कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुखुरा फार्म भएको घरमा नगरपालिका

कान्तिपुर संवाददाता

(भक्तपुर) — सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले निर्वाचित भएको दुई वर्षसम्मको समय कार्यालय व्यवस्थापनमै खर्चिए । साबिक सिपाडोल गाविस भवनको साँघुरो कोठाबाटै सेवाग्राहीलाई सेवा दिए । ‘न पर्याप्त कोठा थियो, न कामको गति नै व्यवस्थित तवरबाट गर्न सकियो,’ वडाध्यक्ष थापा भन्छन्, ‘सेवाग्राहीलाई बस्ने ठाउँ पनि थिएन ।’ 

सात महिनायता शान्ति निकेतन माविको भवनमा कार्यालय सारेपछि भने उनले राहत महसुस गरेका छन् । ‘वर्षौंदेखि व्यक्तिले हडपेको साढे चार रोपनी सार्वजनिक जग्गामा विद्यालय भवन बनाएर स्थानान्तरण गर्‍यौं । विद्यालय र वडा कार्यालयका लागि बल्ल भवन व्यवस्थित भयो,’ उनले भने । सूर्यविनायक–८ वडा कार्यालय मात्र होइन, अन्य वडा कार्यालय साबिक गाविस भवनमै सञ्चालित छन् ।


सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको आफ्नो कार्यालय भवन नै छैन । पारिवारिक प्रयोजनका लागि बनेका घरका साँघुरा कोठाबाट कार्यालय चलाउँदा दैनिक सेवाप्रवाहमै समस्या छ । स्थानीय सरकार गठन भएको साढे दुई वर्षसम्म पनि जनप्रतिनिधिले कार्यालय व्यवस्थापन गर्न सकेका छैनन् ।


‘साँघुरो कोठामा कुखुराजस्तै थुनिएर काम गर्नुपरेको छ,’ चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले भने, ‘हामीले दुईवटा घरको ३० कोठा भाडामा लिएर कार्यालय चलाइरहेका छौं ।’ नगरपालिकाले साँघुरा कोठा भएका यी घरका धनीलाई मासिक एक लाख पाँच हजार रुपैयाँ भाडा बुझाउँछ । ‘नगरपालिकाको कार्यालय बस्नुअघि यी भवनमा कुखुरा फार्म थियो,’ उनले भने ।


त्यसो त आफ्नै भवन बनाउन नगरपालिकाले वडा नम्बर ५ खरिपाटी घुमाउनेस्थित सार्वजनिक जग्गा छनोट गरिसकेको छ । ‘पाँचौं नगरसभाको निर्णयबमोजिम चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन भएको छ,’ उनले भने ।


सूर्यविनायक नगरपालिकाले भने टंकप्रसाद आचार्य प्रतिष्ठानको भवनमा कार्यालय सञ्चालन गरिरहेको छ । प्रतिष्ठानलाई मासिक ५० हजार रुपैयाँ भाडा तिर्नुपर्छ । वडा नम्बर ३ र ६ का कार्यालय पनि भाडाका घरबाट सञ्चालित छन् । भाडाको भवनमा सबै शाखाका लागि छुट्टै कोठा व्यवस्थित गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । नगरका ८ वडा कार्यालय भने साबिक गाविस भवनबाटै चलिरहेका छन् । नयाँ भवन निर्माणका लागि सूर्यविनायक नगरपालिकाले करिब २१ करोड लागतमा ठेक्का सम्झौता गरिसकेको छ ।


मध्यपुर ठिमी नगरपालिकाको आफ्नै भवन भए पनि अपुग भएपछि कार्यालयसँगैको घर भाडामा लिइएको छ । नगरपालिकाका अनुसार मासिक ७० हजार रुपैयाँ भाडा बुझाउनुपर्छ । १, २, ३, ६, ७ र ९ नम्बर वडा कार्यालय पनि भाडाका घरबाट सञ्चालित छन् । मध्यपुर ठिमी–७ मा निर्माणाधीन वडा कार्यालय भवन सम्पन्न गरेर वडा नम्बर ३, ६ र ९ को कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया थालिने नगरपालिकाले जनाएको छ । मध्यपुर ठिमी–१ को वडा कार्यालय खरिबोट मार्ग ठाडो पाखामा, ४ को कयकुतांमा, ५ को हात्तीमहाकालमा बन्ने भएको छ ।


भक्तपुर नगरपालिकाको भने आफ्नै सुविधासम्पन्न भवन छ । वडा कार्यालय भवन पनि बन्दै छन् । गुठीको साँघुरो भवनबाटै जसोतसो सेवा प्रवाह गरिएको वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्यले बताए । भवन नभएका वडा कार्यालय सार्वजनिक सत्तल र गुठी भवनबाट सञ्चालित छन् ।


