कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटपाथमा व्यापार

लीला श्रेष्ठ

(भक्तपुर) — सडकमै जोडिएको घर । फुटपाथमा फलामे भर्‍याङ । ठाउँ–ठाउँमा मोटरसाइकल वर्कसप । सर्भिस ट्र्याकको फुटपाथमा थोत्रा मोटरसाइकल यत्रतत्र पार्किङ गरिएका छन् । कतिपय स्थानमा निर्माण सामग्री थुपारिएको छ । फुटपाथमै बिजुलीको पोल पनि ठडिएको छ । 

फुटपाथमा व्यापार

सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डको सर्भिस ट्र्याकको फुटपाथ यस्तै मिचाइमा परेको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डअन्तर्गतको ९ दशमलव १ किलोमिटर सडकको दायाँ–बायाँको करिब १८ किमि सर्भिस ट्र्याकको मुख्य चोकहरूको फुटपाथ अतिक्रमणमा परेका हुन । सर्भिस ट्र्याकलाई स्थानीय तथा व्यापारीले पार्किङ र व्यापार गर्ने थलो बनाएका छन् ।


प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जनप्रतिनिधि, स्थानीय बासिन्दा, सुरक्षा निकायलगायतको पलहमा डेढ वर्षदेखि बेला–बेलामा अरनिको राजमार्ग सफाइ तथा सडक/सर्भिस ट्र्याक व्यवस्थित गर्न कार्यक्रम गर्दै आएको छ । तर, सर्भिस ट्र्याकमा मौका हेरेर ठूलासाना गाडीहरू पार्किङ गर्ने, सडकमै सामान झार्ने, जथाभावी ट्याक्सी पार्किङ गर्ने, तरकारी र फलफूल, चनाचटपटे, कपडाको व्यापार गर्ने क्रम घटेको छैन । ‘व्यापारीले सडकमै व्यवसाय थालेका छन् । घरधनीले फुटपाथ मिचेर फलामे भर्‍याङ बनाएर माथिल्लो तला भाडामा लगाएका छन्,’ सूर्यविनायकका सुमन थापाले भने, ‘मुख्य सडकको दायाँबायाँको सर्भिस ट्र्याक पार्किङ र व्यापारिक थलो बनेको छ ।’


सूर्यविनायक, पाण्डुबजार, चुनदेवी, सल्लाघारी, सिर्जनानगर, थिमी, गठ्ठाघर, कौशलटार, लोकन्थलीलगायत चोकहरूमा खुला पसल, अव्यवस्थित पार्किङको समस्या उही छ । सूर्यविनायक नगरपालिकाले सल्लाघारी, सूर्यविनायक क्षेत्रमा नगर प्रहरी लगाएर सर्भिस ट्र्याक, फुटपाथ खुला गर्न खोजे पनि स्थानीय बासिन्दा, व्यापारीले फुटपाथको क्षेत्र नै भाडामा दिने गरेको छ । स्थानीय तहहरूले पार्किङ र खुला क्षेत्रको विकल्प दिन नसक्दा फुटपाथ अतिक्रमणमा परेको छ ।


फुटपाथ तथा सर्भिस ट्र्याक व्यवस्थापनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरी खुला पसल हटाउने कार्य गर्दै आएको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए । फुटपाथ मिचेर बनाएका संरचना हटाउने अभियान नै संचालन गरे पनि सफल हुन भने नसकेको उनले स्वीकार गरे ।


त्यस्तै, भक्तपुर नगरपालिकाको आडैमा हिँड्दा–हिँड्दै फुटपाथ सकिन्छ । नगरपालिका भवनबाट दाहिने आउँदै गर्दा करिब ५ सय मिटरमा फुटपाथ मिचेर भूकम्पपछि घर नै ठडिएको छ तर नगरपालिकाले कुनै कारबाही गर्न सकेको छैन । कमलविनायक–भत्केको पाटी सडकमा त फुटपाथ नै छैन ।


मध्यपुर थिमि शंखधर चोक (नयाँ थिमि) मा त झन् सर्भिस ट्र्याकलाई नै सूर्यविनायक नगरपालिका–दधिकोट, गाम्चा चल्ने बस, रत्नपार्क चल्ने माइक्रोबस पार्कमा स्थापित छ । अस्पताल, बैंक, सहकारी, विभिन्न गैरसरकारी संघ/संस्था, निजी पसलको आफ्नो निजी पार्किङस्थल छैन । सम्बन्धित व्यवसायीले समेत सर्भिस ट्र्याक र फुटपाथमै सवारी पार्किङ गर्ने गरेका छन् । सर्भिस ट्र्याकसँगैको फुटपाथमा फलामे भर्‍याङ निर्माण गरेर माथिल्लो तला भाडामा दिएका छन् । पैदलमैत्री सर्भिस ट्र्याकमै पार्किङ गर्दा सर्वसाधारणले सास्ती झेल्दै आएका छन् । मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने कोरिया अस्पताल, विश्वेश्वर महादेव क्षेत्र, शंखधरचोक, गठ्ठाघर, कौशलटारस्थित सर्भिस ट्र्याक क्षेत्र र फुटपाथमा पार्किङ गर्ने, व्यापार हटाउने बताए । बस तथा माइक्रोबस पार्कको लागि छुट्टै नगरकार्यपालिकाको बैठकले मुख्य चोकहरूलाई पार्किङ निषेधित क्षेत्र तोक्ने निर्णय गरेको समेत उनले बताए । तर, कार्यान्वयनमा भने आउन सकेको छैन ।


पछिल्लो समय मुख्य समस्याको रूपमा फैलिएको फुटपाथ व्यवस्थापन तथा यत्रतत्र पार्किङ समस्यालाई जिल्लाको चार नगरपालिकाले कुनै विकल्प दिन सकेका छैनन् । न कुनै नगरपालिकाले फुटपाथ व्यवस्थापन गर्न सकेका छन्, न आधिकारिक पार्किङ स्थल नै तोक्न सकेको छ ।


नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ । १५ मिनेटभित्र पाँचसम्म मानिस आवतजावत गर्ने फुटपाथमा १.५ मिटर, पाँच सयदेखि १५ सय जना हिँड्ने ठाउँमा २ मिटर, १५ सयदेखि २५ सय जना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सय जनासम्मको चाप भए ३ मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ । सडकमा ह्विलचियर अट्ने गरी १.५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर, शारीरिक अपांगता र दृष्टिविहीन भएकाले मात्र होइन सामान्य पैदलयात्रुले समेत फुटपाथ नहुँदा दुर्घटनाको जोखिम मोल्न बाध्य छन् ।


फुटपाथ व्यवस्थापनको छुट्टै मापदण्ड तोकिए पनि कहिल्यै सम्बन्धित सरोकारवालाको प्राथमिकतामा पर्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान बताउँछन् । ‘फुटपाथ भनेको सडकै एउटा अंग हो भन्ने कुरा हामीले कहिल्यै बुझ्न सकेनौं । सडक जति चौडा भए पनि हुन्छ, हामीलाई फुटपाथ चाहिँदैन भन्ने स्थानीयको बुझाइ नै छ,’ उनले भने, ‘फुटपाथ नभएकै कारण अधिकांश सवारी दुर्घटनाबाट पैदलयात्रुको मृत्यु भइरहेका छन् । पैदलयात्रु केन्द्रित गरेर कुनै पनि सडक निर्माण भएको पाइँदैन ।’


प्रकाशित : पुस १, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?