कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइतीघर– तीनकुने साइकल लेन

काठमाडौँ — सडक विभागले पाँच वर्षअघि तीनकुने सडक खण्डमा निर्माण गरेको साइकल लेनबारे धेरैजसो साइकलयात्रु समेत अनभिज्ञ छन् । त्यसबेला बनेको साइकल लेन अझै सञ्चालनमा छैन । यही लेनलाई प्रयोग गर्न मिल्ने गरी सञ्चालन गर्न बल्ल काठमाडौं महानगरपालिकाले छलफल सुरु गरेको छ । 

महानगरपालिकाले साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने योजना अघि सारेको हो । माइतीघर मण्डलादेखि तीनकुनेसम्म पूर्वाधार विकास र साइकल लेन सञ्चालन गर्न तयार पारिएको गुरुयोजनाबारे मंगलबार सरोकारवालासँग महानगरले छलफल गरेको थियो । माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालनमा ल्याइएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि लेन विस्तार गरिने सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । महानगरले उक्त सडक खण्डमा लेन निर्माणसँगै फुटपाथ पनि मर्मत गर्न तीन करोड रुपैयाँ लागत अनुमान गरेको छ । ‘अन्यभन्दा फरक किसिमको साइकल लेन निर्माण गर्न लागेका छौं,’ उनले भने, ‘साइकल लेन चिनाउन त्यहाँ चित्र र फरक रङ लगाउछौं ।’ यो खण्डमा ३० वटा साइकल स्ट्यान्ड बनाएर ९० वटासम्म साइकल अट्ने व्यवस्थापन गर्न लागिएको उनले बताए । अब बन्ने साइकल लेन अन्य सवारी साधनसँगै मिलेर चलाउने नपर्ने महानगरपालिकाले जनाएको छ ।


‘पहिले सहर निर्माणसँगै सडक निर्माण भयो । सडक सहरीभन्दा पनि राजमार्गअनुसार बनाइए । त्यसबेलाको अवस्था र व्यवस्था त्यस्तै थियो,’ उपाध्यक्ष बस्नेतले भने, ‘यसलाई सुधार गरेर सबै प्रकारका सवारीलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने हाम्रो योजना हो ।’ पाँच वर्षअघि नै सञ्चालनमा आउनुपर्ने साइकल लेन अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको मुख्य कारण राजनीतिक नेतृत्व, कर्मचारी, प्रशासन र उपभोक्ताबीचको अन्तरसम्बन्ध स्थापना हुन नसकेको महानगरको वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले बताए ।


अन्तरक्रियामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले साइकललाई सुरक्षित यात्रा गर्ने गरी लेनको व्यवस्था गर्नुपर्ने बताए । अन्तरक्रियामा नेपाल साइकल सोसाइटी, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट र जर्मनका साइकल अभियन्ता व्यवस्थापन इरिक हकम्यानले साइकल यात्रा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


माइतीघरदेखि तीनकुने सडक खण्डमा प्रतिघन्टा ४६ जना साइकलयात्रु गुड्ने गरेको अध्ययनले देखाएको छ । यसमध्येका ६१ प्रतिशत सामान्य साइकल गुडाउँछन् । उनीहरूमध्ये ८१ प्रतिशत प्रयोगकर्तालाई साइकल लेन छ भन्ने जानकारी छैन । काठमाडौंको सडकमा गुड्ने करिब साढे ६ लाख सवारीसाधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्यांकले देखाएको छ । कार्यपत्रमा देखाइएका यी तथ्यांकका आधारमा १५ जना सहभागीले साइकल लेन र यससँग सम्बन्धित व्यावहारिक पक्षमा गुनासा राख्दै सुधारका लागि सुझाव दिएका थिए ।


प्रकाशित : मंसिर २६, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?