कार्यकक्षमा बस्न पालो

भाडाको घरमा सञ्चालित महालक्ष्मी नगरपालिका कार्यालयमा साँघुरा कोठा छन् । मेयरलाई भेट्न जाँदा बस्ने ठाउँ अभाव छ । उपमेयरको कार्यकक्ष पनि कुचुक्क छ । कार्यालय भवन प्रयोग गरेबापत नगरपालिकाले मासिक ३ लाख २० हजार रुपैयाँ भाडा तिर्छ । भवन बनाउन जग्गा खोज्ने काम भइरहेको मेयर रामेश्वर श्रेष्ठले बताए ।


अहिले जेनतेन काम चलाइरहेको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले बताए । महालक्ष्मी नगरपालिकाको एउटै कोठामा योजना, प्राविधिक, कृषि, स्वास्थ्य, भूकम्प शाखा, दर्ता/चलानी र सहकारी विभाग गरी ७ वटा शाखा सञ्चालनमा छन् ।

गोदावरी नगरपालिकाले भने विषयगत शाखा सञ्चालन गर्न छुट्टै भवन भाडामा लिएको छ । मेयर, उपमेयर, नक्सा शाखालगायत सञ्चालन गर्न छुट्टै भवन भाडामा लिइएको हो । दुईवटा भवनको मासिक एक लाख ५३ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । नगरपालिका र विषयगत कार्यालय एकै ठाउँमा नहुँदा धेरैतिर धाउनुपरेको सेवाग्राहीको गुनासो छ ।


दक्षिणकाली नगरपालिकाले पशु कार्यालय सञ्चालन गर्न मासिक ९ हजार ३ सय ५० रुपैयाँ भाडा तिर्दै आएको छ । शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाका शाखाका लागि पनि मासिक १७ हजार ७ सय ८७ रुपैयाँ तिर्नुपर्छ । नगरपालिका भवन भने फर्पिङ माविको भवनमा सञ्चालित छ । दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनश्याम न्यौपानेले जग्गाको टुंगो लगाउन बाँकी रहेको बताए ।


चन्द्रागिरी नगरपालिकाले भने भवन निर्माणको काम सुरु गरिसकेको छ । १८ महिनामा तयार गर्ने गरी करिब १४ करोड ८५ लाख रुपैयाँमा ठेक्का लगाइएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । ‘भवन मात्रै ३ रोपनीमा बन्छ,’ उनले भने, ‘पार्किङ र बगैंचा गरेर ७ रोपनीमा फैलिएको छ ।’


नागार्जुन नगरपालिकाको विषयगत कार्यालय र न्यायिक समितिका लागि मासिक ९० हजार भाडा बुझाउँछ । नयाँ भवन बनाउन सम्झौताको प्रक्रिया चलिरहेको नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले बताइन् । अधिकांश नगरपालिकामा पार्किङको व्यवस्था छैन । कीर्तिपुर र ललितपुर महानगरपालिका भने आफ्नै भवनमा सञ्चालन भइरहेका छन् ।


घरभाडा मात्रै एक करोड

गोकर्णेश्वर नगरपालिकाले भाडाको घरका लागि मासिक तीन लाख तिरिरहेको छ । साँघुरो भर्‍याङबाट सेवाग्राही ओहोरदोहोर गर्नुपर्छ । मेयरलाई भेट्न जाने सेवाग्राहीका लागि बस्ने ठाउँसमेत छैन । नगरपालिकाको ९ वडामध्ये ३ वडा कार्यालयको आफ्नो भवन छैन । वडा ६, ७ र ९ कार्यालय भाडाको घरबाट चलिरहेका छन् । यी वडाहरू ५५ हजारसम्म भाडा तिर्छन् । नगरपालिकाले घर भाडाका लागि मात्रै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । भवन अभावले सेवाप्रवाह गर्न अप्ठेरो भइरहेको नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाहीले बताए । ‘भाडामा भएका घर कार्यालय संरचनाको नहुँदा शाखा र फाँट छुट्याएर काम गर्न सकिएको छैन,’ उनले भने ।


बूढानीलकण्ठ नगरपालिकाले कार्यालय रहने भवन भने बनाइसकेको छ । नगरपालिकाको १३ वडामध्ये ४ कार्यालयको भवन छैन । अन्य भवन भने सामुदायिक भवनबाट सञ्चालन भइरहेका छन् । भवन अभावकै कारण यी कार्यालय भाडाको घरमा चलिरहेको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । मासिक २५ हजार भाडा तिरेर ४ वडा कार्यालय चलिहेका छन् । भवन नहुनेमा १, ३ र ४ वडा छन् । यो वर्ष सबै वडाका भवन निर्माण गर्ने योजना रहेको उनले बताए । ‘योजना कार्यान्वयन गर्न डीपीआर तयार भइसकेको छ,’ उनले भने, ‘प्रत्येक भवनका लागि एक करोड बजेट छुट्टयाइएको छ ।’


