सर्ने गरेको छ । जनशक्ति र भौतिक संरचना व्यवस्थापन गर्दै छौं चाँडै नै यो वार्ड चलाउने तयारीमा छौं,’ उनले भने ।


योजनाविहीन अस्पताल

आठ दशकमा अस्पतालमा २२ पटक निर्देशक फेरिए । अस्पतालको रूप फेरिन सकेन । सरुवा रोग उपचारका लागि देशको एक मात्र रिफरल अस्पतालको अवस्था झन्झन् खस्किँदो छ । आगामी दिनमा अस्पतालको भौतिक संरचना र उपचार सेवा कसरी विस्तार हुन्छ ? कुनै योजना छैन, भिजन छैन, उद्देश्य छैन । आठ दशकअघि अस्पताल जस्तो थियो उस्तै छ । नयाँ योजना बनाउनेभन्दा पनि औषधि र उपकरण खरिदका लागि टेन्डर गरेरै अस्पतालले दिन र वर्ष कटाइरहेको छ । अस्पतालसँग सरुवारोग विशेषज्ञ उत्पादन गर्न सक्न शैक्षिक थलो बनाउन सक्ने क्षमता भए पनि हालसम्म यस्ता विशेषज्ञ विदेशबाटै उत्पादन भएर आइरहेका छन् ।

प्रकाशित : पुस १४, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?