कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुकुरमा ‘माइक्रो चिप्स’

काठमाडौँ — बिहान होस् वा साँझ । खुला स्थानमा कुकुरको हुलले आवतजावतमा समस्या निम्त्याउने गरेको छ । सामुदायिक कुकुर (भुस्याहा) त खुल्ला रूपमा डुल्ने भइहाले, पाल्तु कुकुरलाई पनि सडकमै शौच गराउन ल्याउँदा यसको असर मानव स्वास्थ्यमा परेको चिकित्सकहरू बताउँछन् । 

कुकुरमा ‘माइक्रो चिप्स’

मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि काठमाडौं महानगरपालिकाले गत भदौमा सार्वजनिक ठाउँमा शौच गराइएको भेटिए कारबाही गर्ने बताएको थियो तर अहिलेसम्म महानगरले बन्ध्याकरण र रेबिजको सुई लगाउने कामबाहेक अरू कारबाही अघि बढाउन सकेको छैन ।

अहिले घरपालुवा तथा सामुदायिक कुकुरको दर्ता प्रक्रिया चलिरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘दर्ता सकिएपछि कुकुरमा माइक्रो चिप्स राख्छौं अनि मात्र कारबाहीको चरणमा अघि बढ्ने योजना छ,’ उनले भने । वडाभित्रका टोल समिति, क्लबलगायतसँग महानगरले समन्वय गरेको छ । कुकुरलाई खुला ठाउँमा शौच गराएको खण्डमा कारबाही गर्ने जिम्मेवारी समिति र क्लबलाई दिइएको प्रवक्ता डंगोलले बताए ।

महानगरले बाहिर शौच गराएको/नगराएको हेर्न अनुगमन टोली र अटेर गरेमा जरिवानासहित कुकुर नियन्त्रणसम्मको कारबाही गर्ने बताएको थियो । महानगरको वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले यसबारे पहिले नै जानकारी गराएका थिए । अहिले भने उनले कृषि तथा पशु सेवा विभागले यो काम हेर्ने बताए ।

कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले अहिले सामुदायिक कुकुरको संख्या वृद्धि रोक्न बन्ध्याकरण र रेबिज सुई मात्र लगाइरहेको जानकारी गराए । ‘सार्वजनिक ठाउँमा जथाभावी शौच गराउँदा फोहोरमैला समस्यासँगै घातक रोग सर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसैले कुकुरको दिसापिसाबबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न धनीतिगत योजना बनाउने तयारी गरिरहेका छौं ।’ महानगरभित्रका सबै खालका पशु तथा कुकुरलाई पहिचान गर्न माइक्रो चिप्स राख्ने योजना बनाएर प्रतिवेदन पेस गरेको उनको भनाइ छ ।

महानगरले कुकुर व्यवस्थापन तथा खोप र औषधि दिन ०७३ देखि मनुमित्र संस्था र मरेका कुकुर संकलन तथा व्यवस्थापन गर्न सफा नेपालसँग सहकार्य गर्दै आएको छ । महानगरले रेबिज खोप र बन्ध्याकरणका लागि गत वर्ष ७० लाख रुपैयाँको औषधि खरिद गरी मनुमित्रलाई दिएको थियो । मनुमित्रले सन् २०१६ मा गरेको अध्ययनअनुसार हाल काठमाडौं महानगरभित्र २२ हजार सामुदायिक कुकुर छन् ।

अहिलेसम्म ३१ वडाका सामुदायिक कुकुरलाई रेबिजको खोप र बन्ध्याकरण गरिसकेको मनुमित्रकी कार्यक्रम सञ्चालिका संगीता सापकोटाले बताइन् । रेबिज र बन्ध्याकरण गरेपछि कुकुरले गर्दा आउने गुनासो पनि कम भएको उनको भनाइ छ । मनुमित्रको अध्ययनअनुसार पहिले काठमाडौंका सडकमा प्रतिकिलोमिटर १४ कुकुर फेला पर्ने गरकोमा अहिले उक्त संख्यामा कमी आएको छ । सामुदायिक कुकुरको भन्दा घरपालुवा कुकुरको संख्या काठमाडौंमा बढी छ । घरपालुवा कुकुरमात्र ८४ हजार रहेको मनुमित्रले जनाएको छ ।

कुकुरको दिसापिसाबबाट हुक वर्म, टेप वर्म, राउन्ड वर्मका अन्डाका साथै विभिन्न रोगका जीवाणु मानिसमा सर्न सक्छ । मानिसहरू कुकुरसँग बढी घुलमिल हुने हुँदा कुकुरको र्‍यालबाट पनि रोग सर्ने गरेको पशु चिकित्सक डा. विकास श्रेष्ठले बताए ।

‘सार्वजनिक स्थलमा कुकुरको दिसापिसाब जथाभावी गराइने हुँदा मानिसमा विभिन्न रोग संक्रमणको सम्भावना बढी हुन्छ,’ उनले भने । एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औसत दुई सय ७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।


प्रकाशित : मंसिर २३, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?