काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

रासस

काठमाडौँ — १३ औं दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज (मंगलबार) काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो ।


सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले एक सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङ्रोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ ।


महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ । सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित : मंसिर २४, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी केपीले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका छन् । ७१औं विश्व मानव अधिकार दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकार उल्लंघन हुन नदिन, उल्लंघन गर्ने दोषीलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले मानव अधिकार प्रतिबद्धताको विषयमात्र नभइ आस्था र निष्ठाको विषय भएको स्पष्ट पारे ।

मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरुप द्वन्द्वकालीन घटना सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई प्रभावकारी बनाउन कानुनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराउने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । मानव अधिकार संरक्षण तथा प्रवर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै उनले समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गहरुको योगदान आवश्यक रहेको बताए ।

उनले सरकारले मानव अधिकारको प्रवर्द्धनका लागि आधारभूत वातावरण निर्माण गर्न सम्बद्ध सबै क्षेत्रसँग अझ बढी सहकार्य र सहयोगको अपेक्षा गरेको सन्देशमा उल्लेख गरेका छन् ।

१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष विश्व मानव अधिकार दिवस मनाइन्छ ।

प्रकाशित : मंसिर २४, २०७६ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×