कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकल लेनको काम अघि बढेन

ललितपुर — ललितपुर महानगरपालिकाले बिहीबारदेखि साइकल लेन बनाउने काम सुरु गर्‍यो । शनिबार औपचारिक रूपमा मेयर चिरीबाबु महर्जन, उपमयेर गीता सत्याललगायत साइकल अभियन्ताले सडकमा रङ पोतेर लेन निर्माणको शुभारम्भ गरे । साइकल अभियन्तासँगै वातावरणविद्हरूले पनि राम्रो कामको सुरुवात भन्दै तारिफ जनाए । तर, बिहीबारदेखि सुरु भएको काम शुक्रबारसम्म कुपन्डोल कानदेवता चोकसम्म पनि पुगेको छैन । खोलापट्टि कुपन्डोल पुलदेखि मेदान्त अस्पतालसम्म र अर्को खण्ड कुपन्डोल पुलदेखि होटल हिमालय अगाडिसम्म मात्रै रङ पोतिएको छ । 

रङ पोत्ने कामदारको अभाव हुँदा काम रोकिएको रमित कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर विनोद सिलवालले बताए । १५ दिनमा काम सकिने उनले बताए । उक्त लेनमा ३० मिटरको दूरीमा साइकलको चित्र बनाइनेछ । हाल कुपन्डोल पुलदेखि होटल हिमालयसम्म सातवटा चित्र बनाइएको छ । ललितपुर महानगरपालिकाले कुपन्डोल हुँदै लगनखेलदेखि मंगलबजार–पुल्चोकसम्म साइकल लेन निर्माण गर्दै छ ।


साइकल लेन भनेर छुट्याइए पनि ती लेनमा अन्य सवारीसाधन पनि बेपरवाह कुदिरहेका छन् । महानगरपालिकाले साइकल स्ट्यान्ड निर्माण गरेर लेन बनाउन सुरु गरेपछि धेरैजसो साइकलमै निस्कन थालेका छन् । तर, निर्माण भएको लेनमा समेत साइकलयात्रीलाई अरू सवारीले बाटो छोडेको पाइएन । ‘साइकल नहुँदा उक्त लेन अन्य सवारीसाधनले प्रयोग गर्न त मिल्छ,’ नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले भने, ‘साइकल हुँदा भने लेनमा अन्य सवारीसाधन चलाउन पाइँदैन ।’


प्रकाशित : मंसिर २१, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?