कागेश्वरी मनोहरा नगरपालिकाले ३ वटा घर नै भाडामा लिएको छ । नगरप्रमुख कृष्णहरि थापाका अनुसार कृषि र पशु शाखाबाहेक अन्य शाखा कार्यालय भाडाकै घरमा छन् । भाडामा मात्र नगरपालिकाले ३४ लाख ८० हजार रुपैयाँ खर्चिन्छ । नगरपालिकाको ९ वटा वडामध्ये ५, ७ र ८ वडा कार्यालय भाडामै छन् । प्रकाशित : मंसिर २२, २०७६ ०९:४५

प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीका धुन

लोपोन्मुख नेपाली संस्कृति संरक्षणका लागि आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रचलनमा रहेका ९५ थरीका बाजा प्रदर्शन
विना थापा

(कास्की) — थारु समुदायको मौलिक संस्कृतिमा आधारित झरझरिया नाच विषेश गरी फागुपूर्णिमामा नाचिन्छ । तर, शनिबार पोखरेलीले यो नाच हेर्ने अवसर पाए । ‘नाच फागुपूर्णिमा मात्र नाचिने भए पनि महोत्सव र विशेष अवसरमा प्रदर्शनी र नाच प्रस्तुत गरिन्छ,’ पोखरामा भएको गण्डकीका धुनहरू कार्यक्रममा भेटिएका नवलपुरका पुरनराम गुरौले भने । 

नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान र हिमाली संस्कृति परिवार कास्कीले गरेको ‘लोपोन्मुख बाजा सम्मेलन : गण्डकीका धुनहरू’ कार्यक्रममा उक्त नाच देखाइएको थियो । शनिबार सकिएको दुई दिने कार्यक्रममा सहभागी हुन पाएकोमा दंग गुरौले आफूहरूको नाचको प्रवर्द्धन भएको सुनाए । गुरौका अनुसार रामायण, कृष्ण लीला, विष्णु पुराण, शिव पुराणलगायतका अरु धार्मिक गीतसँगै मायाप्रीतिको गीत गाउने र नाच्ने गरिन्छ ।

कार्यक्रमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित नाच मात्र नभएर सांस्कृतिक झाँकीसमेत देखाइएको थियो । एक सय ८ वटा घन्टी गलादेखि कम्मरसम्म लगाउने, रिठ्ठा, रुद्राक्षको माला, कौडा, कमलकत्ता र दुम्सीको काडा, कुखुराको प्वाँख, मजुरको प्वाँखलगायतबाट बनेको मुकुट लगाएर नाच्ने झाँक्री नाच पनि देखाइएको थियो । पोखराको रामबजारका तिलबहादुर रानाले यो नाच विभिन्न कार्यक्रममा प्रस्तुत गरिने जनाए । कार्यक्रममा पोखराको बाटुलेचौरका गन्धर्वले लोपोन्मुख साराङ्गीको धुनमा गीत पनि गाएका थिए । विभिन्न सामुदायका संस्कृतिले राष्ट्रियता झल्काउन सहयोग पुग्ने गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बताए । यसको संरक्षणका लागि पुस्तालाई समेत सिकाउनुपर्ने, राज्यका महत्त्वपूर्ण अंग सेना, प्रहरीमा समेत समावेश गर्नुको साथै राज्यले अपनत्व दिए, सबै संस्कृतिको संरक्षण हुने उनको भनाइ थियो ।

हिमाली सांस्कृतिक परिवार कास्कीका सचिव श्रीजङ गुरुङका अनुसार शनिबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित १२ थरीका झाँकी र नाच प्रस्तुत गरिए । शुक्रबार विभिन्न सामुदायमा आधारित ९५ बाजा प्रदर्शन गरिएको थियो । गण्डकी प्रदेशका लोपोन्मुख नेपाली लोकबाजा संरक्षण र विकासका लागि यस्तो कार्यक्रम गरिएको संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले बताए । ‘यस्ता लोपोन्मुख अमूर्त संस्कृति संरक्षणमा हाम्रो विशेष चासो छ’, उनले भने, ‘हामी मौलिक नेपाली संस्कृति निर्माणको योजना बनाइरहेका छौं ।’

प्रकाशित : मंसिर २२, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×